close

‘कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार गरौं’

टेकपाना टेकपाना

जेठ १, २०७८ १०:२३

‘कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार गरौं’

काठमाडौं । कोभिड-१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा बढीभन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् ।

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएकाे छ ।

निषेधाज्ञाको समयमा आर्थिक कारोबार घरबाटै गर्न/गराउन नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ लगायतले आग्रह गरिरहेका छन् ।

कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि उनीहरूले डिजिटल बैंकिङका सेवाबाटै हुने कामका लागि बैंकमा नआउन आग्रह गरेका छन् ।

यसका लागि गत बिहीबार एक सूचना जारी गर्दै बैंकसर्स संघले अब बैंकबाट खातामा रहेकाे रकम निकाल्न, ५० हजारभन्दा माथिकाे रकम मात्र डिपाेजिट गर्न, रकम स्थानान्तरण (चेक/आईपीएस/आरटीजीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित सेवा मात्रै लिन सकिने जानकारी दिएकाे छ ।

सकेसम्म डिजिटल बैंकिङ र भुक्तानी सेवाकाे प्रयाेगमा जाेड दिन सके काेभिड १९ बाट सुरक्षित हुन सकिने विश्वास सराेकारवालाकाे छ ।

मानिसहरू घरमै रहेका कारण माेबाइल बैंकिङ, वालेटलगायत डिजिटल प्लेटफर्मकाे प्रयाेग बढ्न थालेकाे छ ।

नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत चैतमा मात्रै वालेटबाट ११ अर्ब दुई करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

यसका लागि प्रयोगकर्ताले एक करोड १४ लाख ६५ हजार २५७ पटक वालेट प्रयोग गरेका छन् । जब कि यस अघि सबैभन्दा बढी १० अर्ब २२ करोड २० लाख रुपैयाँको कारोबार गत असार महिनामा भएको थियो ।

प्रतिवेदनअनुसार गएको चैतमा कनेक्ट आईपीएसबाट मात्रै एक खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैयाँको कारोबार भएको छ । जसका लागि २० लाख ३८ हजार ४६५ पटक कारोबार भएको छ ।

कोरोना भाइरसको महामारीले पछिल्लो समय डिजिटल भुक्तानी उल्लेख्य रुपमा बढेको छ । गत चैतमा मोबाइल बैंकिङबाट मात्रै ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार भएको हो । जुन अहिलेसम्मकै उच्च हो । यसका लागि एक करोड १० लाख ४७ हजार ४७४ वटा कारोबार भएका छन् ।

यसरी मानिसहरूको आकर्षण डिजिटल कारोबारतर्फ बढिरहँखा यसले डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४