“कुनै समय एउटा गाउँमा आफैंले केही फाइदा नपाए पनि अरूका लागि सधैं राम्रो गर्ने मानिस थियो । गाउँलेहरूले उसलाई धेरै माया गर्थे । तर विस्तारै उसले अरूको माया र सराहना पाउनभन्दा आफूलाई देखाउन मात्र काम गर्न थाल्यो । उसलाई हरपल मानिसहरूले देखून् र उसलाई नायक मानून् भन्ने लाग्न थाल्यो । उसका कामको उद्देश्य फेरियो र बिस्तारै गाउँलेहरूले पनि उसलाई त्यति माया गर्न छोडे ।…."
यो कथा नभई हाम्रो समाजको वास्तविकता हो । कथाको पात्र जस्तै कसैले आफ्नो फाइदा नहेरी काम गरेको होस् या नगरेको, कालान्तरमा ऊ स्वार्थी बनेको र गाउँलेहरूले पनि माया गर्न छाडेको हामीले देख्दै आएका छौं । यस प्रक्रियालाई चल्तीको भाषामा ‘भाइरल’ भनौं न । त्यस्तो कन्टेन्ट, त्यस्तो पात्र जो केही क्षण चल्छन्, हराइजान्छन् ।
केही अगाडिसम्म (अहिले पनि) लोग्नेस्वास्नी बीचको झगडा, पारिवारिक बेमेलका घटनाहरू सामाजिक सञ्जालको नेपाली गाउँमा भाइरल हुन्थे । अहिले दृश्य केही मात्रामा परिवर्तन भए पनि गुदी कुरा उही छ । मात्र बोक्रामा समाज सुधारको स्टिकर टाँसिएको छ ।
समाज सुधारको नाममा माथि उल्लेखित कथाको पात्र हुन खोज्नेहरू अहिले सामाजिक सञ्जालको नेपाली गाउँमा व्याप्त छन् । सरसर्ती हेर्दा तिनले समाज सुधारका नाममा राम्रा कामको प्रचार गरेको लाग्छ । तर नजिक गएर हेर्दा उनीहरूको शैली र उद्देश्यबारे प्रश्न उठ्छ । र, कुनै दिन समाजको कुपात्र पनि लाग्न सक्छ ।
सामान्यतः त्यस्ता व्यक्तिले आफूलाई समाजको सेवक वा सुधारकको रूपमा प्रस्तुत गर्न खोज्छन् । तर उनीहरूको मुख्य ध्यान आफूलाई लोकप्रिय बनाउनेतर्फ हुन्छ । यसले गर्दा समाज सुधारको मूल उद्देश्य ओझेलमा पर्छ । र उनीहरूको काम आत्मप्रचारमा सीमित हुन जान्छ ।
आषिका तामाङ अहिले यही लयमा गइरहेकी एक पात्र हुन् । उनको व्यक्तिगत परिचय दिइरहन पङ्क्तिकारले जरुरी ठानेन । तर यति भन्यो कि ठूला आँखा, चर्को आवाज, रिसालु बोली, क्यामेरा अनि भाइरल उनको हकमा परिचय बन्दै गइरहेको छ । अनि सञ्जाल डरलाग्दो हतियार । त्यसैले पङ्क्तिकारलाई लाग्छ राजमार्ग छेउ सामान्य पसल चलाइरहेको व्यक्ति त्रसित छ- कतै आषिका तामाङ आइपुग्ने त होइन ?
यहाँ आषिका तामाङ आउनुमा समस्या छैन । भइरहेको विसंगति विरुद्धमा बोल्नुमा समस्या छैन । अनुशासन, इमान र कानुनका कुरा सिकाउनुमा समस्या छैन । समस्या छ त उनको प्रस्तुतिकरणमा । उनले बोकेको क्यामेरामा । क्यामेराले खिचेको दृश्य ('रअ', 'रफ') सामाजिक सञ्जालमा लगातार हाल्ने प्रवृत्तिमा ।
डिजिटल दुनियाँमा नजिकबाट हेर्ने हो भने लाग्छ, नर्सको पेशा बदलेर उनी कन्टेन्ट क्रियटर बनेकी छिन् । अनि कहिलेकाहीँ लाग्छ, अंग्रेजीमा कन्टेन्ट हुन्थ्यो भने मिस्टर बिस्ट पछि पर्थे ।
लेखको उद्देश्य आषिका तामाङ (व्यक्ति)लाई दोष देखाउनु होइन, आषिका तामाङ (प्रवृत्ति) र सामाजिक सञ्जालबीचको सम्बन्ध केलाउनु हो ।
मानौं, तामाङ समाज सुधार्न लागिपरेकी हुन् । यदि यसो भए असभ्य तरिकामा प्रस्तुत भएर किन उनी सामाजिक सञ्जालमा देखा पर्छिन् । त्यही नि लगातार । अघिसम्म तामाङलाई राम्रो मान्नेले अहिले नजर फेर्ने अवस्था बनेको लाग्दैन ?
