काठमाडौं । ‘ख’ र ‘ग’ वर्गका विकास बैंक तथा वित्तीय कम्पनीहरु शुक्रबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिएका छन् । यसअघि सम्पूर्ण वाणिज्य बैंकहरु यस प्रणालीमा आबद्ध भइसकेका छन् ।
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिल विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, लुम्बिनी विकास बैंक र दुई वित्तीय कम्पनीहरु आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स सो प्रणालीमा जोडिएका हुन् ।
यससँगै अब निम्न बैंकका सेवाग्राहीहरुले ठूलो परिमाणमा पैसा निकाल्दा चेक काटेर बैंक पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
के हो त आरटीजीएस प्रणाली ?
ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि चार महिनाअघि देखि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो ।
ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।
दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ ।
यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।