close

सौराहाका हरेक पसलमा अब क्यूआर भुक्तानीको सुविधा

टेकपाना टेकपाना

चैत ८, २०७७ ११:२९

सौराहाका हरेक पसलमा अब क्यूआर भुक्तानीको सुविधा

चितवन । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शनिबार सौराहामा भएकाे एक कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले क्यूआर भुक्तानी सेवाकाे उद्घाटन गरे । योसँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने छ ।

क्युआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए ।

कार्डलगायतका भुक्तानीले वर्षेनि अर्बौं रुपैयाँ विदेशीने गरेको बताउँदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफूहरुले प्राथमिकतामा राखेको बताए ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि वृद्धि हुने बताए । उनले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कुमारी बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

फाेनपे नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१