काठमाडौं । कोभिड १९ का कारण शिक्षा क्षेत्रले पनि अपुरणीय क्षति बेहोरेकाे छ । याे बीचमा पढाई र परीक्षा सबै अस्तव्यस्त बने । शैक्षिक सत्र निकै पछाडि धकेलियो । यद्यपि पूर्ण रुपमा भने ध्वस्त हुन पाएन ।
तर प्रविधिले सही समयमा सहजीकरण गरेर लकडाउनको कहरबाट शिक्षा क्षेत्र धेरै हदसम्म जोगियो ।
सामाजिक दूरीका कारण मन्द बन्दै गइरहेको विद्यार्थीको मस्तिष्कलाई तिखार्न, शिक्षामा समान पहुँच पुर्याउन धेरै स्टार्टअपहरुको जन्म भए । जसले अनलाइनबाटै शिक्षा र सिप प्रदान गरे ।
अध्ययनमा त सहजीकरण भयो, तर शैक्षिक मूल्यांकनको विषयमा फेरि अन्याैलता सिर्जना भयो । यसलाई चिर्ने स्टार्टअपहरु भने कमै जन्मिए । ती मध्ये एउटा हो स्कलर्स स्पेस ।
ईस्पेस मल्टीपर्पोज प्राइभेट लिमिटेडको सब्सीडेरी कम्पनी स्कोलर्स स्पेसले विभिन्न विषयका प्रवेश परीक्षा तथा अनलाइन कोर्स प्रदान गर्न विभिन्न इन्स्टिच्युसनसँगको सहकार्यमा इन्ट्रान्स स्पेस लन्च गरेको छ ।
इन्ट्रान्स स्पेस मार्फत विद्यार्थीहरुले आफूले चाहेको शैक्षिक संस्थाको मोडल कोर्स पढ्न तथा टेस्टमा सरिक हुन सक्नेछन् ।
बीई, बी आर्क, बीएससी सीएसआईटीका लागि इन्ट्रान्स तयारी गराउने एसईए इन्जिनियरिङ एकेडेमी पनि हालै इन्ट्रान्स स्पेसमा जोडिएको छ । उक्त संस्थाले विद्यार्थीहरुलाई अनलाइन कोर्स, परामर्श तथा अनलाइन इन्ट्रान्स मोडल सेट उपलब्ध गराउँछ । विद्यार्थीहरुले भर्ना भएर सेवा लिन सक्नेछन् ।
आईओईको अनलाइन इन्ट्रान्स परीक्षाको वातावरणसँग परिचित हुने किसिमले इन्ट्रान्स स्पेसमा अलनाइन टेस्टको वातावरण सिर्जना गरिएको स्कलर्स स्पेसका प्रमुख रोहित सेन्चुरीले बताए ।
यससँगै अब विद्यार्थीहरुले इन्जिनियरिङ संस्थाको परीक्षाको खाकालाई क्र्याक गर्न सक्ने विश्वास स्कलर्स स्पेसले लिएको सेन्चुरीले बताए ।
इन्जिनियरिङ मोडलबाट सुरुवात गरेको यात्रा आगामी दिनमा एमबीबीएस परीक्षाको मोडललाई पनि समावेश गर्ने रोहितले बताएका छन् ।