काठमाडौं । पेपालले भारतभित्र हुने पेमेन्ट कारोबारलाई बन्द गर्ने भएको छ । अमेरिकी कम्पनी पेपालले ४ वर्षअघि विश्वको दोस्रो ठूलो इन्टरनेटकाे बजार भारतमा लोकल पेमेन्ट सुरु गरेको थियो ।
तर, अब भने कम्पनीले भारतभित्र हुने कारोबारलाई बन्द गर्ने जनाएको हो । कम्पनीका अनुसार आउँदो अप्रिल १ तारिखबाट भारतमा यो सेवा बन्द हुनेछ ।
‘हामी हाम्रो सम्पूर्ण ध्यान भारतीय व्यवसायको अन्तर्राष्ट्रिय व्यापारमा केन्द्रित गर्न चाहन्छौं,’ पेपालले भनेको छ, ‘त्यसैले हामी भारतीय बजारबाट हाम्रो ध्यान हटाउन चाहन्छौं ।’
भारतीय पेमेन्ट बजारमा अहिले पेटीएम, फोनपे, गुगल अमेजन र फेसबुक आफ्नो बजार हिस्सा बढाउन प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२३ सम्म १ ट्रिलियन अमेरिकी डलरको बजार हुने अनुमान गरिएको छ ।
यस्तोमा पेपाल भने भारतीय बजारमा हुने कारोबारबाट पछि हट्ने भएको छ । उसले भारतबाट अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारलाई भने अझ प्रभावकारी बनाउँदै लैजाने बताएको छ ।