close

चर्चित एपमै भाइरस, जसले गर्दै छ तपाईंको गोपनीयतामा आक्रमण

टेकपाना टेकपाना

माघ १७, २०७७ २०:६

चर्चित एपमै भाइरस, जसले गर्दै छ तपाईंको गोपनीयतामा आक्रमण

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न पाटो बनिसकेको छ । यात्रा गर्न होस् वा आर्थिक कारोबार वा स्वास्थ प्रयोजनका लागि होस्, हामी स्मार्टफोनमा विभिन्न एप इन्स्टल गर्न बाध्य छौं ।

यी एपहरुले जीवनलाई सहज बनाएका छन् । तर कतिपय एपले प्रयोगकर्ताहरुको महत्वपूर्ण र गहिरो गोपनीयताका विषयहरु सञ्चित गरिरहेका छन् । 

एक्सप्रेस भीपीएनले गत वर्ष आफ्नो डिजिटल सेक्युरिटी ल्याब स्थापना गरेको थियो । हालै उसले नयाँ रिसर्च प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा स्मार्टफोन एपले विश्वभर आफ्ना प्रयोगकर्ताहरुलाई कसरी ट्रयाक गर्दछ भन्ने कुरा उल्लेख छ । 

अनुसन्धानले ४५० वटा एपहरुमा लोकेसन ट्रयाकर ‘एसडीके’ पहिचान गरेको छ, जुन एपहरु १ अर्ब ७० करोड पटक डाउनलोड भइसकेका छन् । यस्ता स्मार्टफोन एपहरुले प्रयोगकर्ताहरुको गोपनीयतामा मात्र होइन, स्वयत्ततामाथि पनि आँच पुर्‍याएको छ । 

मोबाइलमा धेरै वर्ग तथा प्रकृतिका एपहरु इन्स्टल हुन्छन्, जसले तपाईंको हरेक गतिविधिलाई ट्रयाक गरिरहेका हुन्छन् । उदाहरणका लागि जब तपाईं कतै हिँड्दै हुनुहुन्छ, तब ट्राभल, टुरिज्म तथा फुड एपहरुले तपाईंलाई उत्कृष्ट रेस्टुरेन्टहरु रेकमेन्ड गर्दछ ।

त्यही बेला ती एपले तपाईंको लोकेसनलाई आईओटी बेकन डिभाइसमा पठाइरहेको हुन्छ । त्यसपछि तपाईंको क्रियाकलापलाई हेरेर स्वास्थ्य तथा फिटनेस एपहरु बनाइन्छन् । 

एक्सप्रेस भीपीएनको अनुसन्धानमा विश्वभर डाउनलोड भएका म्यासेजिङ, डेटिङ तथा सोसल एपहरुमा यस किसिमका लोकेसन ट्रयाकर्स राखिएको पाइएको छ ।

कम्पनीको अनुसन्धान अनुसार यस किसिमका लोकेसन ट्रयाकर्स सबैभन्दा धेरै म्यासेजिङ एपमा पाइएको छ । विभिन्न ४२ म्यासेन्जर एपहरुमा यी ट्रयाकर्स पाइएको थियो, जसलाई १८ करोड ७० लाख पटकसम्म डाउनलोड गरिएको थियो ।

जसमा टेलिग्राम, फेसबुक म्यासेन्जर तथा वीच्याट जस्ता लोकप्रिय म्यासेन्जर एपहरु पनि छन् । जसमा २० करोड प्रयोगकर्ता भएका लोकप्रिय भिडियो म्यासेजिङ तथा स्ट्रिमिङ एप ट्याङ्गो पनि रहेको छ । 

डेटिङ तथा सोसल एपको कुरा गर्दा ६४ विभिन्न एपहरुमा त्यस्तो ट्रयाकर्स पाइएको थियो, जून ५ करोड २० लाख पटक डाउनलोड भइसकेका छन् । जसले विभिन्न मुलुक, सम्प्रदाय तथा जातीय समूहलाई लक्षित गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४