काठमाडौं । भनिन्छ कुनै एक घटनाले मान्छेको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ । त्यस्तै परिवर्तनकारी घटनासँग तपाईं हामीले पनि साक्षत्कार गरेका होलाउँ ।
यदि छैन भने पनि हामीले अरुका त्यस्ता घटना त पक्कै पनि सुनेको हुनुपर्छ । त्यसमा असफलताका कथाभन्दा पनि सफलताका कथा धेरै होलान् ।
किन भने ग्यारेजबाट सुरु भएको व्यवसायले आज माइक्रोसफ्ट जस्तो प्रतिष्ठित कम्पनी बनेको कथा हामी धेरैले सुनेकै छौं । अनि अहिले विश्वलाई चकित बनाइरहेको टेस्ला, कुनै समय लडखडाउँदै एप्पलले किनिदिन्छ कि भन्दै पर्खाईमा बसेको कथा पनि रोचक नै लाग्ला ।
यस्ता कथा सयौं पुस्ताका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । माइक्रोसफ्ट र टेस्लाले जस्तै नाजुक अवस्थाबाट विश्व बजारमा पुग्न सफल नेपाली कम्पनी नभएतापनि नेपालकै मुहार फेर्न भने सफल भएका छन् ।
त्यसैको एउटा ज्वलन्त उदाहरण हो, ईसेवा । आज नेपालको डिजिटल अर्थतन्त्र जुनरुपमा अघि बढिरहेको छ, यी सबै कुराको विजारोपण गर्ने श्रेय ईसेवालाई दिँदा फरक नपार्ला ।
आज भन्दा ठीक १२ वर्ष अघि अर्थात् सन् २००९ मा नेपालमा पनि डिजिटल कारोबार गर्न सकिन्छ भन्ने विषय थारैले मात्र कल्पना गरेका थिए । अरु त के त्यतिबेला नियामक निकायले पनि यो विषयको कल्पना पनि गरेको थिएन ।
तर त्यतिबेला नै ईसेवाले आजको डिजिटल नेपालको परिकल्पना गरिसकेको थियो । तर, परिकल्पनालाई सार्थकतामा बदल्न कहाँ सहज हुन्छ र ? त्यति बेला ईसेवाको योजना सोझै प्रयोगकर्तामाझ जाने थियो ।
यसको अर्थ कम्पनी र ग्राहकबीचको सिधा सम्बन्ध । ग्राहकलाई मोबाइलको रिचार्ज किन्न पसल पुग्नुपर्ने बाध्यता थियो । बिजुली र खानेपानीको बिल भुक्तानीका लागि लाइन बस्नु परिरहेको थियो । यस्तोमा तिनै प्रयोगकर्तालाई आफ्नो ग्राहक बनाउने योजना ईसेवाले बनायो ।
‘पहिलो तीन वर्ष अर्थात सन् २०१२ सम्म ईसेवा यसै परिकल्पनाबाटै अघि बढिरहेको थियो,’ कम्पनीका एजेन्ट म्यानेजर आशिष प्रसाई सुनाउँछन्, ‘त्यस अवधिमा कम्पनीले कुनै ठूलो उपलब्धी त परै जाओस्, उल्टै कम्पनीलाई कसरी अघि बढाउने भन्ने समस्या भोगिररहेको थियो । तीन वर्षको त्यो अवधिमा जम्मा २१ हजारको हाराहारीमा प्रयोगकर्ता थिए ।’
२१ हजारमा पनि ८ हजारमात्रै सक्रिय थिए । ‘हुन त त्यतिबेलासम्म हाम्रो प्रडक्टमा पनि समस्या थियो होला,’ प्रसाई भन्छन्, ‘हामी सेवा थप गर्दा ग्राहक थपिन्छन कि भनेर नयाँ सेवा थप गर्नमै व्यस्त थियौं । त्यसैले पनि सोचे अनुसार ग्राहक बढ्न नसकेका हाेलान् ।’
ग्राहक नबढ्नुमा कम्पनी कहाँ चुक्यो ? ईसेवामाथि यो प्रश्न खडा भएको थियो । यदि यही रफ्तारमा कम्पनी अघि बढ्ने हो भने धेरै लामो समय कम्पनी धान्न सक्ने अवस्थामा थिएन ।
