close

चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप १० बैंक तथा वित्तीय संस्था आबद्ध

टेकपाना टेकपाना

माघ १२, २०७७ १३:४८

चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप १० बैंक तथा वित्तीय संस्था आबद्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई आरटीजीएस प्रणालीमा आबद्ध गराएको छ ।

यसअन्तर्गत ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक आरटीजीएस प्रणालीमा आबद्ध भएका छन् ।

त्यस्तै आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि हालै याे प्रणालीमा थपिएका छन् । यसअघि २५ वटा वाणिज्य बैंकहरूमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।

याे प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरूले आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरेर याे सेवा लिन सक्छन् ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग एकीकृत गरिएको छ ।

याे प्रणालीको पहुँचसँगै विद्युतीय कारोबारको आकर पनि उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

के हो त आरटीजीएस प्रणाली ?

ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि चार महिनाअघि देखि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो । 

ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ । 

दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ । 

यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४