close

अब लक्ष्मी बैंकको मोबाइल एपबाटै एटीएमको पैसा झिक्न सकिने

टेकपाना टेकपाना

पुस ४, २०७७ १८:४५

अब लक्ष्मी बैंकको मोबाइल एपबाटै  एटीएमको पैसा झिक्न सकिने

काठमाडौं । लक्ष्मी बैंकले नेपालमै पहिलोपटक कार्डरहित एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ प्रविधि विस्तारको अभियान अन्तर्गत यस्तो सेवा सुरु गरेको हो ।

एटीएम कार्डको विकल्पमा भित्र्याइएको यो नौलो प्रविधिमा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर एटीएमबाट पैसा झिक्न सकिनेछ । बैंकको एपमा लग ईन गर्ने बित्तिकै ‘कार्डलेस विथ ड्र’ अप्सन देखिन्छ ।

जसमा थिचेर आफूले झिक्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि कन्फर्म गर्नका लागि आफ्नो एमपिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नुपर्ने हुन् ।

यति गरिसकेपछि प्रयोगकर्ताको मोबाइलमा एसएमएसको रुपमा ओटीपी कोड प्राप्त हुन्छ । यस्तो कोड कारोबार सम्पन्न नभएसम्म सुरक्षित राख्न बैंकले आग्रह गरेको छ ।

प्राप्त भएको ओटीपी कोड केही समयसम्मका लागि मात्र प्रयोग गर्न सकिने बताइएको छ । यति प्रक्रिया पुरा गरिसकेपछि एटीएम बुथमा पनि कार्डलेस अर्थात कार्डरहित अप्सन देख्न सकिनेछ ।

उक्त अप्सन छनौट गरेपछि आफ्नो मोबाइल मनीमा दर्ता भएको नम्बर राख्नुपर्ने हुन्छ । यति गरिसकेपछि मोबाइलमा प्राप्त ओटीपी कोड र मोबाइल मनीमा अनुरोध गरिएको रकम राखेर एटीएमबाट नगद झिक्न सकिने बैंकले जनाएको छ ।

यो नौलो प्रविधि र सुविधाले कारणबस आफ्नो कार्ड बिर्सिएको खण्डमा पनि स्मार्ट कार्डरहित एटीएमबाट पैसा झिक्न सकिने बैंकले जनाएको छ । साथै एटीएममार्फत आफूले चाहको ठाउँमा सजिलै पैसा पठाउन सकिने सुविधा पनि बैंकले ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०