काठमाडौं । एउटा ५ सेकेण्डको भिडियोले अहिले भारत र पाकिस्तानका सोसल मिडिया प्रयाेगकर्तालाई एक ठाउँमा उभ्याएको छ ।
पाकिस्तानी भिडियो क्रियटर डानानिर मोबिनले आफ्नो इन्स्टाग्राममा गत फेब्रुअरी ६ मा अपलोड गरेको एउटा भिडियो एकाएक भाइरल भइरहेकाे छ । उनले अपेक्षा पनि नगरेको याे भिडियो अहिले भारत र पाकिस्तान दुवै मुलुकमा हट ट्रेन्डिङमा परेकाे छ ।
उनको भिडियोमा खासै विशेष त केही छैन । उनले ‘यो हाम्रो कार हो, यो हामी हो र यहाँ हाम्रो पार्टी भइरहेको छ’ भनेकी छन् । भिडियोमा डानानिरसँग केही युवा साथीहरु पनि छन् ।
तर एकाएक भिडियोले पाकिस्तान र भारतका साेसल मिडिया प्रयाेकर्तालाई एक गराएको छ । दशकौं लामो कलहमा रुमल्लिएका यी दुई मुलुक एकअर्काको आलोचना गर्न केही कुरा पनि बाँकी राख्दैन थिए ।
आन्तरिक राजनीतिदेखि लिएर क्रिकेट, फिल्म सबै कुरामा यी दुई मुलुक एकअर्कालाई चिढ्याउँथे । तर अहिले डानानिरको यो भिडियो दुवै देशमा उत्तिकै भाइरल बनेको छ ।
उनको भिडियोको भ्वाइस क्लिप प्रयोग गरेर अहिले भारत पाकिस्तान दुवै देशका नागरिकहरुले साेसल एपहरूमा भिडियो बनाइरहेका छन् ।
बीबीसी उर्दुसँग बोल्दै डानानिरले भनिन्, ‘विश्वभर यति धेरै समस्या र फुट आइरहेको बेला हाम्रो सीमा वारपारमा यसरी माया प्रेम साटासाट हुन्छ भने योभन्दा राम्रो कुरा के हुन्छ र ?’
उनले भारतीयहरुलाई संकेत गर्दै आफ्नो कारणले छिमेकीहरु पार्टी गरिरहेका कारण आफू हर्षित भएको बताइन् । नेपाली टिकटक प्रयोगकर्तामाझ पनि यो भिडियो ट्रेन्डिङमा आएको छ ।
१९ वर्षीया डानानिर मोबिन, जसले आफ्नो इन्स्टाग्राम बायोमा ‘कल मी जीना’ लेखेकी छन् । उनी पाकिस्तानको उत्तरी शहर पेशावरकी सोसल मिडिया इन्फ्ल्युन्सर हुन् । उनका पोस्टहरु विशेषगरी फेसन र मेकअपमा केन्द्रित हुन्छन् ।