काठमाडौं । गुगल म्यासेज एपलाई कतिपय प्रयोगकर्ताले आफ्नो मोबाइलमा डिफल्ट एसएमएस एपको रुपमा प्रयोग गरिरहेका हुन्छन् । डिफल्टमा नराखेरै पनि यो एप प्रयोग गर्नेहरु पनि उत्तिकै हुन्छन् । गुगलले अब यो एपमा नयाँ फिचर जारी गर्ने भएको छ ।
यो नयाँ फिचरबाट ओटीपी अर्थात वान टाइम पासवर्ड म्यासेज २४ घण्टामा स्वतः डलिट हुनेछ । ओटीपीको प्रयोग भइसकेपछि यस्ता म्यासेज प्रयोगकर्ताको मोबाइलमा बसिरहेका हुन्छन् । अब यो नयाँ फिचरले त्यस्ता म्यासेज स्वतः डिलिट गरिदिनेछ ।
यसबाट फोनको स्पेस समेत जोगिनेछ । एक्सडीए डेभलपरको रिपोर्ट अनुसार यो फिचरलाई गुगल म्यासेज एपको बेटा भर्सनमा दिइएको छ । यसका लागि एपको बेटा भर्सन ७.५.०४८ हुन जरुरी छ ।
यदि तपाईंसँग गुगल म्यासेजको बेटा भर्सन ७.५.०४८ भएको एप छ तर पनि तपाईंले यसलाई प्रयोग गर्न पाउनु भएको छैन भने चिन्तित नहुनुहोस् । यो अहिले सबै टेस्टरका लागि जारी गरिएको छैन । यो फिचर सबैभन्दा पहिला गत सेप्टेम्बरमा दिएको थियो ।
यसमा प्रयोगकर्ताले आफ्नो म्यासेजलाई क्याटेगरीको रुपमा राख्न सक्छन् । यी क्याटेगरीमा पर्सनल, ट्रान्जेक्सन, अफर तथा ओटीपी आदि रहेका छन् ।
‘भ्यू म्यासेज बाई क्याटेगरी’ अप्सन छनौट गरेर तपाईं आफ्ना म्यासेजलाई क्याटेगरीमा विभाजन गर्न सक्नुहुन्छ । यसको तल अटो डिलिट ओटीपीको अप्सन समेत दिइएको छ । यो अप्सन छनौट गरेपछि तपाईंको मोबाइलमा आउने ओटीपी २४ घण्टापश्चात स्वतः डिलिट भएर जानेछ ।
धेरैजसो कारोबार तथा टु फ्याक्टर अथेन्टिकेसनका लागि ओटीपी कोड प्रयोग हुने गरेको छ । निश्चित समयपश्चात यस्तो कोडको म्याद सकिएर जान्छ । म्यासेजमा भने यस किसिमको कोड लामो समयसम्म बसिरहन्छ ।
अब यो नयाँ फिचर आएपछि तपाईंको म्यासेज बक्स सफा देखिनेछ । हाल बेटा भर्सनमा रहेको यो फिचर चाँडै सबैका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । तर यो फिचर सार्वजनिक गर्ने विषयमा कम्पनीले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन ।
गुगल म्यासेज एपमा हालै मात्र शेड्युल म्यासेज फिचर सार्वजनिक गरिएको थियो । उक्त फिचरको सहयोगमा तपाईं आफ्नो म्यासेजलाई शेड्युलमा राख्न सक्नुहुन्छ ।