close

महामारीले बढायो इन्टरनेट प्रयोग, राउटरको आयात ५ गुणा बढ्यो

टेकपाना टेकपाना

जेठ ९, २०७८ २१:८

महामारीले बढायो इन्टरनेट प्रयोग, राउटरको आयात ५ गुणा बढ्यो

काठमाडौं । कोरोना सङ्क्रमणका कारण यतिबेला घरबाटै कार्यालयको काम गर्ने प्रचलन बढेको छ । सँगै पठनपाठन पनि घरबाटै हुन थालेको छ ।

यसरी घरबाटै काम र पढाइको क्रम बढ्दा फिक्स्ड इन्टरनेटको प्रयोग पनि बढेको छ । फिक्स्ड इन्टरनेटका लागि आवश्यक राउटरको प्रयोग पनि यसले बढाएको छ ।

राउटरको प्रयोग यति बढेको छ कि, जुन राउटर आयातको इतिहासमा सम्भवत: अहिलेसम्मकै सबैभन्दा बढी हो । भन्सार विभागका अनुसार बैशाखसम्म मात्रै नेपालले एक अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख १५ हजार थान राउटर आयात गरेको छ ।

जबकि अघिल्लो आर्थिक वर्षभर एक लाख १५ हजार थान राउटर भित्राएको थियो । आयातको तुलनात्मक हिसाबले बैशाखभित्रै अघिल्लो आवको तुलनामा पाँच गुणा बढी राउटर भित्रिएका छन् ।

राउटर सबैभन्दा धेरै चीनबाट ६ लाख ७ हजार थान भित्रिएका छन् । त्यसपछि ताइवानबाट ६ हजार २ सय र दक्षिण कोरियाबाट एक हजार थान आयात भएका छन् । यसबाहेक अस्ट्रेलिया, जर्मनी, हङकङ, इटली र भारतबाट पनि नेपालमा राउटर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१