समाज सुधारका लागि उठाइएका कतिपय आवाजहरू सही उद्देश्यबाट निर्देशित हुन्छन् । ती काम गर्नेहरूको मनसाय राम्रो हुन सक्छ । तर त्यसलाई गर्ने शैलीले उनीहरूको उद्देश्यको गहिराइलाई कमजोर पार्न सक्छ ।
जस्तै, समाजमा भएका अन्याय, अन्यायका पीडितहरूप्रति सहानुभूति देखाउन नाटकीयता जोड्दा त्यसको प्रभाव झन् नकारात्मक हुन्छ । सायद पछ्याइरहने क्यामेरा र माइकले तामाङको उद्देश्यमा कमजोरीको काम गरेको छ ।
तामाङलाई चिन्ने व्यक्तिहरू पछिल्लो समय ह्वात्तै बढेका छन् । सायद हिरोइन बन्दा त्यति चर्चा उनले कमाएकी थिइनन् । जति अहिले छ । यो उनको कन्टेन्टमा आएको भ्युजको बाढीले पनि पुष्टि गर्छ ।
आत्मप्रचार केन्द्रित सामाजिक कार्य सञ्जालमा हाल्नु कन्टेन्ट नै हो । हुन त घटनाक्रमले तामाङ आफैं कन्टेन्ट भएको कुरा पनि पुष्टि गर्छ । भन्नुको अर्थ भाइरल सामग्रीहरूले आर्थिक लाभ दिन सक्छ । जसले तामाङलाई आकर्षित गरेन भन्न सकिने ठाउँ छैन ।
लाखौँ भ्युज पाउने अनि यसबाट आम्दानी गर्ने आशाले गर्दा समाज सुधारको उद्देश्य गौण बन्न जान्छ । यसले मनोवैज्ञानिक रूपमा ‘मेरै काम मात्र सही छ’ भन्ने मानसिकता पनि पैदा गर्छ । यसो पनि भएको हुन सक्छ ।
पङ्क्तिकारले तामाङलाई सम्पर्क गर्न खोज्दा सम्भव भएन । खासमा तामाङ क्यामेरा अघि त्यस्तो उग्र किन हुन्छिन् ? असभ्य किन हुन्छिन् ? किन नाटकीय हुन्छिन् ? आफूले गरेको कामबारे प्रशासनमा जानकारी गराएकी छिन्/छैनन् ? सम्बन्धित निकायमा प्रश्न गरेकी छिन्/छैनन् ? यी यावत् जिज्ञासा-प्रश्न तामाङतिरै सोझिएको छ ।
तर कुरो सत्य छ, तामाङका यस्ता नाटकीय भिडिओहरूले समाजमा गलत प्रभाव पारेका छन् । किशोरकिशोरीले उनको भिडिओ हेरेर के सिक्छन् ? वयोवृद्धले हेरेर के ठान्छन् ? तामाङको भिडिओ हेरिरहेकाहरूको मनोविज्ञानमा कस्तो असर परिरहेको छ ? सवाल गम्भीर छ ।
त्यस्तै सञ्जालमा तातिरहेकी तामाङका भिडिओले आमजनतामा सरकारी निकायहरूप्रति अविश्वास जगाउन भूमिका खेलेको छैन भन्न सकिने ठाउँ छैन । समाज सुधारका लागि भएका सरकारी प्रयासलाई अवमूल्यन गरी व्यक्तिले आफूलाई सर्वश्रेष्ठ ठहर्याउन खोज्दा नागरिकहरूले सरकारी पहलप्रति अविश्वास गर्न सक्छन् ।
कुनै दुर्गम गाउँमा जसोतसो डेटा लिएर सामाजिक सञ्जाल चलाउँदा उनको भिडिओ हेर्नेले राज्यप्रति कस्तो धारणा बनाउला ? सरकारी जागिरे खान्छु भनेर लोकसेवा तयारी गर्दै गरेकाले के सोच्छन् ? भविष्यमा राम्रो समाजसेवी बन्छु भनेर सोच्नेले के ठान्लान् ? प्रश्न गम्भीर छ ।
कम्तीमा तामाङले त्यस्ता भिडिओ हाल्दा पर्ने सम्भावित असरबारे गम्नु पर्थ्यो । जसरी उनले भइरहेका नराम्रो अभ्यास नराम्रो हो भनेर देखिन्, त्यसरी नै सामाजिक सञ्जालमा आफ्नो प्रवृत्तिले धेरैलाई नकारात्मक असर पार्न सक्छ भनेर किन सोचिनन् ? सोचिन् कि सोचेर पनि बेवास्ता गरिन् ?
सञ्जालको गतिविधि हेरेर जोकोहीले भन्न सक्छ, तामाङको कामको प्रभाव दीर्घकालीन छैन । प्रभाव लामो समयको लागि रहोस् । कामना । समर्थन । तर समाज सुधारको नाममा गरिएका कामको प्रचारमुनिको रहस्य के ?
सञ्जालमा भाइरल भएर लोकप्रियता र आर्थिक लाभ प्राप्त गर्न धेरैले तामाङको बाटो रोजेका छन् । उनीहरू जिम्मेवार नभएर जथाभावी गर्दा अनेकन् समस्या निम्तेका छन् । तामाङ पनि खस्रो नभई गम्भीर र विनम्र भएको भए कथा अर्कै हुने थियो ।
प्रश्न त उही छ, के तामाङ सञ्जालको अनावश्यक हल्लाखल्ला मात्र हुन् ?