यसलाई अब कसरी अघि बढाउने भन्ने विषय टिममा सधैं छलफलको विषय बन्थ्यो । ‘त्यही समयमा बजारको अध्ययन गरियो,’ प्रसाई सुनाउँछन्, ‘अध्ययनबाट बजारमा ईसेवाको आवश्यकता भएपनि प्रयोग गर्ने सीपकाे कमी देखियो ।’
त्यसभन्दा पनि महत्वपूर्ण विषय अध्ययनले ईसेवाका ८ हजार नियमित प्रयोगकर्ता प्रविधिसँग नजिक भएको मान्छे, विदेशबाट फर्किएका मान्छे, इन्जिनियर, साइबर क्याफे रहेको देखायो । उनी अगाडि भन्छन्, ‘त्यसमध्ये पनि साइबरमा ईसेवाको प्रयोग सबैभन्दा प्रभावकारी रुपले भइरहेको देखियाे ।’
साइबर क्याफे प्रविधिसँग नजिक भएकाले पनि त्यसो भएको हुनसक्छ । उनीहरुले ईसेवाबाटै ग्राहकलाई रिचार्ज उपलब्ध गराउँदै आएका थिए ।
साइबर क्याफेहरुले गरिरहेको उक्त काम कम्पनीका लागि राम्रो प्रयोग थियो । सोही प्रयोगलाई विस्तार गर्न सकिन्छ कि ? दैनिक रुपमा धेरै ग्राहक ठोक्किने किराना पसलमा पुगेर उनीहरुलाई ईसेवाको प्रयाेग बारे जानकारी दिन सकिन्छ कि ?
यस्तै किसिमका प्रश्नले नै सन् २०१२ मा कम्पनीले एजेन्ट नेटवर्कमा जाने निर्णय लियो । एजेन्ट नेटवर्कमा जाने निर्णय त भयो, तर बजार कुनै रुपमा पनि तयार भएको थिएन् ।
एजेन्ट बनाउँन जाँदा सुरुमा बैंकिङ ग्राहक बनाउनु पर्ने हुन्थ्यो । बैंकका कर्मचारी सँगै लगेर उनीहरुलाई मोबाइल बैंकिङ प्रयोग गर्न सिकाउनु पर्ने हुन्थ्यो ।
प्रसाई त्यसलाई प्रस्ट पार्दै भन्छन्, ‘किन भने सन् २०१२ मा एजेन्ट बनाउँदा हाम्रा एजेन्ट वित्तीय पहुँच र प्रविधिसँग त्यति घुलमिल भइसकेका थिएनन् । त्यसैले हामीले सुरुमा उनीहरुलाई बैंकमा पैसा राख्न सिकायौं । मोबाइल बैंकिङ चलाउन सिकायौं । त्यसपछिमात्रै घरमै बसेर ईसेवाबाट विभिन्न सेवाको भुक्तानी गर्न सकिन्छ भनेर सिकायौं ।’
अझ त्यतिबेला ईसेवा पनि मोबाइल म्यासेजमा आधारित थियो । उनी सुनाउँछन्, ‘वाईफाई तथा इन्टरनेट त परै जाओस, त्याे समयमा मोबाइल डेटाको पहुँच समेत न्यून थियो । भएको ठाउँमा पनि राम्रो इन्टरनेट थिएन ।
जसले गर्दा म्यासेजभन्दा अर्काे विकल्प कम्पनीसँग थिएन । तर, म्यासेजमा आधारित काराेबार एजेन्टका लागि त्यति प्रभावकारी भने भएन । त्यसैले विस्तारै हामीले म्यासेजमा पैसा नलाग्ने बनायौं । जुन साधारण प्रयाेगकर्ताका लागि पनि लागु भएकाे थियाे ।’
उक्त निर्णयले एजेन्टका लागि ठूलो राहत दियो । प्रसाई भन्छन्, ‘विस्तारै इन्टरनेटको पहुँच पनि बढ्दै गयो । मान्छे इन्टरनेट र प्रविधिसँग घुलमिल हुन थाले । त्यसो हुँदा सन् २०१७ मा ईसेवा इन्टरनेटमा आधारित सेवा बन्न पुग्यो ।’
इन्टरनेटमा आधारित सेवा सुरु त भयो, तर कतिपय ठाउँ यस्ता थिए, जहाँ मोबाइलमा जीपीआरएस अन गर्दा इन्टरनेट चल्छ भन्ने जानकारीसम्म थिएन । उनी भन्छन्, ‘हामीले मोबाइल इन्टरनेट र वाईफाईकाे महत्व बुझाउने काम पनि गर्याैं ।’
