आज हामी सामसङ ग्यालेक्सी ए १२ को रिभ्यू गर्दै छौं । १८ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध यो फोन सामसङको पछिल्लो इन्ट्री लेभलको स्मार्टफोन हो ।
यो मूल्य चाहिँ चार जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको हो । तपाईंले चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्ट भने १९ हजार ९९९ रुपैयाँमा पाउन सक्नुहुन्छ ।
सुरुमा फोनको डिजाइनको कुरा गरौं । यसको बडी चाहिँ ग्लास र प्लास्टिक दुवैले बनेको छ । अगाडि प्यानल ग्लासबाट बनाइएको हो भने पछाडि फ्रेममा चाहिँ प्लास्टिक प्रयोग गरिएको छ ।
तर प्लास्टिकबाट बनेको भए पनि फोन हेर्दा चाहिँ एकदमै प्रिमियम किसिमको देखिन्छ । यसको तौलको कुरा गर्ने हो भने हलुका नै छ । २०५ ग्रामको यो फोन एउटै हातले चलाउँदा समेत त्यस्तो असहज महसुस हुँदैन ।
यसको पछाडि भागको डिजाइन हेर्दा माथिल्लो भागमा रग्ड टेक्सचर डिजाइन छ भने तल्लो भाग चाहिँ सपाट किसिमको सफा देखिन्छ । टेक्स्चर डिजाइनले गर्दा फोनको ग्रिप एकदमै राम्रो छ ।
अनि यसमा फिंगरप्रिन्ट, स्मजेज, स्क्य्राच आदि बस्दैन । यसको क्यामेरा मोड्युलको ठीक तल एलईडी फ्ल्याश राखिएको छ ।
यो फोन तपाईंले तीन वटा कलर भेरियन्टमा पाउन सक्नुहुन्छ । जसमा कालो, निलो र सेतो कलर रहेका छन् ।
मसँग भएको चाहिँ कालो रंगको छ । अब यसको पोर्टको कुरा गरौं ।
फोनको दायाँ भागमा भोलुम रकर र पावर बटन छ । अनि यसको पावर बटनमा नै फिंगरप्रिन्ट सेन्सर राखिएको छ । जुन एकदमै रेस्पोन्सिभ र फास्ट छ ।
फिंगरप्रिन्ट अनलक गर्नको लागि तपाईंले बटन प्रेस गर्नु पनि पर्दैन । हलुका टचबाट नै फोन अनलक हुन्छ ।
त्यस्तै फोनको बायाँ तर्फ सिमकार्ड ट्रे स्लट छ । एउटा राम्रो कुरा भनेको यो फोनमा एक्स्ट्रा एसडी कार्ड स्लट पनि दिइएको छ ।
जसले गर्दा पछि स्टोरेज कम भइहाल्यो भने पनि हामीसँग स्टोरेज बढाउने विकल्प हुन्छ । त्यस्तै, फोनको तल्लो भागमा हेर्ने हो भने यसमा तपाईंले ३.५ एमएमको हेडफोन ज्याक, एउटा माइक्रोफोन, यूएसबी टाइप सी चार्जिङ पोर्ट र स्पिकर देख्न सक्नुहुन्छ ।
यसैगरी फोनको माथिल्लो भागमा हेर्ने हो भने तपाईंले यसमा एउटा न्वाइज क्यान्सिलेसन माइक्रोफोन देख्न सक्नुहुन्छ । समग्रमा डिजाइनको हिसाबले फोनको लुक मलाई एकदमै मन पर्यो ।
बजेट फोन भए पनि यसको लुक केही हदसम्म प्रिमियम महसुस गराउने किसिमकै छ । फोनको अगाडि प्यानल हेर्ने हो भने यसमा वाटरड्रप नच डिस्प्ले दिइएको छ ।
भिडिओ रिभ्यू
फोनमा ७२० बाई १६०० पिक्सेल रेजोलुसन भएको ६.५ इन्चको पीएलएस एलसीडी डिस्प्ले छ । मलाई चाहिँ फुल एचडी प्लस रेजोलुसन नहुनु चाहिँ यसको एउटा महत्वपूर्ण कमजोर पक्ष हो भन्ने लाग्छ ।
तर भिडिओ हेर्नको लागि र अन्य सबै प्रयोगको लागि डिस्प्ले एकदमै शार्प छ अनि कलर पनि राम्रो छ । फोनको ब्राइटनेस पनि ठीकै छ ।
तपाईंले यसमा ३५० निट्सको ब्राइटनेस पाउन सक्नुहुन्छ । त्यस्तै फोनमा २०ः९ को आस्पेक्ट रेसियो छ भने २७० पीपीआईको पिक्सेल डेन्सिटी छ ।
यसका साथै फोनमा वाइडनिभ एल वानको सपोर्ट पनि छ । जसले गर्दा तपाईंले अमेजन, नेटफ्लिक्स जस्ता ओटीटी प्लेटफर्ममा फुल रेजोलुसनमा भिडिओ हेर्न पाउनुहुन्छ ।
अब कुरा गरौं फोनको पर्फर्मेन्सको । सामसङ ग्यालेक्सी ए १२ मा मिडियाटेक हेलियो पी ३५ को चिपसेट प्रयोग गरिएको छ । हुन त यो एउटा बजेट फोन हो ।
त्यसैले हामले यसबाट त्यस्तो गज्जबको पर्फर्मेन्स अपेक्षा गर्न सक्दैनौं । तैपनि पर्फर्मेन्सको कुरा गर्ने हो भने यही प्राइस रेञ्जमा बजारमा अरु राम्रा विकल्पहरु छन् ।
