काठमाडौं । गएको २६ जनवरीका दिन भारतीय बजारमा फौजी भिडियो गेम सार्वजनिक भयो । पब्जीमाथि प्रतिबन्ध लगाएको भारतमा त्यसैको बजार ओगट्ने उद्देश्यका साथ ल्याइएको यो गेम केही दिनमै ५० लाखभन्दा बढीले डाउनलोड गरे ।
चर्चा यसरी भयो कि भारतमा पब्जी गेमको कुनै अभाव महसुस हुनेछैन । तर दिन वित्दै जाँदा फौजी गेमको रेटिङ खस्किँदै गएको छ ।
भारतीय बजारमा गएको सेप्टेम्बरदेखि पब्जी गेममा प्रतिबन्ध लागेको छ । त्यसको केही समय लगत्तै फौजी गेम बनाउने घोषणा गरिएको थियो ।
यसलाई भारतीय राष्ट्रवादीहरुले आत्मनिर्भर भारतको रुपमा निकै प्राथमिकताका साथ प्रवर्द्धन गरे । यतिसम्म कि प्रयोगकर्तामा फौजी गेममाथि पब्जी जस्तै आशा भरियो ।
तर गेम सार्वजनिक भएपछि भने यसप्रति नकारात्मक टिप्पणी हुन सुरु भएको छ । गुगल प्ले स्टोरमा रिलिज भएको यो गेमलाई अहिले एक रेटिङ दिन थालिएको छ ।
यसको पछाडि पब्जी गेमका प्रयोगकर्ताको हात रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । भारतीय बजारमा यो गेम सार्वजनिक हुँदा सुरुवाती समयमा फौजी गेमको रेटिङ ४.५ रहेको थियो ।
तर रेटिङ १ का कारण अहिले खस्किएर ३.२ मा झरेको छ । यो गेम हाल केवल एउटा मोडमा मात्र उपलब्ध छ । जसले यो गेमलाई अधुरो महसुस गराइरहेको छ ।
पब्जीको विकल्प दाबी गरिए पनि यसका सहसंस्थापक विशाल गोंडलले भने स्पष्ट रुपमा यो गेम पब्जीको विकल्प नहुने बताएका थिए । फौजी सिंगल प्लेयर गेम हो ।
डेभलपरले यो गेममा चाँडै नै मल्टिप्लेयरको विकल्प समेत उपलब्ध हुने जनाएको छ । यसमा फ्रि टु अल ब्याटल रोयल मोड समेत हुनेछ ।
भारत र चीनबीच जारी सीमा विवाद र गलवान घाटीमा भएको हिंसात्मक झडप पश्चात भारत सरकारले सुरक्षाको कारण देखाउँदै कयौं चिनियाँ एपहरुमाथि एकसाथ प्रतिबन्ध लगाएको थियो ।
पब्जीमाथि प्रतिबन्ध लागेको लामो समय भइसकेपनि भारतीय प्रयोगकर्ताले भने अझसम्म त्यसको विकल्प पाउन सकेका छैनन् ।