काठमाडौँ । गोपनीयता र सुरक्षाको हिसाबले मेटाले ह्वाट्सएपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई निकै महत्त्वका साथ अगाडि बढाएको छ । एउटा मेसेजिङ एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन हुनुको अर्थ हो कुनै ह्याकर, निकाय अथवा मेटा आफैले पनि प्रयोगकर्ताको च्याटमा पहुँच नपाउनु । यो सुविधालाई अगाडि बढाउने क्रममा कम्पनिले ह्वाट्सएपमा विभिन्न गोपनीयताका फिचरहरू थप गर्दै गइरहेको छ ।
अरूलाई तपाईँको च्याट एक्सपोर्ट गर्ने अधिकार नदिनुहोस्
प्रयोगकर्ताले ह्वाट्सएपको च्याट सहजै एक्सपोर्ट गर्न सक्छन् । आफूले एक्सपोर्ट गर्न चाहेको मेसेजको च्याटबक्सको माथिपट्टि दायाँतिर भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् । यसपछि मोर अप्सनमा ट्याप गरेर एक्सपोर्ट च्याटमा ट्याप गर्नुहोस् । यही कुरा आईफोनमा भने थोरै परिवर्तन छ । आईफोन प्रयोगकर्ताले च्याटमा गएर स्क्रिनको माथि गएर प्रयोगकर्ताको नाममा ट्याप गर्नुहोस् र थोरै स्क्रिन स्क्रोल गरेर तल गएर एक्सपोर्ट च्याटमा ट्याप गर्नुहोस् । यसरी तपाईँले सजिलै कुनै पनि च्याट एक्सपोर्ट गर्न सक्नुहुन्छ ।
तर सोच्नुपर्ने कुरा भनेको जसरी तपाईँले कसैसँगको च्याट सहजै एक्सपोर्ट गर्न सक्नुहुन्छ, त्यसरी नै अर्को व्यक्तिले तपाईँसँग भएको च्याट एक्सपोर्ट गर्न सक्छन् । यसरी कोही अरूलाई तपाईँसँग गरेको च्याट एक्सोपर्ट गर्न कसरी रोक्ने त ?
ह्वाट्सएपले हालै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ । यही २३, अप्रिलमा एउटा ब्लग सार्वजनिक गर्दै ह्वाटसएपले 'एड्भान्स्ड च्याट प्राइभेसी' फिचर सार्वजनिक गरेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो च्याट अरु कसैले एक्सपोर्ट गर्न नमिल्ने बनाउन सक्छन् । फिचर सार्वजनिक भइसकेपछि तपाईँले आफूले चाहेको च्याटबक्समा गएर हेर्नुभयो भने 'एड्भान्स्ड च्याट प्राइभेसी' अप्सन देख्नुहुनेछ । उक्त अप्सनको टोगल अन गरेपछि अरूले तपाईँसँग गरेको च्याट एक्सपोर्ट गर्न पाउने छैनन् ।
च्याट लक गर्नुहोस्
यदि तपाईँ ह्वाट्सएपमा केही व्यक्तिहरूसँग हुने कुराकानी अरूले थाहा नपाओस् वा नदेखोस् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपको लक च्याट फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसमा कम्पनीले पासवर्ड राख्ने सुविधा पनि दिएको छ । यसमा तपाईँले पिनकोड वा फेस आईडी प्रयोग गरेर च्याट लक गर्न सक्नुहुन्छ ।
- यसका लागि आफूले लक गर्न चाहेको च्याट ओपन गर्नुहोस् ।
- स्क्रिनमा थोरै स्क्रोल गरेपछि एन्ड्रोइडमा च्याट लक अप्सनमा ट्याप गर्नुहोस् र आईफोनमा लक च्याट भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
- यसपछि आफ्नो पिन कोड वा फेसआईडी सेट गर्नुहोस् । यसरी लक गरेको च्याट अरु कसैले हेर्न सक्दैन । तपाईँ आफ्नो च्याटलाई गोप्य राख्न सक्नुहुन्छ ।
एपमा बायोमेट्रिक लक राख्नुहोस्
