काठमाडौं । नेपाली आईटी क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल उद्यमी रुद्र पाण्डेले सरकारी प्रक्रियाप्रति असन्तोष व्यक्त गरेका छन् । विदेशबाट लगानी ल्याएर नेपालमा आईटी कम्पनी खोल्ने प्रयास गर्दा ६ महिनादेखि झुलाउने काम मात्र भएको उनको दुःखेसो छ ।
नेपालदेखि अमेरिकासम्म आईटी व्यवसाय गरिरहेका पाण्डेले सरकारी रवैयालाई लिएर फेसबुकमा लामो स्टाटस नै लेखेका छन् । ‘मेरो नयाँ कम्पनी डियरहोल्ड लिमिटेडको सब्सिडरी कम्पनी नेपालमा सुरु गरेको ६ महिना भयो । तर उद्योग विभागले चाहिने नचाहिने कागजात मागेर झुलाएको झुलायै छ,’ उनले भनेका छन् ।
अमेरिकासँगै पाण्डेको उक्त कम्पनी जापान र सिंगापुरमा समेत विस्तार भएको छ । उनले अगाडि भनेका छन्, ‘जापान र सिंगापुरमा मैले एक हप्तामै सब्सिडरी कम्पनी खोलेको थिएँ । तर आफ्नै देशमा विदेशबाट पैसा ल्याएर लगानी गर्न खोज्दा दुःख मात्र पाइन्छ । भनौं त कसलाई भनौं ?’
पाण्डेले यसअघि नै दुई वटा आईटी कम्पनीमार्फत नेपालमा सयौंलाई रोजगारी दिँदै आएका छन् । आफ्नो योगदानको आधारमा केही सहुलियत पाउने आशामा अर्को कम्पनी भित्र्याउन खोजिरहेका उनले झन् उल्टै हैरानी खेप्नुपरेकोमा दुःख मनाउ गरेका छन् ।
‘यो देश सुध्रिएला जस्तो लागेन,’ उनले अगाडि लेखेका छन् । पाण्डेको नयाँ कम्पनी डियरहोल्डले वेब तथा मोबाइल सफ्टवेयर डेभलपमेन्ट, डेटा एनालिटिक्स, आईओटी सर्भिस, क्लाउड तथा डेभअप्स र यूआई तथा यूएक्स डिजाइन जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।