close

‘हाम्रा शैक्षिक कार्यक्रम आविष्कारमैत्री छैनन्’

टेकपाना टेकपाना

चैत ३, २०७७ ११:५८

‘हाम्रा शैक्षिक कार्यक्रम आविष्कारमैत्री छैनन्’

महावीर पुन
त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) अन्तर्गतका क्याम्पसमा पढ्ने भाइ बहिनीहरुलाई मैले नवीनतम् तथा नवप्रवर्तनात्मक परियोजना ल्याएर आविष्कार केन्द्रमा अनुसन्धान गर्न आग्रह गरेको थिएँ ।

तर उनीहरुले प्रोजेक्टको समय निकै थोरै भएको गुनासो सुनाए । उदाहरणको लागि आईओईको शैक्षिक क्यालेन्डरलाई नै लिनुहोस् ।

नेपालमा एक सेमेस्टर करिब ५ महिनाको हुँदो रहेछ । ३ महिना कक्षामा पढाईको लागि छुट्याइएको हुन्छ । बाँकी २ महिना जति जाँच गरेर बित्छ ।

जाँचको लागि भनेर करिब ४०/४५ दिन जति छुट्याइँदो रहेछ । नियमित विद्यार्थीहरुको एउट़ा विषयको जाँच भएपछि पढ्नको लागि कम्तिमा ३ दिनको ग्याप हुने देखियो । यसरी जाँचकै लागि २५ दिन जति लाग्दो रहेछ ।

अनि अघिल्लो सेमेस्टरहरुमा विभिन्न विषयमा फेल भएका विद्यार्थीहरुका लागि ब्याक पेपरको जाँच लिँदा १५ दिन जति लाग्छ । यसरी सेमेस्टरभर विद्यार्थीहरुका लागि प्रोजेक्टहरु गर्ने समय एकदमै कम हुन्छ ।

कुनै विद्यार्थी आफैंले केही प्रोजेक्टहरु गरेर समय बितायो भने त्यो विद्यार्थी जाँचमा फेल हुने सम्भावना धेरै हुने भयो । अनि हाम्रा विद्यार्थी कसरी इनोभेटर वा आविष्कारक बनुन् त ?

अमेरिकाको एउटा कलेजमा कसरी पढाई हुन्छ भन्ने कुराको उदाहरण हेर्न सक्नुहुन्छ । त्यहाँको जाँच लिने तरिका एकदमै भिन्न छ । एउटा सेमेस्टर चार महिनाको हुन्छ ।

पढाई पनि पुरै हुन्छ र पढाईकै क्रममा विषय शिक्षकले जाँच लिन्छन् । नेपालमा जस्तो जाँचका लागि भनेर महिनौंको समय खर्च गर्दैनन् ।

विषय शिक्षकले इञ्जिनियरिङ विद्यार्थीहरुलाई ८/१० वटा जति ‘प्रोब्लेम सेट’ दिन्छन् र त्यसको समाधान गर्न लगाउछन् । अन्य विषयका शिक्षकहरुले ८/१० वटा जति निबन्ध र पेपरहरु लेख्न दिन्छन् ।

प्रायः जसो हप्ताको अन्तिममा साप्ताहिक परीक्षा हुन्छ र बेला बेलामा क्विज पनि लिन्छन् । सेमेस्टरको मध्यतिर ‘मिड टर्म टेस्ट’ र अन्तिममा क्लासमै ‘फाइनल टेस्ट’ लिन्छन् ।

जाँचका लागि भनेर कुनै छुट्टै समय छुट्याइएको हुँदैन । कक्षाको हाजिरीलाई १० प्रतिशत नम्बरको रुपमा जोडिको हुन्छ । यसरी पेपर, क्विज, टेस्ट र हाजिर सबैको नम्बर जोडेर कक्षाको रिजल्ट निकाल्छन् ।

यसरी जाँच लिने तरिका युनिभर्सिटी अनुसार र शिक्षक अनुसार फरक फरक हुन्छ । तर नेपालमा १२ महिनामा चार महिना त विद्यार्थीहरुले जाँच दिएरै वित्ने रहेछ ।

यस्तो सिस्टमम सुधार गरे कसो होला ? अन्यथा यस्तो तरिकाले त हाम्रा विद्यार्थीहरुले कसरी इनोभेसन गर्न सक्लान ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१