काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) तपाईंको डिभाइस र रिमोट सर्भरबीचको एउटा सुरक्षित लिङ्क हो । यसले तपाईंको सबै ट्राफिकलाई इन्क्रिप्ट गरिदिन्छ । र, बिचौलियाहरुले तपाईंको नेटवर्कबीच के कुरा आदानप्रदान भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् ।
इन्टरनेटमा तपाईं टाढाको लोकेसनबाट जोडिनु भएको हुन्छ । यदि भीपीएन प्रयोग गर्नु भएको छ भने तपाईंले भिजिट गरेको वेबसाइट तपाईंको वास्तविक आईपी एड्रेसको सट्टामा छद्म आईपी एड्रेस मात्र देख्न सक्ने छन् । जसले गर्दा तपाई सजिलै अनलाइनमा अज्ञात रहन सक्नुहुन्छ ।
भीपीएनलाई कम्प्युटर, म्याक, राउटर र स्मार्ट टिभीमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड भीपीएनलाई एन्ड्रोइड डिभाइसमा प्रयोग गर्न सकिन्छ भने आईफोन भीपीएनलाई आईओएस डिभाइसमा प्रयोग गर्न सकिन्छ ।
एन्ड्रोइड डिभाइसमा भीपीएन प्रयोग गर्नुका आफ्नै तीन फाइदा छन् ।
१. पब्लिक वाईफाईमा ब्राउजिङलाई सुरक्षित पार्ने
कहिलेकाहिँ मोबाइल डिभाइस प्रयोग गर्दैगर्दा तपाईं पब्लिक वाईफाईबाट पनि इन्टरनेटमा केनेक्ट हुन सक्नुहुन्छ । यस्तो बेला तपाईं त्यस नेटवर्कमा रहेका धेरै डिभाइसहरुसँग जोडिरहनु भएको हुन्छ ।
कोही गलत नियत भएका प्रयोगकर्ताले तपाईंको ट्राफिकभित्र चियाएर तपाईले आदान प्रदान गरिरहेको म्यासेजहरु हेर्न पनि सक्छन् ।
यदि त्यस्तो बेला तपाईंले आफ्नो बैंकिङ तथा वित्तीय विवरण तथा अन्य गोप्य संवेदनशील जानकारीहरु आदानप्रदान गर्नुभएको छ भने यसले ठूलो जोखिम निम्त्याउन सक्छ । यस्तो बेला तपाईंलाई सुरक्षा दिने एउटै कुरा भनेको भीपीएन हो ।
२. निश्चित भूगाेलमा प्रतिबन्ध गरिएका सामाग्री हेर्न मिल्छ
नेटफ्लिक्स जस्ता स्ट्रिमिङ साइटका कुनै कुनै सामग्रीहरु कुनै निश्चित ठाउँको लोकेसनबाट हेर्न मिल्दैन । यस्तो बेला तपाईं प्रतिबन्धित क्षेत्रमा हुनुहुन्छ भने भीपीएनको प्रयोग गरी नेटफ्लिक्स चल्ने क्षेत्रको सर्भरसँग कनेक्ट भएर ती साइटहरु ब्राउज गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि यदि तपाईंले अष्ट्रेलियाबाट भीपीएन प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं अमेरिकाको भीपीएन सर्भरमा समेत जोडिन सक्नुहुन्छ । त्यहाँ उपलब्ध स्ट्रिमिङ सामाग्री मज्जाले हेर्न सक्नुहुन्छ ।
३. कन्टेन्ट ब्लक र फायरवाललाई झुक्याउन
एउटा भीपीएनले फायरवाल ब्लकिङ नियमलाई जित्न सक्छ । तपाईंको विद्यालय, कार्यस्थल, आईएसपी वा सिङ्गो देशले कुनै कुनै वेबसाइटहरुलाई प्रतिबन्ध गरेको हुन्छ तर, भीपीएन प्रयोग गरेर त्यसमा एक्सेस पाउन सक्नुहुन्छ ।
यस्तो बेला तपाईं प्रतिबन्धित वेबसाइटमा एक्सेस गरिरहनु भएको छ भनेर फायरवालले कतै पनि जानकारी दिँदैन ।
कुनै कुनै आईएसपीले इन्टरनेट ट्राफिकको स्पिडलाई नियन्त्रण र ब्लक गर्ने काम गर्छन् । तर यस्तो बेला भीपीएनले तपाईंको कनेक्सन स्पिडलाई बढाउन सहायता गर्दछ ।
तपाईंको एन्ड्रोइड डिभाइसका लागि कुन भीपीएन ठीक ?