हरेक आधारभूत प्रयोगको लागि, लाइटवेट गेमको लागि पर्फर्मेन्स ठीकै छ । तर मल्टीटास्किङ वा हेभी गेमिङको लागि चाहिँ पर्फर्मेन्स त्यति राम्रो छैन ।
चार जीबी र्याम भए पनि फोन अलि स्लगिश महसुस हुन्छ । एपहरु लोड हुन टाइम लाग्छ । समग्रमा यो फोनको पर्फर्मेन्स मलाई ठीकै मात्र लाग्यो ।
सफ्टवेयरको कुरा गर्ने हो भने सामसङ ग्यालेक्सी ए १२ एन्ड्रोइड टेनमा आधारित सामसङको आफ्नै वन यूआई २.५ मा रन हुन्छ । यसको युजर इन्टरफेस भने एकदमै सफा किसिमको छ ।
तपाईं पहिलेदेखि नै सामसङको प्रयोगकर्ता हो भने तपाईंलाई यसको युजर इन्टरफेस सजिलो लाग्ने भइहाल्यो । तर तपाईं सामसङ प्रयोगकर्ता होइन भने पनि तपाईंलाई यसको इन्टरफेस सजिलै लाग्छ ।
फोनको क्यामेरा पर्फर्मेन्सको कुरा गर्दा सामसङ ग्यालेक्सी ए १२ मा पछाडि भागमा चार वटा क्यामेरा दिइएका छन् । यसमा २.५ अपार्चर युक्त ४८ मेगापिक्सेलको मेन क्यामेरा, एफ/२.२ अपार्चर भएको ५ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर, एफ/२.४ अपार्चरयुक्त २ मेगापिक्सेलको म्याक्रो सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ ।
धेरै क्यामेरा हुँदा फोटो तथा भिडिओ क्वालिटी राम्रो हुन्छ भन्ने त हुँदैन । तर बजेट फोनको हिसाबले यसको क्यामेरा क्वालिटी नराम्रो छैन । यसको डाइनामिक रेञ्ज औषत किसिमको छ ।
उज्यालो प्रकाश भएको स्थानमा फोटो राम्रो आउँछ । तर कम प्रकाशमा चाहिँ यसको पर्फरमेन्स अलिक कमजोर हुन्छ । पर्याप्त प्रकाश नहुँदा तस्वीरहरु ब्लर आउने, न्वाइजी आउने हुन्छ ।
मलाई चाहिँ फोनमा डेडिकेटेड नाइट मोड भए चाहिँ राम्रो हुनेथियो जस्तो लाग्छ । उज्यालोमा चाहिँ फेरी फोटोको डिटेलिङ पनि एकदमै शार्प र क्लियर आउँछ ।
फोनमा टेलीफोटो लेन्स नभए पनि यसले १० गुणा जुम सपोर्ट गर्छ । तर जुम गरिएको तस्वीरहरु भने अलिक पिक्सेलेटेड आउँछ ।
सेल्फीको लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जसको अपार्चर एफ २.२ रहेको छ । सेल्फी भिडिओ वा भिडिओ कलको लागि यसको क्यामेरा डिसेन्ट नै छ ।
तपाईंले यो फोनमा ३० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ लिन सक्नुहुन्छ । यसमा भिडिओ चाहिँ अलिक शेकी आउँछ ।
किन कि यसमा स्टेबलाइजेसन सपोर्ट दिइएको छैन । समग्रमा हेर्दा यो फोनको क्यामेरा पर्फर्मेन्स औषत नै छ ।
अब कुरा गरौं फोनको ब्याट्री लाइफको, जुन यो फोनको एउटा सबैभन्दा राम्रो फिचर हो । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
जुन सामान्य प्रयोगको लागि एक देखि दुई दिनसम्म आरामले चल्छ । तपाईंले दिनभर फोन चलाउनु भयो भने पनि सिंगल चार्जमा मज्जाले चल्छ ।
एउटा कमजोर पक्ष भनेको चाहिँ फोन किन्दा तपाईंले १५ वाटको चार्जर पाउनुहुन्छ । भन्न त सामसङले यसलाई फास्ट चार्जर भनेको छ ।
तर यसले फास्ट चार्ज चाहिँ गर्दैन । ब्याट्री फुल चार्ज हुन लगभग २ घण्टा लाग्छ । तर दुई घण्टा चार्ज गर्दा २ दिनसम्म टिक्छ भने यो राम्रो कुरा हो ।
समग्रमा हेर्दा सामसङ ग्यालेक्सी ए १२ एउटा औषत फोन हो । व्यक्तिगत रुपमा मलाई यसको डिजाइन र ब्याट्री एकदमै मनपर्यो ।
डिस्प्ले र क्यामेरा औषत लाग्यो अनि पर्फर्मेन्स चाहिँ अलिक चित्त बुझेन । हेभी गेमहरु खेल्न, मल्टीटास्किङ गर्नका लागिय यो फोन त्यति राम्रो विकल्प होइन ।
तर तपाईं दैनिक प्रयोगको लागि र आधारभूत कामको लागि फोन खोज्दै हुनुहुन्छ भने सामसङ ग्यालेक्सी ए १२ एउटा राम्रो अप्सन हो । सामाजिक सञ्जाल प्रयोग गर्न, युट्युव हेर्न, ह्वाट्सएप, भाइबर आदि चलाउने जस्ता आधारभूत कामका लागि यो पर्याप्त छ ।