यसरी माेबाइल बैंकिङ, प्रविधि हुँदै इन्टरनेटसम्म सिकाएर एजेन्ट नेटवर्कमा काम गरेकाे ईसेवाले सन् २०१४ मा आएर बल्ल त्यसकाे प्रतिफल हात पार्यो । पहिलो वर्ष जम्मा ५ सय एजेन्ट बनेको अवस्थामा सन् २०१४ को सुरुवातमा २५ सय र सन् २०१४ मे महिनामा आईपुग्दा चार हजार र त्यसको अन्त्यसम्म ५ हजार भन्दा बढी एजेन्ट बने ।
उनी सुनाउँछन्, ‘त्यो समयमा एजेन्ट नेटवर्क राम्रोसँग विस्तार भयो । त्यसपछि एकै पटक १६ बाट २५ हजार हुँदै थपिँदै गए ।’
त्यही समयमा अनलाइन रिचार्जलाई प्रवर्द्धन गर्न टेलिकम सेवा प्रदायकले पनि पाँच प्रतिशतसम्म बोनस दिन थाले । टेलिकम कम्पनीहरुले दिएको उक्त बोनस रकम कम्पनीका लागि भने आफ्नो बजारीकरणको सबैभन्दा ठूलो हतियार बन्यो ।
‘हामीले नेपाल टेलिकमको रिचार्जमा ९८ रुपैयाँलाई काटेर १०३ रुपैयाँ भएको पोस्टर बजारमा छ्यापछ्याप्ती बनाएका थियौं’, प्रसाई सुनाउँछन् ।
‘हामीलाई थाँहा थियो त्यति बेला ईसेवा भनेर मान्छेले चिन्दैनन्,’ उनी भन्छन्, ‘त्यसैले हामीले टपअप, प्लेनकाे टिकट, विद्युतको बिल भुक्तानी, खानेपानी बिल भुक्तानी यहाँबाट गर्न सकिन्छ भनेर सेवाको प्रचार गरिरहेका थियौं । त्यसो गर्दा क्रमशः ग्राहक हाम्रा एजेन्टसँग जोडिन थाले । त्यसले हाम्रा एजेन्टलाई पनि फाइदा पुगिरहेको थियो ।’
ग्राहक त बढे, त्यासभन्दा पनि महत्वपूर्ण कुरा उनीहरुसँग भएकाे पैसा लिक्विडमा परिणत भएकाे थियो । कुनै समय पाँच सय, हजार रुपैयाँका रिचार्ज कार्डमा लगानी गरी पैसा फ्रिज बनाएर राख्नु पर्ने अवस्थामा आवश्यक परेको बखत रिचार्ज गर्न सकिने भयाे ।
यसले एजेन्टलाई पनि प्राेत्साहन मिलिरहेकाे थियाे । जसकाे परिणामस्वरुप ईसेवामार्फत हुने कारोबार संख्या र रकम बढ्दै गयो ।
कारोबार संख्या र रकम बढ्नु कम्पनीको भविष्यका लागि राम्राे संकेत थियो । जसले कम्पनीमा काम गर्ने हिम्मत थपिँदै गयो ।
प्रसाई भन्छन्, ‘त्यतिबेला कम्पनीका लागि एउटा प्रयागकर्ता थपिनु भन्दा एजेन्ट थपिनु व्यवसायको हिसाबले सयौं गुणा राम्रो थियो । किनेभने, एउटा व्यक्तिले एक महिनामा गर्ने कारोबार एउटा एजेन्टले एउटा कारोबारबाटै गर्न सक्थ्यो ।’
एजेन्ट र काराेबार थपिँदै गएता पनि राष्ट्र बैंकले नीतिगत व्यवस्था नगर्दा सुरक्षित महसुस गर्ने ठाउँ भने कम्पनीसँग थिएन । अनुमतिपत्र दिदाँ पनि कस्तो खालको नीति ल्याउने हाे भन्ने विषय अन्यौलपूर्ण थियो ।
प्रसाई भन्छन्, ‘जब राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्याे, तब कम्पनीले छहारी पायो । अर्को शब्दमा भन्नुपर्दा कम्पनीले सुरक्षित महसुस गर्यो । त्यसपछि ईसेवाले पुनः एजेन्ट विस्तारको कामलाई रफ्तारमा अघि बढायो ।
सन् २०१७ देखि २०१९ सम्म आइपुग्दा कम्पनीको एजेन्ट नेटवर्क ठूलो मात्रामा वृद्धि भयाे । सन् २०१९ मा कम्पनीमा ७० हजारभन्दा बढी एजेन्ट थिए ।
