काठमाडौं । एडसेन्स वास्तवमा गुगलको एउटा विज्ञापन प्रकाशन गर्ने कार्यक्रम हो । गुगलका सर्भिसहरुमा सामग्री प्रकाशन गर्ने प्रकाशकहरुले आफ्नो वेबसाइट, ब्लगिङ साइट र युट्युब च्यानलहरुलाई मनिटाइज गर्न सकुन् भनेर गुगलले एडसेन्समार्फत विज्ञापन प्रदान गर्दछ ।
गुगलले एडसेन्समार्फत वेबसाइट तथा युट्युब च्यानलहरुलाई तिनै विज्ञापन प्रदान गर्दछ जुन विज्ञापन कम्पनीले गुगल एडको मााध्यमबाट विज्ञापनदाता कम्पनीहरुबाट प्राप्त गर्ने गर्दछ ।
प्रारम्भमा त कुनै पनि व्यवसायिक गृह वा प्रडक्ट कम्पनीले आफ्नो वस्तुको विज्ञापन गर्न गुगल एड्सेन्स् अकाउन्ट खोलेर गुगललाई विज्ञापन प्रदान गर्दछ । ती विज्ञापनलाई गुगल सर्चमा देखाउने हो वा वेबसाइट, ब्लग वा युट्युब भिडियोमा देखाउने हो यी सबै कुरा विज्ञापनदाताको रोजाइमा भर पर्छ ।
विज्ञापनदाताले साइट रोजेपछि गुगलले वेबसाइट भए वेबसाइटलाई, युट्युब भए युट्युब च्यानलको सञ्चालकलाई ती विज्ञापन प्रदान गर्दछ । तर विज्ञापन पाउनका लागि प्रकाशकले गुगल एडसेन्समा अप्लाई गर्नुपर्छ ।
तर जोकोही व्यक्तिले गुगल एडसेन्समा गरेको अप्लाई सधै अनुमोदन हुँदैन । यदि तपाईं प्रकाशक हुनुहुन्छ र एडसेन्समा अप्लाई गर्नेबारे सोच्दै हुनुहुन्छ भने केही मापदण्ड तपाईंले पनि पुरा गर्नुपर्ने हुन्छ ।
यसका लागि सबैभन्दा पहिले त तपाईंसँग कुनै वेबसाइट, ब्लग वा युट्युब च्यानल हुनुपर्नेछ । जसबाट भिजिटरहरुलाई तपाईंले कुनै पनि किसिमको उपभोग्य सामग्री प्रकाशन गरिरहेको हुनुपर्ने छ ।
तर एडसेन्सका लागि उपयुक्त इन्टरनेटमा कुनै पनि सामग्री उत्पादन गर्नुअघि केही कुरामा विशेष ख्याल राख्नुपर्नेछ । जस्तै तपाईंले उत्पादन गर्ने सामग्री नयाँ र पृथक हुनुपर्ने हुन्छ र त्यसलाई आफैले तयार गरेको हुनुपर्ने हुन्छ ।
त्यसमा अरुको कपी गरेको हुनुहुँदैन । यदि तपाईंले कतैबाट कपी गर्नुभएको छ र त्यो पृथक छैन भने गुगल एडले तपाईंको सामग्रीलाई अप्रुभ नगर्न सक्छ । यस्ता नियम र शर्त पालना गरेको खण्डमा तपाईंको गुगल एडसेन्स अप्लाईलाई गुगलले अप्रुभ गर्ने बलियो सम्भावना हुन्छ ।
यदि तपाईं गुगल एडसेन्सबाट स्वीकृत प्राप्त प्रकाशक हुनुहुन्छ र पैसा कमाइरहनु भएको छ भने स्पासको प्रयोग गरेर धेरै पैसा कमाउन लोभ नगर्नुहोस् । यस्तो गरेको खण्डमा तपाईंको अकाउन्ट नै प्रतिबन्धित हुनसक्छ ।
एडसेन्सबाट रातारात पैसा कमाउन सकिन्छ भन्ने सपना भ्रम मात्र हो । यसका लागि तपाईंले भिजिटरमैत्री सामग्री बनाएर लगातार सामग्री प्रकाशन गरिरहनु पर्ने हुन्छ । उच्च गुणस्तरको राम्रा सामग्रीहरु लगातार प्रकाशन भइरहेको खण्डमा तपाईंले एडसेन्सबाट पैसा कमाउन सक्नुहुन्छ ।
जब तपाईं एडसेन्समा अप्रुभलका लागि आफ्नो साइट सब्मिट गर्नुहुन्छ, तब उनीहरुको एउटा मापदण्ड हुन्छ । यदि तपाईंको वेबसाइटले ती सर्तलाई पुरा गर्छ भने मात्र तपाईंले अप्रुभल पाउनुहुन्छ । ती शर्तमध्ये एउटा सर्त भनेको भाषा सपोर्टको हो ।
