close

ह्वाट्सएप, सिग्नल वा टेलिग्राम प्रयोग गर्नुहुन्छ ? तुरुन्त परिवर्तन गर्नुहोस् यी सेटिङ

टेकपाना टेकपाना

माघ १८, २०७७ ८:५८

ह्वाट्सएप, सिग्नल वा टेलिग्राम प्रयोग गर्नुहुन्छ ? तुरुन्त परिवर्तन गर्नुहोस् यी सेटिङ

काठमाडौं । ह्वाट्सएपको गोपनीयता नीति अद्यावधिक भएदेखि अधिकांश प्रयोगकर्ताहरु टेलिग्राम र सिग्नलतिर स्थानान्तरण भएका छन् । तर टेलिग्राम र सिग्नल यी दुवै पनि शतप्रतिशत विश्वासनीय भने छैनन् । यदि तपाईं आफ्नो गोपनीयतालाई सुरक्षित राख्न चाहनुहुन्छ भने केही सेक्युरिटी सेटिङमा परिवर्तन गर्नुहोस् । 

ह्वाट्सएप

ह्वाट्सएप इण्ड टु इण्ड इन्क्रिप्सन म्यासेजिङ सर्भिस हो । प्रयोगकर्ताले आदानप्रदान गरेको म्यासेज त कम्पनीका कसैले देख्न सक्दैनन् ।

तर यसले तपाईंको मेटाडेटामा एक्सेस भने पाउन सक्छ । उदाहरणका लागि डिभाइसको जानकारी, कन्ट्याक्ट, आईपी एड्रेस, लोकेसन आदि । 

ह्वाट्सएपलाई थप सुरक्षित बनाउन सेक्युरिटी सेटिङमा निम्न परिवर्तनहरु गर्नुहोस्; 

१. प्राप्त भएका मेलिसियस सामग्रीलाई नहेर्नुहोस् । जस्तै अज्ञात लिङ्क तथा अट्याचमेन्ट । 

२. ह्वाट्सएपबाट प्राप्त हुने तस्वीरलाई फोनको ग्यालरीमा अटोमेटिक सेभ हुने अप्सन डिसेबल गरदिनुहोस् । 

३. तपाईंको अकाउन्टमा एक्सेस गर्न नदिन टु स्टेप भेरिफिकेसनका लागि पीन नम्बरको प्रयोग गर्नुहोस् ।

४. ब्याकअप टर्न अफ गरिदिनुहोस् । यदि तपाईंले आफ्नो च्याट हिस्ट्रीलाई एप्पल वा गुगल क्लाउडमा ब्याअप राख्नुहुन्छ भने त्यो असुरक्षित हुन्छ । किनभने त्यहाँ इण्ड टु इण्ड इन्क्रिप्सनको सुविधा हुँदैन । 

टेलिग्राम 

टेलिग्राम अकाउन्ट साइनअप गर्दा तपाईंले प्राप्त गर्ने ओटीपी कोड अरु कसैको हातमा पर्‍यो भने तपाईंको अकाउन्ट पनि हाईज्याक हुन सक्छ । 

१. टु फ्याक्टर अथेन्टिकेसनलाई एक्टिभेट गर्नुहोस् । यसका लागि सेटिङमा गएर प्राइभेसी एण्ड सेक्युरिटी सेक्सनमा गएर पासवर्ड राख्नुहोस् । 

२. आफ्नो प्राइभेसी सेटिङलाई परिवर्तन गरिदिनुहोस् । आफ्नो कन्ट्याक्टमा भएका व्यक्तिले मात्र आफूसँग जोडिन पाउने गरी गोपनीयता (प्राइभेसी) सेक्सनलाई मिलाउनुहोस् ।

साथै कसले तपाईंको प्रोफाइल हेर्नसक्छ, तपाईंको स्टाटस अनलाइन छ वा अफलाइन कसले देख्न सक्छ वा तपाईंलाई ग्रुपमा कसले जोड्न सक्छ, यी सबै कुराहरु तपाईंले निर्धारण गर्न सक्नुहुन्छ । 

३. लक कोडको प्रयोग गर्नुहोस् । यदि तपाईंको डिभाइससँग अन्य कुनै व्यक्तिको पहुँच छ भने यसले तपाईंको च्याटलाई सुरक्षित राख्दछ । 

४. आफ्नो अकाउन्टमा एक्टिभ सेसनको समय समयमा रिभ्यू गर्नुहोस् । अन्य कुनै डिभाइसबाट कुनै व्यक्तिले तपाईंको अकाउन्टमा एक्सेस गरेको छ वा छैन थाहा पाउन सक्नुहुन्छ । 

५. गोप्य च्याट तथा इण्ड टु इण्ड इन्क्रिप्सनको फिचर ग्रुप च्याटमा काम गर्न सक्दैन । यदि तपाईं सेक्रेट च्याट चाहनुहुन्छ भने च्याटबक्समा गएर त्यहाँ माथि रहेको थ्री डट तीन थोप्ला भएको (एन्ड्रोइड) वा मोर (आईओएस) मा क्लिक गरी सेक्रेट च्याट सुरु गर्नुहोस् । 

६. सेल्फ डिस्ट्रक्सन एक्टिभेट गर्नुहोस् । यसो गर्दा कुनै पनि म्यासेज हेरेको केही मिनेटमै स्वतः हराउनेछन् ।

सिग्नल 

सिग्नलमा पनि फाइदा र सीमितता टेलिग्रामको जस्तै छ । एलन मस्क आफैंले यो एप प्रयोग गर्न सुझाव दिए पनि यो पनि खतरा मुक्त भने छैन । 

१. रजिस्ट्री लकलाई एक्टिभेट गरिदिनुहोस् । यसो गर्दा तपाईंको अकाउन्ट हाईज्याक वा चोरी भयो भने तपाईंको कन्भर्सेसन हिस्ट्रीलाई कसैले एक्सेस गर्न सक्दैन । 

२. बायोमेट्रिक सुरक्षा वा पासकोड प्रयोग गरी स्क्रिन लक गर्नुहोस् । 

३. मेन स्क्रिनमा म्यासेजलाई देखा पर्न नदिन प्रिभ्यूलाई टर्नअफ गरिदिनुहोस् ।

४. एपभन्दा बाहिर स्क्रिनसटलाई डिसेबल गरिदिनुहोस् । 

५. यसलाई आफ्नो डिफल्ट एसएमएस म्यासेजिङ एप बनाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४