काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र निर्वाचन घोषणा पछि आइतबार दिउँसो बालुवाटरमा पत्रकार सम्मेलन आयोजना गरे । मुलधारका कतिपय सञ्चार माध्यमले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कार्यक्रमको लाइभ प्रसारण गरे ।
आफ्नो पछिल्लो कदमको बचाउ र विपक्षी तथा सञ्चार माध्यममा प्रकाशित सामग्रीको खण्डमा लामो समय खर्चेका प्रधानमन्त्रीको लाइभ प्रसारणमा ‘लभ’ भन्दा ‘एङ्ग्री’ रिएक्ट धेरै देखियो । त्यसो त फेसबुकमा यी दुई बाहेक लाइक, हाहा, वाउ र स्याड रिएक्ट समेत देख्न सकिन्छ ।
लाइक रिएक्ट डिफल्ट हुने भएकाले हामीले त्यस बाहेकका अन्य रिएक्टको प्रवृत्ति नियाल्ने प्रयास गरेका छौं । कमेन्टहरुमा पनि मिश्रित किसिमको प्रतिक्रिया देखिए पनि हामीले यसमा रिएक्सनलाई मात्र समेट्न खोजेका छौं ।
जसका लागि ईकान्तिपुर, अनलाइन खबर, सेतो पाटी र रातो पाटीमा गरिएको लाइभ प्रसारणलाई आधार मानिएको छ । लाइभ प्रसारण समाप्त हुँदाको बखतसम्म व्यक्त रिएक्सनलाई मात्र यसमा समेटिएको छ ।
फेसबुकले आफ्नो एप र वेबसाइटका पोस्टमा प्रयोगकर्ताको भावना अर्थात प्रतिक्रिया जनाउन ईमोजी रिएक्सन उपलब्ध गराएको छ । युनिकोड स्ट्याण्डर्डका यी ईमोजीमार्फत प्रयोगकर्तामा आफ्नो भावना वा प्रतिक्रिया सटिक रुपमा व्यक्त गर्ने स्वभाव विकास हुँदै गइरहेको छ ।
लभभन्दा एङ्ग्री रिएक्ट धेरै देखिएको यो तथ्यले सामाजिक सञ्जालमा व्यक्त भइरहेका अधिकांश प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओली विरोधी किसिमका भएको साधारण निश्कर्ष निस्किन्छ ।