close

स्मार्टफोन नहुनेलाई प्रभु पेको बारफोन फिचर, यसरी बारफोनबाटै गर्नुहोस् कारोबार

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १३:२

स्मार्टफोन नहुनेलाई प्रभु पेको बारफोन फिचर, यसरी बारफोनबाटै गर्नुहोस् कारोबार

काठमाडौं । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकाससँग सबैभन्दा नजिक रहेर अगाडि बढिरहेको एउटा फिनटेक पनि हो । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय नेपालको मोबाइल वालेट कम्पनीलाई दिँदा कुनै फरक नपर्ला । याेसँगै बैंकको पनि यसमा ठूलो योगदान रहेको छ ।

फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ क्षेत्रले खेलेको भूमिका निश्चय नै सराहनीय छ । तर, यो हामीले बिर्सिनुहुन्न कि, मोबाइलबाट कारोबार गर्नेभन्दा हामीले सम्झिने मोबाइल बालेट नै हुन् । जसले नेपालको डिजिटल कारोबारलाई नयाँ आयाम दिएका छन् ।

विभिन्न कम्पनीबीचको प्रतिस्पर्धाले यो बजारलाई अझ मजबुद बनाएको छ । कम्पनीहरु आफ्नो सेवलाई अझ बढी प्रभावकारी बनाउन प्रविधि र प्रयोगमा निकै नै काम गरिरहेका छन् । जसको प्रतिफल प्रभु पेले हालै ल्याएको ‘बारफोन’ कारोबार एउटा उदाहरण हो ।

याे नयाँ याेजनामार्फत प्रभु पेले बजारमा आफूलाई फरक रुपमा उभ्याएको छ । आफूसँग सँगसँगै यात्रा गर्ने प्रयोगकर्तालाई नयाँपन दिने र डिजिटल बैंकिङ कारोबारबाट बाहिर रहेका मानिसलाई जोड्ने योजनाका साथ यसको सुरुवात गरिएको कम्पनीका बजार व्यवस्थापक सन्तोष गुरुङ बताउँछन् ।

भन्छन, ‘हामीले स्मार्टफोन नबोक्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवाको सुरुवात गरेको हौं ।’ प्रभु पेको यो योजना सान्दर्भिक पनि छ । किनभने अझै पनि नेपालका ग्रामीण भेगमा बारफोन बोक्नेको संख्या ठूलो छ ।

यस्तो अवस्थामा बारफोन प्रयोगकर्तालाई पछिल्लो समय विकास भइरहेको डिजिटल कारोबारमा जोड्नु उत्तिकै महत्वपुर्ण हुनेछ । उनीहरुलाई पनि डिजिटल कारोबारमा जोड्ने यही उद्देश्यका साथ प्रभु पेले ‘बारफोन कारोबार’ को सुरुवात गरेको हो ।

‘हामी चाहन्छौ मान्छेले डिजिटल कारोबार गर्नका लागि स्मार्टफोन छैन, तर मोबाइल वालेट प्रयोग गर्नुपर्ने छ भनी भन्ने दिन नआओस्,’ गुरुङ भन्छन, ‘प्रभु पेले स्मार्टफोन नहुने त्यस्तै प्रयोगकर्तालाई लक्षित गर्दै बारफोनमा आधारित मोबाइल वालेट सेवाको सुरुवात गरेको हो ।

यसमार्फत बारफोन प्रयोग गरेर मोबाइल रिचार्ज गर्ने, इन्टरनेट, बिजुली, टेलिफोनको बिल तिर्ने लगायत काम गर्न सकिन्छ । त्यतिमात्रै नभएर रेमिट्यान्स प्राप्त गर्न र पठाउनसमेत सकिने छ । त्यसका लागि कुनै एपको आवश्यक पर्नेछैन ।

कम्पनीले यसको सुरुवात कोरोनाको कारण गत वर्ष सरकारले लागू गरेको लकडाउनको समयबाट गरेको थियो । कोरोनाका कारण लकडाउनको परिस्थितिमा बाहिर जान नपाएको समयमा सबैलाई बैंकिङ पहुँच पुर्‍याउने उदेश्यका साथ यो सेवा सुरुवात भएको छ । जुन अब सँधैका लागि सान्दर्भिक हुने भएको छ ।

यसरी सुचारु गर्नुहोस् सेवा

यो सेवा प्रयोग गर्न प्रयोगकर्तासँग एनसेलको सिमकार्ड भने अनिवार्य छ । कम्पनीका अनुसार हाल यो सेवा एनसेलको सिममामात्रै उपलब्ध रहेको छ ।