आज ईसेवासँग एक लाख भन्दा बढी एजेन्टको मजबूत नेटवर्क बनिसकेको छ । जसमार्फत देशका हरेक गाउँपालिकामा ईसेवा पुगको सेवा पुगेको छ ।
ईसेवा एजेन्ट नेटवर्कमा ‘जोन र पाेइन्ट’
ईसेवाले एजेन्ट नेटवर्कलाई विस्तार गर्दै जाँदा ‘जोन र प्वाइन्ट’ गरी दुई फरक नेटवर्क बनायो । त्यसमा ‘जोन’ डाइरेक्ट ईसेवासँग जोडिएका छन् भने ‘प्वाइन्ट’ जोनसँग जोडिएका हुन्छन् ।
यसको अर्थ जोन ईसेवाको डिलर हो भने, उसले आफ्नो एरियामा ईसेवा चलाउन सक्ने पसलेलाई ईसेवा चलाउन सिकाएर ‘ईसेवा प्वाइन्ट’ निर्माण गरिरहेको हुन्छ । पाँच सय जोन बन्दा त्यसबाट पचास हजारभन्दा बढी प्वाइन्ट तयार भएर ईसेवामा जोडिका हुन्छन् ।
याे कम्पनीको नेटवर्क विस्तारका लागि महत्वपूर्ण सञ्जाल हो । यसले कम्पनीको कारोबार संख्या र रकमको मात्रा बढाएको छ । जुन कम्पनीलाई आजको उचाई प्राप्त गर्न महत्वपूर्ण आधार बनेको छ ।
जसले कम्पनीलाई अझ विस्तारित हुँदै जान सघाईरहेको छ । त्यतिमात्र नभएर एजेन्टले बजारमा ईसेवालाई आत्मसाथ गर्न समेत सिकाएका छन् । कुनै समय प्रविधि र वित्तीय साक्षरता दिँदै बनाएका एजेन्टले नै आज डुब्दै गरेकाे ईसेवाको डुंगालाई पार लगाएका छन् ।
फाइनान्सियल हब ईसेवा पसल
जसरी ईसेवाको प्रयोग बढ्दै गयो, ईसेवा पसल एउटा फाइनान्सियल हबको रुपमा विकास हुँदै गएकाे छ । कुनै समय मोबाइल बैंकिङ चलाउन सिकाउनु पर्ने, इन्टरनेट चलाउन सिकाउनुपर्ने पसलहरु आज आर्थिक काराेबार गर्ने ठाउँ भएका छन् ।
कुनै समय सय, पाँच सय र हजारको रिचार्ज कार्ड किनेर स्टकमा राख्ने पसलेको पैसा ईसेवाले लिक्विडमा परिणत गरिदिएको छ । जुन पैसा अहिले उनीहरुले आवश्यकता अनुसार खर्च गर्न सक्ने अवस्थामा हुन्छ ।
यसले पैसालाई चलायमान बनाएकाे छ । स्टकमा राख्नुपर्ने पैसालाई अन्यन्त्र प्रयोग गरी आम्दानीकाे माध्यम थप गर्न यसबाट ठूलो मद्दत पुगेको छ । आज उक्त एजेन्टले बीमाको शुल्क ईसेवाबाटै तिरिदिने काम गरिरहेको हुन्छ । बैंकमा पैसा डिपोजिट गर्ने काम गरिरहेको छ ।
विभिन्न सेवाकाे टिकेट ईसेवाबाटै काटिरहेको छ । किस्ता रकम भुक्तानी पनि ईसेवाबाटै गरिरहेको छ । रेमिट्यान्सको कारोबार पनि त्यहीँबाट गरिरहेको छ । शेयर बजारको कारोबार गरिरहेकाे छ ।
यसरी हेर्दा आज तिनै पसल देशको आर्थिक कारोबार गर्ने ठाउँ बनिरहेका छन् । यसले ईसेवालाई त पक्कै पनि फाइदा पुगकै छ, त्यससँगै त्यस्ता पसल गरेर बस्ने पसलेहरु यसबाट सबैभन्दा बढी लाभान्वित भएका छन् ।
आज उनीहरु प्रविधिसँग घुलमिल भएका छन् । उनीहरुको कारोबारको दायरा फराकिलो भएको छ । यसले देशकाे डिजिटल अर्थतन्त्रको विकासमा पनि ठूलाे टेवा पुगेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