एक्सप्रेस भीपीएन सबैभन्दा उत्कृष्ट एन्ड्रोइड भीपीएन हो । ९४ वटा मुलुकहरुमा यसको तीन हजारभन्दा धेरै सर्भरहरु छन् ।
यसको नेटवर्क एकदमै ठूलो छ । यसले सबैतिर राम्रो स्पिड दिन्छ । यसको सुरक्षा क्षमता पनि एकदमै राम्रो छ । यसले तपाईंको ब्राउजिङ गतिविधिलाई स्टोर गर्दैन ।
बजारमा उपलब्ध भीपीएन मध्ये एक्सप्रेस भीपीएन सबैभन्दा फास्ट रहेको प्रमाणित भइसकेको छ ।गोपनीयताको मामिलामा प्रतिबद्ध यो भीपीएनमा ३० हजार वटा आईपी एड्रेस, तीन हजार बढी सर्भर, १६० वटा सर्भर लोकेसन र पाँचओटा सिमुल्टेनियस कनेक्सन छन् ।
९४ भन्दा धेरै देशमा यसले सेवा दिइरहेको छ । एक वर्ष योजनामा सुरुका तीन महिनासम्म यो निःशूल्क प्रयोग गर्न सकिन्छ ।
भीपीएन एक्सप्रेसले प्रयोगकर्ताहरुको अनलाइन गतिविधिको कुनै पनि रेकर्ड नराख्ने बताउँदै आएको छ । भीपीएनको बजारमा एक्सप्रेस भीपीएनको एकदमै बलियो ट्रयाक रेकर्ड छ ।
यसमा एकदमै आकर्षक फिचरहरु छन् । भीपीएन कनेक्सन फेल हुँदा समेत यसले भीपीएन टनेलबाट नेटवर्क डेटा लिक हुनबाट रोकथाम गर्दछ ।
एक्सप्रेस भीपीएनले सन् २००९ देखि सेवा सुरु गरेको हो । यसको वार्षिक प्याकेजको सेवा सब्स्क्रिप्सन गर्दा प्रति महिना सात डलरभन्दा कम मूल्य पर्न जान्छ ।
२. सर्फसार्क
सर्फसार्क भीपीएनको नेटवर्क सानो भएता पनि यसमा फिचर भने धेरै राम्रा छन् । यसले असीमित डिभाइसहरुलाई सपोर्ट गर्न सक्छ ।
तपाईंले आफ्नो घर वा कार्यालयमा प्रयोग गर्दै हुनुहुन्छ भने यो भीपीएनले कतिवटा डिभाइसलाई कनेक्ट गर्न सक्छ भनेर तपाईंले चिन्ता लिनैपर्दैन । यसमा एन्टी माल्वेयर तथा एड ब्लकिङ र ट्रयाकर ब्लकिङ फिचर समेत छन् ।
जर्मनी सेक्युरिटी फर्म क्योर ५३ ले क्रोम तथा फायरफक्स एक्स्टेन्सनहरुको गोपनीयता अडिट गर्दा सर्फसार्कले उच्चतम अंक प्राप्त गरेको थियो । यद्यपी उक्त अडिटलाई सर्फसार्कले नै प्रायोजन गरेको थियो ।
हजार वटा सर्भर र ६० वटा सर्भर लोकेसन रहेको यो भीपीएनले म्याक, विण्डो, आईओएस, एन्ड्रोइड, फायरटीभी र राउटरमा रन हुने एपमा उत्कृष्ट रेञ्जको सपोर्ट प्रदान गर्दछ ।
यसमा भएको एउटा राम्रो विशेष फिचर भनेको यसले भीपीएनलाई अटोमेटिक रुपमा बाइपास गर्न केही एप तथा वेबसाइटहरुलाई ह्वाइटलिस्ट गर्न अनुमति दिन्छ । कतिपय अवस्थामा व्यवसायीक प्रयोजनका लागि यो निकै महत्वपूर्ण हुन्छ ।
प्रयोगकर्ताहरुलाई आफ्नो अनलाइन गतिविधि होशियारीपूर्वक लुकाउन सर्फसार्कमा तीन विशेष मोडहरु पनि छन् । क्यामोफ्ल्याग मोडले तपाईंका भीपीएन गतिविधिलाई यसरी लुकाउँछ कि इन्टरनेट सेवाप्रदायकलाई तपाईंले भीपीएन प्रयोग गरेको समेत थाहा हुँदैन ।