आफ्नो साइटमा सामग्री प्रकाशन गर्दा तपाईंले जुनै भाषामा पनि लेख्न सक्नुहुन्छ । तर गुगल एडसेन्सले सीमित र निश्चित भाषालाई मात्र सपोर्ट गर्दछ । उसले सपोर्ट गर्नेभन्दा बाहिरका भाषालाई गुगल एडसेन्सले अप्रुभल दिँदैन ।
अहिले नेपाली भाषामा पनि यस्तै समस्या छ । गुगल एडसेन्सले नेपाली भाषालाई सपोर्ट गर्दैन । यसकारण नेपाली भाषामा लेखिएका वेबसाइट तथा ब्लगसाइटहरु एडसेन्सबाट अप्रुभ हुन सक्दैनन् ।
गुगलले आफ्नो साइट मार्फत आफूले सपोर्ट गर्ने भाषाको बारेमा उल्लेख गरेको छ । अहिलेको समयमा गुगलले विभिन्न ५० भाषालाई सपोर्ट गर्दछ ।
नेपाली भाषालाई एडसेन्सले सपोर्ट नगर्नुको पछाडि गुगलले नेपाली भाषालाई पहिचान नगर्नु र यहाँको अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुनु नै प्रमुख कारण रहेको गुगल क्राउडसोर्सिङ कम्युनिटीका एक प्रमुख योगदानकर्ता तथा टेक ब्लगर निरज भुसाल बताउँछन्।
‘सबैभन्दा पहिले त गुगलले हाम्रो भाषा शतप्रतिशत इफिसियन्ट भनेर मान्नुपर्छ । हाम्रो भाषालाई बुझ्ने सिस्टम गुगलमा बनिसकेको छैन,’ निरज भन्छन् ।
त्यसो त नेपाली भाषालाई गुगलमैत्री बनाउन र यसलाई ग्लोबल एक्सपोजर प्रदान गर्न निरज जस्ता युवाहरुले गुगल क्राउडसोर्सिङ कम्युनिटी मार्फत योगदान दिइरहेका छन् ।
तर नेपाली भाषालाई गुगल एडसेन्समैत्री बनाउन यो मात्र पर्याप्त नहुने उनको भनाइ छ । गुगलले नेपाललाई पनि आफ्नो मार्केटको रुपमा पहिचान गर्नुपर्ने उनी बताउँछन् ।
त्यसो त नेपालका कति धेरै कम्पनी तथा व्यवसायिक गृहहरुले गुगल एडमार्फत आफ्नो सेवाको विज्ञापन गर्छन् । यति हुँदाहुँदै पनि गुगलले नेपाललाई किन आफ्नो मार्केटको रुपमा पहिचान नगर्न नसकेको भन्ने प्रश्नमा यसको मूल कारण अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अभाव नै मुख्य भएको निरज बताउँछन् ।
‘गुगल एडमा नेपालबाट धेरै खर्च हुन्छ । तर यहाँ अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको समस्याका कारण सबैले आफन्त नाता गोताको कार्ड प्रयोग गरेर विदेशबाट भुक्तानी गर्छन् । विदेशी कम्पनीको कार्ड प्रयोग हुँदा त्यो विज्ञापन नेपाल आधारित हो भनेर गुगलले पहिचान गर्न सक्दैन ।
जबसम्म हाम्रै नेपाली बजारबाट नेपालीले खर्च गरेर गुगलमा एड पठाइरहेको छ भन्ने कुरा गुगलले थाहा पाउँदैन, तबसम्म गुगलले नेपाललाई आफ्नो बजारको रुपमा पहिचान गर्न सक्दैन । यसैले गुगलले नेपालबाटै पैसा काट्न पाउनुपर्ने व्यवस्था बन्नुपर्छ,’ निरज भन्छन् ।
यिनै समस्याले हाम्रा अक्षर आधारित नेपाली वेबसाइट र ब्लगिङ साइटहरु कहिल्यै पनि मनिटाइज हुन सकेका छैनन् । विभिन्न लोकप्रिय र धेरै पाठक भएका न्युज पोर्टलहरु पनि कि त अंग्रेजी संस्करण प्रयोग गर्न बाध्य छन् ।
तर भाषा जुनसुकै भए पनि युट्युबलाई भने मनिटाइज हुन भाषाको अवरोध छैन । भिडियोमा सबै किसिमका टार्गेट अडियन्स हुने भएका कारण भिडियो सामग्रीमा त्यस्तो हुँदैन ।
तर अक्षर आधारित सामग्रीमा हामीले कुन किसिमको कीवर्ड राखेका हुन्छौं, त्यही किसिमको विज्ञापन आउने हुँदा गुगलले हाम्रो अक्षर, शब्द नबुझेर एडसेन्समा अप्रुभ हुँदैँन ।