काठमाडौं । यदि तपाईं नयाँ मोबाइल खरिद गर्ने योजनामा हुनुहुन्छ भने, त्यो भारतमा बनेको हो कि होइन ख्याल गर्नुहोस् । किन भने भारतमा बनेका मोबाइलमा नेपाल टेलिकमको फोरजी चल्दैन ।
त्यसैले त नेपाल टेलिकमले भारतमा बनेका स्मार्टफोन खरिद नगर्न आग्रह समेत गरेको छ । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज र ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ ।
हाल प्रयोगमा रहेका अधिकांश स्मार्टफोनमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आधारित फोरजी सहजै चल्छ । तर ८०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्न सकिने मोबाइल भने सीमित छन् ।
लामो दूरीसम्म नेटवर्क कभरेज हुने भएकाले टेलिकमले ग्रामीण र दुर्गम क्षेत्रमा यही ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । तर भारतमा बन्ने मोबाइलहरुमा भने ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आधारित फोरजी सेवा चल्दैन ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार भारतमा फोरजीका लागि ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड प्रयोग हुँदैन । त्यसैले भारतमा बन्ने मोबाइल सेटमा ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी सपोर्ट हुँदैन ।
तर भारत बाहेक चीन, भियतनाम वा अन्य देशमा बन्ने मोबाइल सेटमा भने यस किसिमको सीमितता नरहेको अधिकारीको भनाई छ । त्यसैले नयाँ मोबाइल खरिद गर्दा विचार पुर्याउनुपर्ने सबैभन्दा सजिलो उपाय भनेको भारतमा बनेको (मेड इन इन्डिया) लेखिएका स्मार्टफोन खरिद नगर्नु नै बुद्धिमानी हुन्छ ।
यस बाहेक तपाईंले कुनै निश्चित सेटमा ८०० मेगाहर्ज ब्याण्डको सपोर्ट रहे नरहेको चेक गर्न पनि सक्नुहुन्छ । नयाँ मोबाइल किन्दा बक्समा समेत यस्तो विवरण उल्लेख गरिएको हुन्छ ।
अर्को उपाय भनेको सम्बन्धित मोबाइलमा *#06# डायल गरेर आईएमईआई नम्बर पत्ता लगाउनुहोस् । अब यहाँ क्लिक गर्नुहोस् र उक्त आईएमई नम्बर राखेर सर्च गर्नुहोस् । अब त्यहाँ उक्त मोबाइलले कुन कुन ब्याण्डको फोरजी फ्रिक्वेन्सी सपोर्ट गर्छ भनेर थाहा पाउन सक्नुहुन्छ ।