काठमाडौं । ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको पासवर्ड बिर्सिएको खण्डमा अब आफैं परिवर्तन गर्न सक्ने भएका छन् । त्यसका लागि नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा परिमार्जन गर्दै बैंकहरुलाई यस किसिमको व्यवस्था गर्न निर्देशन दिएको हो ।
नयाँ संशोधित व्यवस्थामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले विद्युत्तीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजर नेम र पासवर्ड हराएमा आफैं प्राप्त गरी पुनः सुचारु गर्न सक्ने व्यवस्था गर्नु पर्नेछ ।’
यो नियम लागु भएसँगै अब प्रयोगकर्ताले आफूले पासवर्ड बिर्सिएको खण्डमा सहजै मोबाइल तथा इन्टरनेट बैंकिङको पासवर्ड परिवर्तन गर्न सक्ने छन् । हालसम्म यस किसिमको व्यवस्था नहुँदा पासवर्ड बिर्सिएको खण्डमा ग्राहकले बैंकमै पुग्नुपर्ने वाध्यता थियो ।