दोस्रो मल्टीहोप मोडलले तपाईंको कनेक्सनमा जम्प गरेर तपाईंको ट्रेललाई लुकाउँछ । यस्तै नो बोर्डर मोडले प्रतिबन्धित क्षेत्रमा तपाईंलाई अनलाइन गतिविधि गर्न बाटो खोलिदिन्छ ।
यदि सर्फसार्कको एक वर्षे प्याकेज लिन चाहनुहुन्छ भने पहिलो वर्ष तपाईंले ७२ डलर तिर्नुपर्ने हुन्छ । अको वर्ष तपाईंले १४३ डलर तिर्नुपर्छ । मासिक योजनामा कम्पनीले १२ डलर शूल्क लिन्छ ।
तर २४ महिनाको प्याकेज लिँदा भने मासिक दुई डलर शूल्क तिरे पुग्छ । तपाईंले यसमा ३० दिनसम्मको निःशूल्क ट्रायल सेवा पनि पाउन सक्नुहुन्छ ।
३. नोर्ड भीपीएन
पाँच हजारभन्दा धेरै आईपी एड्रेस तथा ५२ सयभन्दा धेरै सर्भर संख्या भएको नोर्ड भीपीएनका सर्भर ६२ स्थानमा छन् । यसले तीन वर्षको प्याकेजमा ७० प्रतिशत छूट सहित मासिक ३.४९ डलर शूल्क लिन्छ । बजारमा नोर्ड भीपीएन एकदमै नामी भीपीएन हो ।
यसले आफ्नो नेटवर्कबाट ६ वटा सिमुल्टेनियस कनेक्सन प्रदान गर्दछ जब कि अन्य सेवाप्रदायकले पाँच वा त्यो भन्दा कम सिमुल्टेनियस कनेक्सन मात्र दिने गर्दछन् । यसले डेडिकेटेड आईपी अप्सन पनि प्रदान गर्दछ । गोपनीयता रक्षा र स्पीडको मामिलामा यो एकदमै विश्वसनीय पनि छ ।
४. आईपी भेनिस
४० हजारभन्दा धेरै आईपी एड्रेस रहेको आईपी भेनिसका १३ सय सर्भर छन् । १० वटा सिमुल्टेनियस कनेक्सन प्रदान गर्ने यो भीपीएनको वार्षिक सब्स्क्रिप्सन शूल्क ४८ डलर छ । महिनामा तपाईंले ३.९९ डलर शूल्क तिरे पुग्छ ।
मल्टीप्लेटफर्म फ्लेक्जिबिलिटी भएको यो भीपीएन नेटफ्लिक्समैत्री भीपीएन हो । यसको फरक फिचर भनेको यसले कोडीलाई समेत सपोर्ट गर्दछ ।
कोडी एउटा यस्तो ओपन सोर्स मिडिया स्ट्रिम एप हो, जसलाई कुनै समय एक्सबीएमसीको नामले चिन्ने गरिन्थ्यो । यदि कुनै मिडिया फ्यानले मिडिया प्लेयरमा कोडी बनाएको छ र त्यसमा आईपी भेनिस प्रयोग गरेको छ भने उसले विश्वभरका मिडियामा एक्सेस पाउन सक्छ ।
कम्पनीले आफ्नो सिमुल्टेनियस कनेक्सन संख्या भर्खरै पाँचबाट बढाएर दश पुर्याएको छ । तर यसले ट्रायल समय चाहिँ ३० दिनबाट घटाएर सात दिनमा सीमित गरेको छ ।
५. नोर्टन सेक्योर भीपीएन
२९ मुलुकमा सेवा दिइरहेको यो भीपीएनका १५ सय सर्भर छन् । ती मध्ये १२ सय भर्चुअल सर्भर हुन् । यसको सर्भर २०० स्थानमा छन् । सेक्युरिटी प्रडक्टका लागि नामी कम्पनी लाइफलकले नोर्टन सेक्योर भीपीएन बजारमा ल्याएको हो ।
