काठमाडौं । लोकप्रिय सामाजिक अडियो प्लेटफर्म क्लबहाउसकाे एन्ड्राेइड संस्करण नेपालमा उपलब्ध भएकाे छ । कम्पनीले नाइजेरिया, भारत, नेपाल लगायतका देशमा शुक्रबारदेखि एप उपलब्ध गराएकाे हाे ।
याे एप केही दिनअघि मात्र एन्ड्राेइडमा सार्वजनिक भएकाे थियाे । यसअघि यो एप आईओएसका लागि मात्र उपलब्ध थियो ।
अन्य एपजस्तै क्लबहाउस समेत एउटा च्याटिङ एप हो । यसमा प्रयोगकर्ताको च्याटका लागि अडियोको विकल्प मिल्दछ ।
यसमा अडियो रुम बनाएर कुनै एउटा विषयवस्तुमा बहस गर्न सकिन्छ । रुम ज्वाइन गर्दा तपाईंले त्यस्ता प्रयोगकर्ताको कुरा सुन्न सक्नुहुन्छ, जो बहस गरिरहेका हुन्छन् ।
क्लबहाउस एउटा इन्भाइट अन्ली एप हो । यसको अर्थ तपाईंलाई कसैले इन्भाइट गर्छ भने तब मात्र तपाईंले त्यसलाई ज्वाइन गर्न सक्नुहुन्छ ।
पहिलो वर्षका लागि क्लबहाउस एप केवल आईओएस डिभाइसहरुका लागि मात्र उपलब्ध रहेको थियो । सुरुवाती समयमा सीमित मात्रामा पहुँच रहेको यो एपले पहिलो वर्षमै एक करोड प्रयोगकर्ता बनाइसकेको छ ।
त्यससँगै नयाँ फण्डिङका क्रममा यो एपको मूल्य ४ अर्ब डलर कायम भएको छ । एन्ड्रोइडमा सार्वजनिक हुने चर्चा हुँदा क्लबहाउसले ट्वीटरको स्पेस, डिस्कोर्डको स्टेज च्यानल र अन्य सामाजिक सञ्जालबाट प्रतिस्पर्धीको चुनौति पाइसकेको छ ।
क्लबहाउसमा अझै पनि इन्भाइट गरिएको अवस्थामा मात्रै जोडिन पाउने अवस्था रहेको र बहिरा तथा श्रवण शक्ति कमजोर भएका प्रयोगकर्ताका लागि अटोमेटिक क्याप्सन फिचर नदिएको भन्दै आलोचना समेत हुने गरेको छ । अन्ततः एपले क्रियटरमा समेत ध्यान दिन थालेको छ ।
केही समय अघि एक्सिलेरेटर प्रोग्राम घोषणा गरेको क्लबहाउसले त्यसमार्फत ५० वटा अडियो क्लबहाउस शोका लागि फण्डिङ समेत उपलब्ध गराउने भएको छ ।
कम्पनीका सीईओ पाउल डेभिसनले क्लबहाउसमा रहेको क्लबहाउस टाउन हल एपको अर्को योजना रहेको भन्दै त्यसमा क्रियटरका लागि सःशुल्क तथा सब्सक्रिप्सनमा आधारित कार्यक्रम रहने बताएका छन् ।
एन्ड्राेइडमा याे एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।