काठमाडौं । कोभिड–१९ महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा प्रभावित बनेको छ । सरकारले गरेको लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण अघिल्लो सत्रमा लामो समय विद्यालय बन्द भए । अब फेरी पनि कोभिडको त्रास फैलिरहेको छ । यस्तोमा पून: विद्यालय बन्द नहोला भन्न सकिदैन ।
त्यसैलाई मध्यनजर गर्दै एस्ट्रिक टेक्नोलोजीले डिजिटल ई–लर्निङ प्ल्याटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ । विद्यार्थीहरुको पढाइमा असर नपरोस् भनेर अधिकांश विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेता पनि त्यसको राम्रो प्रभाव नहुँदा अभिभावक एक्स्ट्रा क्लास, ट्यूसन तथा कोचिङ्ग शिक्षकहरुको खोजीमा लाग्न थालेका छन् ।
यही समयमा एस्ट्रिक टेक्नोलोजीले ‘मेरो स्कुल’ सार्वजनिक गरेको हो । कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
पढाईको नयाँ फण्डा स्लोगनसहित सार्वजनिक भएको यो प्ल्याटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीको पढाइमा सहयोग गर्नेछ ।
‘अहिलेको युग प्रविधिको युग हो’, कम्पनीका प्रतिनिधि भन्छन्, ‘यस्तो विषम परिस्थितिमा यही प्रविधिको प्रयोग गरी विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो ।’
कोरोना संक्रमणको जोखिम लकडाउनका कारण छुटेको पढाइ र राम्रो कोचिङ वा ट्यूसन शिक्षकको कमी, यी तीनवटै समस्याको एकै समाधानको रुपमा मेरोस्कूल आएको हो ।
के हो मेरो स्कूल ?
मेरोस्कुल डिजिटल इ–लर्निङ्ग प्ल्याटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियो उपलब्ध छन् । यसका साथै एपमा पुराना प्रश्नपत्रहरुको हल गरिएका भिडियो समेत उपलब्ध छ ।
यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका छन् ।
एपमा शैक्षिक पाठ्यक्रमका साथै डिजाइनिङ कोर्स, ल्याङ्वेज कोर्स लगायतका कोर्स पनि उपलब्ध छन् । कम्पनीले यो प्ल्याटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क उपलब्ध गराएको छ ।