तर यसले पी टू पी वा टोरेन्टलाई भने सपोर्ट गर्दैन । यसमा खासै राम्रा फिचरहरु पनि छैनन् । यसले लिनक्स, राउटर र सेट अप बक्सलाई पनि सपोर्ट गर्दैन । यसको नेटफ्लिक्स र स्ट्रिमिङ क्षमता एकदमै सीमित छ ।
अझ परीक्षणको समयमा यो अझै कमजोर पाइएको थियो । यसमा डेटा लिक्सका समस्याहरु समेत देखिएका थिए । यसको स्पीड पनि मिड टायर भीपीएनकै बराबर छ ।
यो म्याक, आईओएस, विण्डो र एन्ड्रोइड सबै प्लेटफर्ममा उपलब्ध छ । तर यसले ग्राहकलाई २४ घण्टे फोन सेवा दिनुका साथै ६० दिनमा पैसा फिर्ता दिने प्रत्याभूति समेत दिन्छ । यसको सब्स्क्रिप्सन शूल्क एक वर्षको ४० डलर रहेको छ ।
६. पिओर भीपीएन
तीन लाख आईपी एड्रेस तथा दुई हजार सर्भर भएको पिओर भीपीएनका सर्भर १८० स्थानमा छन् । २०१८ मा नो लग मुभमेन्टमा सरिक भएको प्योर भीपीएनले प्रयोगकर्ताको कनेक्सनका जानकारीहरु संकलन गरेर राख्दैन ।
प्योरभीपीएनमा कोडी र क्रोमबूक दुवैको सोलुसन छ । यदि तपाईं यसको सेवा सब्स्क्राइब गर्न चाहनुहुन्छ भने यसका दुई प्याकेज उपलब्ध छन् । पाँच वर्षे योजनामा मासिक शूल्क १.६५ डलर र एक वर्षे योजनामा मासिक शूल्क ३.३३ डलर रहेको छ ।
७. स्ट्रङ भीपीएन
५९ हजार पाँच सय आईपी एड्रेस भएको स्ट्रङ भीपीएनको बलियो पूर्वाधार र उचित दररेट छ । यसले पनि नो लगिङ नीतिको पालना गर्दै आएको छ ।
स्ट्रङ भीपीएनले आफ्नो वृहत आईपीका लागि कुडोजको प्रयोग गर्छ । यसले व्यक्तिको पहिचानलाई सुरक्षित राख्छ । यसमा सर्भर र विश्वव्यापी लोकेसनको राम्रो पूर्वाधार छ ।
जसका ६५० भन्दा धेरै सर्भर र २६ मुलुकहरुमा सर्भर रहेका छन् । जहाँबाट डेडिकेटेड आईपी आवश्यक हुनेहरुले भीपीएन सेवा लिन सक्छन् ।
कम्पनीसँग आफ्नै सम्पूर्ण नेटवर्क पूर्वाधार भएको हुँदा ब्याण्डविथको सीमितता वा इन्टरनेट ट्राफिकको समस्या यसमा छैन । एक वर्षे प्याकेज अन्तर्गत प्रयोगकर्ताहरुले ४२ प्रतिशत छूटमा प्रति महिना ५.८३ डलरमा सेवा लिनसक्छन् ।
८. साइबर घोस्ट भीपीएन
सन् २०११ देखि सेवा सुरु गरेको साइबर घोस्टमा लिनक्सको सपोर्ट छ । साथै यसले राउटरबाट पनि सपोर्ट गर्दछ । यसमा लोकप्रिय कोडी मिडिया प्लेयरको सपोर्ट पनि छ ।
यसले धेरै मुलुकहरुमा पी टू पी र बिट टोरेन्टलाई पनि सपोर्ट गर्दछ । यो भीपीएन तपाईंले एकैपटक सात वटा डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ ।
