काठमाडौं । फेसबुकले अष्ट्रेलियामा न्युज शेयरिङलाई बन्द गरेको छ । अस्ट्रेलियाली सरकारले नयाँ कानून मार्फत समाचार प्रसारक कम्पनीहरुलाई डिजिटल प्लेटफर्मले अनिवार्य रुपमा पैसा तिर्नुपर्ने प्रावधान ल्याएपछि फेसबुकले यस्ताे कदम चालेकाे हाे ।
उक्त प्रावधान अनुसार फेसबुक, गुगल जस्ता डिजिटल प्लेटफर्मले न्युज आर्टिकललाई क्लिक गरेको आधार नभएर सञ्चारगृहलाई एकैपटक समग्रमा पैसा भुक्तानी गर्नुपर्नेछ ।
साे मस्यौदामा संसोधन गर्नुअघि अष्ट्रेलियाली सरकारले फेसबुकका सीईओ मार्क जुकरवर्ग र अल्फाबेट इंकका सीईओ सुन्दर पिचाईसँग लामो छलफल गरेको थियो । उक्त छलफलबाट गुगल त्यही अनुसार पैसा तिर्न सहमत भइसकेको छ ।
गुगलले त्यहाँका दुई ठूला मिडिया कम्पनीसँग सम्झौता नै गरिसकेको छ । तर, फेसबुकले भने अष्ट्रेलियाको नयाँ कानुन नमान्ने भएको छ । त्यही अनुसार बिहीबारबाट अष्ट्रेलियामा समाचार शेयर बन्द भएको उल्लेख गरिएको छ ।
बीबीसीका अनसार बिहीबारदेखि अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार शेयर गर्न, सञ्चार गृहले समाचार शेयर गर्ने फिचर सबै बन्द भएको छ । योसँगै त्यहाँका लोकल तथा अन्तर्राष्ट्रिय मिडियाका पेज समेत बन्द गरिएको छ ।
त्यस्तै प्रयोगकर्ताले फेसबुकमा कुनै पनि सामाचार समेत पढ्न नसक्ने भएका छन् । सुरुवातमा फेसबुकले सरकारका कतिपय आपतकालीन सेवाबारे जानकारी दिने फेसबुक पेज समेत बन्द गरेको थियो । अहिले भने आपतकालीन सेवा दिने पेज सुचारू भएकाे छ ।