काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिल भुक्तानी गर्दा भुक्तानी सेवा प्रदायकलाई प्रतिकारोबार पाँच रुपैयाँ कमिसन दिने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले केही दिन अघि यस्तो निर्णय गरेको हो ।
यस्तो कमिसन पाँच सय रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्रै दिइने बताइएको छ । ‘पाँच सय रुपैयाँभन्दा बढी रकम अनलाइनबाट प्राधिकरणलाई तिर्दा प्रतिकारोबार ५ रुपैयाँ कमिसन सेवाप्रदायकलाई दिने निर्णय भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको हो ।’
यसअघि विद्युतको बिल भुक्तानीमा सेवा प्रदायकले बिना कमिसन सेवा उपलब्ध गराउँदै आएका थिए । पछिल्ला वर्षमा अनलाइन भुक्तानीको प्रयोग बढ्दै गएको छ । हाल मासिक आठ लाख ग्राहकले अनलाइनमार्फत नियमित रुपमा विद्युत् महसुल बुझाउँदै आएका छन् ।
प्राधिकरणका कुल ४२ लाख ग्राहकमध्ये करिब ३० प्रतिशतको महसुल मासिक ५ सय रुपैयाँभन्दा कम हुने बताइएको छ । यद्यपी पाँच सय रुपैयाँभन्दा माथि महशुल बुझाउने ग्राहकले नभई प्राधिकरणले आफ्नोतर्फबाट सेवाप्रदायकलाई उक्त कमिसन दिनेछ ।
प्राधिकरणलाई महसुल संकलन गर्न सहज बनाउँदै आएका सेवाप्रदायकहरूले कमिसनका लागि प्राधिकरणलाई आग्रह गर्दै आएका थिए । अनलाइनमार्फत महसुल भुक्तानी बढ्दा महसुल संकलन काउन्टर थप गर्नु नपर्ने, जनशक्तिमाथिको लागत घट्ने भएपछि प्राधिकरणले अनलाइन भुक्तानीलाई प्राथमिकता दिँदै आएको छ ।