close

एक महिनामै नेपालमा १ खर्ब ५३ अर्बको डिजिटल कारोबार

टेकपाना टेकपाना

माघ २७, २०७७ ११:२०

एक महिनामै नेपालमा १ खर्ब ५३ अर्बको डिजिटल कारोबार

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा रौनकता छाइरहेको छ । एकपछि अर्को गर्दै हरेक महिना निरन्तर रुपमा अनलाइनमार्फत हुने कारोबार वृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत एक महिनाको अवधिमा कारोबारले डेढ खर्बको आँकडा छुन सफल भएको छ ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ पुसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत १ खर्ब ५३ अर्बभन्दा बढीको कारोबार भएको छ ।

जुन अघिल्लो महिनाको तुलनामा झन्डै १५ अर्ब बढी हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर महिनामा १ खर्ब ३८ अर्बका हाराहारीमा यी सेवामार्फत कारोबार भएको थियो । यो अवधिमा सबैभन्दा बढी कारोबार कनेक्ट आईपीएसबाट भएको छ ।

कनेक्ट आईपीएसबाट मात्रै एक महिनाको अवधिमा एक खर्ब ७७ करोडभन्दा बढी कारोबार भएको छ । मंसिर महिनामा ९० अर्ब १४ करोड भन्दा बढीको कारोबार भएकोमा बढेर एक खर्बको आँकडा छुन सफल भएको छ । यो अवधिमा कुल १४ लाख ३ हजार ८ सय ७३ पटक कारोबार भएको छ ।

त्यस्तै मोबाइल बैंकिङबाट हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मोबाइल बैंकिङमार्फत कुल ८६ लाख ८१ हजार ३ सय ६९ पटक कारोबार भएको छ । जुन कात्तिक महिनाको तुलनामा २ लाख ९४ हजार ८ सय ९९ बढी हो ।

यस्तै कारोबार रकम पनि ठूलो मात्रा बढेको छ । मंसिर महिनामा मोबाइल बैंकिङमार्फत ३० अर्ब २८ करोड ७ लाख रुपैयाँको कारोबार भएकोमा पुस महिनामा ३३ अर्ब १५ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि बढेको छ । मंसिरमा २ लाख ४५ हजार २ सय ८६ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । तर, पुसमा सो संख्या बढेर ३ लाख २ हजार ५६ पुगेको छ । त्यस्तै कारोबार रकमसमेत वृद्धि भएको छ ।

मंसिरमा इन्टरनेट बैंकिङमार्फत ७ अर्ब २० करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा पुसमा भने ८ अर्ब ५० करोड ३० लाख रुपैयाँ कारोबार भएको छ । अर्कोतर्फ क्यूआरमार्फत हुने कारोबार संख्या बढेपनि कारोबार रकम भने घटेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिरमा क्यूआरमार्फत कुल ३ लाख ४३ हजार ५७४ पटक कारोबार भएको थियो । उक्त संख्या बढेर ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ ।

कारोबार संख्या बढेता पनि यसबाट हुने कारोबार रकम भने घटेको छ । मंसिर महिनामा क्यूआरमार्फत १ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा पुसमा घटेर बढेर १ अर्ब २४ करोड ५० लाख रुपैयाँमात्रै भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१