यदि तपाईंसँग एनसेलको सिमकार्ड छ र बारफोनबाट कारोबार गर्न चाहनुहुन्छ भने त्यसका लागि सुरुमा प्रयोगकर्ताले म्यासेज बक्समा ‘rg’ लेखी त्योसँगै आफूले राख्ने ४ अंकको ‘MPIN’ (उदाहरणको लागि १२३४) लेखि ३१०४१ मा पठाउनुपर्ने हुन्छ ।

त्यसो गरेसँगै तपाईंको मोबाइल नम्बर प्रभु पेमा दर्ता हुनेछ । जसको जानकारी तपाईंलाई म्यासेजमार्फत प्राप्त हुनेछ । सिम दर्ता भएसँगै सुरुमा तपाईंले आफूले कारोबार गर्दा प्रयोग गर्ने पिन सेटअप गर्नुपर्ने हुन्छ ।

त्यसका लागि तपाईंले ‘PNMPIN’ टाइप गरी पुनः ३१०४१ मा म्यासेज पठाउनुपर्ने हुन्छ । त्यसरी म्यासेज गर्दा त्यहाँ तपाईंलाई आफूलाई सहज हुने पीन सेटअपको लागि विकल्प दिनेछ ।

यसरी तपाईंले एमपीन सेटअप गरेसँगै तपाईंले अब कारोबार गर्न सक्नुहुनेछ ।

कुन कुन सेवा उपलब्ध छ, कसरी हेर्ने ?

प्रयोगकर्ताले बारफोनबाट सम्भव हुने सेवाहरु कुन कुन छन भनी सहजै हर्ने सक्नेछन् । त्यसका लागि प्रयोगकर्ताले *८३१०४१*MPIN# टाइप गरी डायल गर्नुपर्छ ।

त्यसरी डायल गर्दा त्यहाँ विभिन्न विकल्प देखाउने छ । त्यसमध्ये आफूले कुन सेवा उपभोग गर्न लागिएको हो । उक्त सेवा प्रयोग गर्न सक्नुहुनेछ ।

सेवा छनोटका लागि कुन विकल्प आफूले प्रयोग गर्न खोजको हो उक्त विकल्पको नम्बर टाइप गरी सेवा लिन सकिन्छ ।

कम्पनीका अनुसार यसबाट मोबाइलको रिचार्ज, बिजुली, इन्टरनेट, टेलिफोनको बिल भुक्तानी गर्नका साथै रेमिट्यान्स पठाउन र प्राप्त गर्न, भोटिङ गर्न सकिने छ । त्यसरी कारोबार गर्दा हुने पठाइएको म्यासेजको कुनै शुल्क लाग्ने छैन ।

वालेटमा कती पैसा बाँकी छ ?

तपाईंले वालेटमा अर्काे वालेटबाट पैसा पठाएर, प्रभु पेका विभिन्न ठाउँमा उपलब्ध एजेन्ट तथा नेटवर्क, विभिन्न ठाउँमा उपलब्ध रहेका किओएस मेसिनबाट तपाईंले पैसा लोड गर्न सक्नुहुनेछ ।

यसरी लोड गरेको पैसा आफ्नो बालेटमा कति बाँकी छ भनेर स्मार्टफोनमा त सहजै हेर्न सकिन्छ । तर, बारफोनमा कसरी हेर्ने भन्ने पनि हुनसक्छ । त्यसका लागि पनि प्रभु पेले सहज तरिका उपलब्ध गराएको छ ।

बारफोनबाट कारबोबार गर्ने प्रयोगकर्ताले ‘BLMPIN’ टाइप गरी ३१०४१ मा म्यासेज पठाउनु पर्नेछ । यति गरेसँगै तपाईंको मोबाइल तपाईंको बालेटमा उपलब्ध पैसाको जानकारी म्यासेजमा उपलब्ध हुनेछ ।

आफूले गरेको कारोबार कसरी हेर्ने ?

स्मार्टफोनमा उपलब्ध हुने वालेटमा हामीले ‘स्टेटमेन्ट’ को छुट्टै सेक्सन भेट्छौं । जहाँबाट हामीले हाम्रो कारोबारको जानकारी लिन सकिन्छ । यो फिचर स्मार्टफोनमा निकै नै लोकप्रिय भएकाले पनि कम्पनीले बारफोन प्रयोगकर्तालाई पनि यो फिचर उपलब्ध गराएको छ ।

बारफोन प्रयोगकर्ताले पनि ‘STMPIN’ टाइप गरी ३१०४१ मा म्यासेज पठाएर आफूले गरेका पछिल्ला तीन कारोबारको जानकारी लिन सक्नेछन् ।

यसरी तपाईंले बारफोनबाटै अनलाइन कारोबार गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१