९० भन्दा धेरै मुलुकमा यसका ६१ सयभन्दा धेरै सर्भर रहेका छन् । साइबर घोस्टको सर्भर ११२ स्थानमा राखिएको छ । यसमा तपाईंले हरेक घण्टा सपोर्टको सुविधा पाउन सक्नुहुन्छ । साथै ४५ दिनमा पैसा फिर्ता पाउन सकिने सुविधा पनि यसमा छ ।
साइबर घोस्टको भीपीएन प्रयोग गर्नेले दुई किसिमको सब्स्क्रिप्सन प्याकेज पाउन सक्छन् । सबैभन्दा पहिलो तीन वर्षे योजना हो । जसको शूल्क प्रति महिना २.७५ डलर र अर्को दुई वर्षे योजनामा प्रति महिना ३.६९ डलर रहेको छ ।
९ . प्राइभेट इन्टरनेट एक्सेस
मूल्यको मामिलामा तपाईं राम्रो भीपीएन खोज्दै हुनुहुन्छ भने प्राइभेट इन्टरनेट एक्सेस तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । तपाईंले मात्र ८३.८७ डलरमा दुई वर्षे प्याकेज लिन सक्नुहुन्छ ।
यसका लागि मासिक ३.४९ डलर भुक्तानी गर्नुपर्ने हुन्छ । प्राइभेट इन्टरनेट एक्सेस भीपीएनका ३,२५२ वटा सर्भर छन् । यी सर्भरहरु ३७ ठाउँमा राखिएका छन् ।
तर यसमा कति आईपी एड्रेस छन् भन्ने कुरा भने कम्पनीले खुलाएको छैन । सन् २०१० देखि सेवा सुरु गरेको यो कम्पनीले प्रयोगकर्ताको कुनै पनि गतिविधिको रेकर्ड राख्दैन ।
यसमा अनलाइन डकुमेन्टेसन र सेक्युरिटी लाइसेन्स राम्रो छ । तर दुःखको कुरा यसको रिफण्ड नीति सात दिनको मात्र छ । तर तपाईंले सात दिनभित्रै यसको ट्रायल सम्पन्न गर्न सक्नुहुन्छ ।
१०. हट्सपट सिल्ड
हट्सपट सिल्ड भीपीएनको सफ्टवेयरमा यस वर्ष एउटा कमजोरी पाइयो । तर कम्पनीले तत्कालै उक्त कमजोरीलाई सम्बोधन गरेको थियो । यसबीच कम्पनीले भीपीएन बजारमा पैसा फिर्ताको समयलाई ४५ दिनसम्म बढाएको घोषणा गरेको छ ।
यो एउटा राम्रो खबर हो । यसले विण्डो, म्याक, आईओएस र एन्ड्रोइड सबै डिभाइसमा सपोर्ट गर्दछ । यसले राउटर र मिडिया प्लेयरलाई पनि सपोर्ट गर्छ । तर लिनक्समा भने सपोर्ट गर्दैन । बोनसमा यसका केही राम्रा फिचरहरु पनि छन् ।
कम्पनीले पी टु पी र बिट टोरेन्टलाई सपोर्ट गर्दैन । साथै ओपन भीपीएनलाई पनि यसले सपोर्ट गर्दैन । कम्पनीले गोपनीयताका लागि एउटा राम्रो कदम उठाउँदै प्राइभेसी क्यानरी प्रकाशित गरेको छ । साथै कम्पनीले आफूसँग माल्वेयर, फिसिङ र स्पाम प्रोटेक्सन पनि रहेको बताएको छ ।
यसका ५० हजार आईपी एड्रेसहरु छन् भने ३२ सय वटा सर्भर छन् । ८० मुलुकमा सेवा प्रदान गर्ने यो भीपीएनको तीन वर्षे योजनामा प्रयोगकर्ताले मासिक २.९९ डलर भुक्तानी गरेर सेवा लिन सक्छन् ।
माथि उल्लेखति भीपीएनका अलावा तपाईले गुज भीपीएन, भाइपर भीपीएन सर्भिस, बफर्ड भीपीएन, हाइड माई एस भीपीएन, वेबरुट वाईफाई सेक्युरिटी, आदि समेत प्रयोग गर्न सक्नुहुन्छ ।