काठमाडौं । प्रविधिको गति यति रफ्तारमा बढिरहेको छ कि हरेक दिन हामीले नयाँ आविष्कारका समाचार पढिरहेका हुन्छौं । तर इतिहास फर्केर हेर्दा सबै प्रविधि सफल भएका उदाहरण छैनन् ।
महत्वकांक्षी योजनाका साथ बजारमा सार्वजनिक भएका उत्पादन वा सेवाले पनि केही समयमा हात धुनुपरेको छ । विश्वबजारमा अधिक चर्चामा रहेर पनि धेरै प्रविधि फ्लप बन्न पुगे ।
पछिल्लाे दशकमा आविष्कार भएका केही यस्ता ग्याजेट्स तथा प्रविधि छन्, जसको अन्त्य पनि यही दशकमै भयो । सार्वजनिक हुनुअघि निकै चर्चामा रहे पनि बजारले त्यस्ता ग्याजेट्स र प्रविधिलाई भने रुचाएन । त्यस्ता केही चर्चित तर ‘फ्लप’ ५ प्रडक्टको चर्चा यहाँ गरेका छाैं ।
गुगल प्लस
सर्च इन्जिन गुगलमा नभएको सायदै केही होला । गुगलका प्रडक्टसँग नजोडिने ग्याजेट्स प्रयोगकर्ता पनि सायदै होलान् ।
तर, गुगलकै एउटा यस्तो उत्पादन जसले यसका अर्बौ प्रयोगकर्ताको ध्यान खिच्न सकेन – जुन हो गुगल प्लस । फेसबुकलाई चुनौती दिने उद्देश्यसहित सार्वजनिक गरिएको गुगल प्लस सुरक्षामा अत्यधिक प्रश्न उठेपछि सन् २०१८ मै बन्द हुनपुग्यो ।
ब्ल्याकबेरी
आईफोनले नेपालमा चर्चा पाउनुअघि नै ब्ल्याकबेरी एउटा शान थियो । स्मार्टफोनको दबदबाबीच पनि यो कीबोर्ड फोन आफ्नै अपरेटिङ सिस्टमबाट प्रतिस्पर्धीलाई चुनौती दिँदै थियो ।
तर स्क्रीन टच डिस्प्लेसँग ब्ल्याकबेरी भिड्न सकेन । अन्त्यमा, आफ्नो ब्ल्याकबेरी मोबाइलको लाइसेन्स टीसीएललाई एन्ड्रोइड फोन निर्माण गर्न पाउनेगरी बेच्नुपर्यो । यसरी ब्ल्याकबेरीको इतिहास मेटियो ।
विन्डोज फोन
कम्प्युटर सफ्टवेयर सिस्टम विन्डोजलाई पनि मोबाइल बजारमा भित्रने रहर लाग्यो । आफ्नै अपरेटिङ सिस्टमसहित बजारमा विन्डोज फोन पनि आयो । तर आईओएस र एन्ड्रोइडको दबदबामा विन्डोज फोन पनि टिक्न सकेन ।
गुगल ग्लास
वेयरेबल डिभाइसको बारेमा दुनियाँले नसोच्दै गुगलले एउटा नयाँ डिभाइस ल्यायो २०१४ मा । कृत्रिम वास्तविकताको अनुभव दिलाउने गरी गुगल ग्लासको बजारीकरण भयो ।
तर दुर्भाग्य, बजार तयार नहुँदै आविस्कार भएको गुगल ग्लास रुचाइएन । यसको डिजाइनमा पनि सकारात्मक प्रतिक्रिया पाएन गुगलले । सायद अबका दिनमा यो फेरि आउला कि ?
फेसबुक फोन
फेसबुकको लोकप्रियता मोबाइल निर्माण कम्पनीका लागि पनि लोभलाग्दो थियो । एचटीसीले यो राम्रोसँग बुझेको थियो । अनि ल्यायो फेसबुक होमको इन्टरफेस सहितको एचटीसी फर्स्ट । यसको हल्ला फेसबुक फोनको रुपमा भयो । तर बजारले हल्ला पत्याएन र फ्लप बन्न पुग्याे ।