close

बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी अब खल्तीबाटै

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १८:३०

बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी अब खल्तीबाटै

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरमै बसी तिर्न सकिने भएको छ । बीपीसीले स्याङ्जाको वालिङ, गल्याङ, रामपुर र झिमरूक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ ।

बीपीसीका कर्पोरेट विभाग प्रमुख टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस विषयमा सम्झौता भएको हो । योसँगै अब बीपीसीको भुक्तानीका लागि खल्ती एपको होम पेजको ‘युटिलिटी पेमेन्ट’ मा ‘कम्युनिटी बेस्ड इलेक्ट्रिसिटी’ सेक्सन थपिएको छ ।

जसभित्र ‘बीपीसी’ लेखिएको ठाउँमा क्लिक गरी बुटवल पावर कम्पनीको बिल तिर्ने काउन्टर, ग्राहक परिचय नम्बर र ग्राहक नम्बर हालेपछि बिल भुक्तानी गर्न सकिने छ ।

उक्त रकम ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट तिर्न सक्नेछन् । ग्राहकले विद्युत प्रयोग गरेको महसुल अग्रिम र ढिला दुवै भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ । अनलाइनमा ग्राहकको बिल भुक्तानी गर्न बाँकी भएको तीन महिनासम्मको बिल हेर्न सकिन्छ ।

‘अब बिजुलीको बिल भुक्तानी गर्न पैदल हिँडी वा गाडी चढ्नुपर्ने समस्याबाट बिपिसीका सेवाग्राहीहरु मुक्त हुनेछन्,’ भूर्तेल भन्छन, ‘नेपालको सुगम तथा दुर्गम दुवै क्षेत्रलाई ओगट्ने गरी बीपीसीको सबै क्षेत्रका प्रयोगकर्ताले घरै बसी अनलाइन भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि ठूलो उपलब्धि हो ।’

खल्तीका अनुसार चार क्षेत्रमध्ये पहिलो चरणमा वालिङ, गल्याङ र रामपुरको भुक्तानी सुरु भइसकेको छ भने झिमरूकको दोस्रो चरणमा सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१