काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिवेक्षक पदमा अनलाइन दरखास्त आह्वान गरेको छ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले राष्ट्रिय जनगणनाका लागि तयार गरिएको जनगणना जनशक्ति व्यवस्थापन प्रणाली शुभारम्भ गरे ।
गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ।
इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।
सुपरिवेक्षकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन्
- न्यूनतम शैक्षिक याेग्यता: स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे ।
- उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ वर्ष ननाघेकाे ।
- स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
गणकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन् ?
- न्यूनतम शैक्षिक याेग्यता: १०+२ वा साेसरह उत्तीर्ण गरेकाे।
- उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ वर्ष ननाघेकाे ।
- स्थानीय तह: सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नागरिक।
अनलाइन दरखास्त फारामसम्बन्धी थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
