close

पोखराका पसलमा अब अनलाइन भुक्तानी सेवा

टेकपाना टेकपाना

चैत ३, २०७७ १७:४१

पोखराका पसलमा अब अनलाइन भुक्तानी सेवा

काठमाडौं । ईसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरे । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ ।

पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बीि व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले अनलाइन भुक्तानीले भ्रष्टाचार रोक्न सहयोग पुग्ने बताए । उनले नगद भुक्तानका लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउँदै अति नै मितव्ययी रहेकाले ईसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए ।

क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने, ‘परिवर्तित समयअनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा ईसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौं । पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम विस्तारै कम हुँदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।’

कार्यक्रममा ईसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सही र उच्चतम प्रयोग गर्दै संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री सहर एवं व्यवसायका लागि संघसँग सहकार्य गरेको बताए ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।

हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । त्यस्तै मर्चेन्टको संख्या करिब २ लाख छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य आबद्ध रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१