आजको दिनमा एप लक गर्ने फिचर निकै सामान्य भइसकेको छ । यदि तपाईँ आफ्नो ह्वाट्सएप कसैले प्रयोग नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईँले यो एफ लक गर्न सक्नुहुन्छ । एन्ड्रोइड र आईओएस दुवैमा बायोमेट्रिक लक प्रयोग गर्न सकिन्छ ।
- एन्ड्रोइडमा एप लक गर्न ह्वाट्सएप ओपन गरेर स्क्रिनको माथितिर दायाँपट्टि भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् र सेटिङमा ट्याप गर्नुहोस् । यसपछि प्राइभेसीमा ट्याप गरेर एप लक भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
- आईओएसमा एप लक गर्न ह्वाट्सएपमा गएर स्क्रिनको तल दायाँपट्टि भएको सेटिङ्स एपमा ट्याप गर्नुहोस् । यसपछि प्राइभेसीमा ट्याप गरेर एपलकमा ट्याप गर्नुहोस् र फेसआईडीको टोगल अन गर्नुहोस् ।
ब्याकअप च्याटलाई इन्क्रिप्ट गर्नुहोस्
तपाईँको ह्वाट्सएप च्याटहरू पूर्ण रुपमा इन्क्रिप्टेड त छन् तर जुन च्याटहरू ब्याकअप हुन्छन् त्यहाँ तपाईँको च्याट इन्क्रिप्टेड नहुन पनि सक्छ । ह्याकिङ गर्दा ब्याकअप रहेका च्याटहरूमा पहुँच पाउन गाह्रो त छ तर इन्क्रिप्ट गरियो भने यो थप सुरक्षित हुनसक्छ । त्यसैले ब्याकअप च्याटलाई पनि इन्क्रिप्ट गर्न जरुरी छ ।
- यसका लागि एप सेटिङमा जानुहोस् र च्याट्स ट्याबमा ट्याप गर्नुहोस् । यसपछि च्याट ब्याकअपमा ट्याप गर्नुहोस् । त्यहाँ इन्ड-टु-इन्ड इन्क्रिप्टेड ब्याकअप अप्सनको टोगललाई अन गर्नुहोस् ।
टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस्
अकाउन्ट सुरक्षित राख्नको लागि सबैभन्दा सहज उपाय हो टु फ्याक्टर अथेन्टिकेसन ।
- यसको लागि ह्वाट्सएपको सेटिङ्समा जानुहोस्
- एन्ड्रोइड प्रयोगकर्ताले च्याट ट्याबमा ट्याप गरेर तीनवटा थोप्लामा ट्याप गरेर सेटिङमा जानसक्नुहुनेछ भने आईओएस स्क्रिनको दायाँपट्टि तल रहेको सेटिङ्सको अप्सनमा ट्याप गर्न सक्नुहुन्छ ।
- यसपछि अकाउन्टमा ट्याप गर्नुहोस्
- अब टु स्टेप भेरिफिकेसन अप्सनमा क्लिक गर्नुहोस् ।
डिस्पेयरिङ मेसेज इनेबल गर्नुहोस्
तपाईँ आफ्ना गोप्य कुराहरूले अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने ह्वाट्सएपको डिस्पेयरिङ फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसले गर्दा तपाईँका कुराकानी धेरै लामो समयसम्म च्याटक्समा रहँदैन । तपाईँले आफ्नो मेसेज कति समयसम्म देखिने बनाउँने भन्ने पनि आफै छनोट गर्न सक्नुहुन्छ । यसको लागि आफूले चाहेको च्याटबक्सको नाम भएको हिडरबारमा ट्याप गर्नुहोस् । त्यहाँ 'डिस्पेयरिङ मेसेज' भन्ने अप्सन देख्नुहुन्छ । त्यहाँ ट्याप गर्नुहोस् । अब आफूले कति समयसम्मको लागि त्यो मेसेज राख्न चाहनुहुन्छ त्यो हिसाबले समय सेट गर्नुहोस् । जस्तो कि तपाईँले २४ घण्टा समय राख्नु भएको छ भने तपाईँको मेसेज २४ घण्टा पछि आफै हटेर जान्छ ।
यसरी उपलब्ध विभिन्न सुरक्षा तथा गोपनीयताका फिचर प्रयोग गरेर तपाईँले ह्वाट्सएप सुरक्षित रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।