close

स्वीकृति पाए आईओटी सेवा दिन तयार छौंः नेपाल टेलिकम

टेकपाना टेकपाना

जेठ १०, २०७८ २०:२९

स्वीकृति पाए आईओटी सेवा दिन तयार छौंः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमका उप-प्रबध्नक निरोल कोजूले अनुमति पाएको खण्डमा आफूहरु आईओटी (इन्टरनेट अफ थिङ्स) सेवा सञ्चालन गर्न तयार रहेको बताएका छन् । टेकपाना मिडियाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा उनले यस्तो बताएका हुन् ।

अहिले टेलिकमसँग भएकै टुजी, थ्रीजी र फोरजी सेवाको पूर्वाधारबाट कम्पनीले आईओटी सेवा दिन सक्ने कोजूले बताए । ‘हामीले अहिलेको बीटीएस सिस्टमबाटै आईओटी सेवा दिन सक्छौं,’ उनले भने, ‘यस्तो सेवा दिनका लागि हामीलाई थप कुनै पनि प्रकारको फ्रिक्वेन्सीको पनि आवश्यकता छैन ।’ 

एउटा उपकरणले अर्को उपकरणमा सञ्चार गर्न सक्ने आईओटीसँगै भोलिको दिनमा मसिन टु मसिन वा सम्भावित पिपुल टु मसिनमा समेत जान सकिने उनको भनाई थियो । यसको सबैभन्दा महत्वपूर्ण पाटो भनेको त्यसको कभरेज निकै स्तरीय हुनपर्छ ।

उदाहरणको लागि जसरी हामी स्मार्ट मिटरिङको कुरा गरिरहेका छौं । सामान्यतयाः मिटर घरका अप्ठ्यारा कुनाहरुमा राखिएको हुन्छ । त्यस्तो घरभित्रको वातावरणमा सिग्नल पुगेन भने आईओटीले राम्रोसँग काम गर्न सक्दैन ।

भ्वाइस कलको लागि अहिले जीएसएममा जुन स्तरको कभरेज छ, आईओटीका लागि त्यसभन्दा पनि राम्रो कभरेज हुन आवश्यक पर्ने कोजूले बताए ।  ‘किन भने ह्याण्डसेट बोक्ने ग्राहक त आउटडोर र इनडोर गरिरहन सक्छन्,’ उनले अगाडि भने, ‘तर जुन आईओटी डिभाइस हुन्छ, त्यो त घरको निश्चित स्थानमा जडान गरिको हुन्छ । सामान्यतया त्यसलाई यताउता गरिँदैन ।’

टेलिकमले आईओटी सेवा दिन सक्ने अवस्था बनिसकेको भन्दै उपप्रबध्नक कोजूले त्यसका लागि आवश्यक स्वीकृति खुलाउन आग्रह गरे । ‘अहिले नै त्यसलाई किन खुला नगर्ने भन्ने मेरो प्रश्न हो,’ उनले अगाडि भने, ‘यसका लागि केही नीतिगत व्यवस्था स्पष्ट पार्न समेत आवश्यक छ ।’

अहिलेका सेवाप्रदायकले आईओटी सेवा दिन पाउने कि नपाउने, त्यसको मोडालिटी के हुने, टेलिकम कम्पनीले आईओटीका लागि थप फ्रिक्वेन्सी माग गरेको खण्डमा पाउने कि नपाउने भन्ने विषयहरु निर्क्यौल गर्नुपर्नेमा कोजूले जोड दिए । 

आईओटीका लागि छुट्टै सेवाप्रदायकलाई फ्रिक्वेन्सी दिँदा त्यस्ता कम्पनीले अहिलेका टेलिकम कम्पनीले जस्तै टावरहरु खडा गर्नुपर्ने हुन्छ । यस्ता पूर्वाधारका लागि छुट्टै लाइसेन्स जारी गर्ने भन्दा पनि अहिले विद्यमान टेलिकम कम्पनीलाई नै त्यस्तो अनुमति दिनुपर्ने उपप्रबन्धक कोजूको भनाई थियो ।

उनका अनुसार टेलिकमले स्मार्ट मिटरिङ, ट्राफिक, ट्याक्सी वा यातायात व्यवस्थापन आदिका लागि आवश्यक आईओटी सेवाको पूर्वाधार टेलिकमले दिनसक्छ । ‘यसरी हामी कुनै पनि थर्ड पार्टीलाई आईओटी प्रविधि प्रयोग गर्ने सेवा दिन सक्छौं,’ कोजूले भने ।’ 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले अहिले आईओटी (इन्टरनेट अफ थिङ्स) र एमटुएम (मसिन टु मसिन) को अवधारणा नयाँ रहेको बताए ।

‘यसले दुई किसिमको आर्किटेक्चरमा काम गर्छ, सेलुलर आईओटी र नन सेलुलर आईओटी,’ उनले भने, ‘अहिलेका सेवाप्रदायकले नै सेलुलर आईओटी सेवा दिन सक्छन् । तर उनीहरुले त्यस्तो सेवा पाउने कि नपाउने भन्ने विषय भने तय हुन बाँकी छ ।’

नियामकले यसका लागि अध्ययन सुरु गरिसकेको जानकारी दिँदै स्थापितले अबको निकट भविष्यमा उचित निर्णय लिइने बताए । नन सेलुलर आईओटीका लागि आवश्यक फ्रिक्वेन्सी चाहिँ आईएसएम ब्याण्डको फ्रिक्वेन्सी सरह निःशुल्क गर्ने तयारी रहेको उनको भनाई थियो ।

‘हामीले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा यसको प्रस्ताव पठाइसकेका छौं,’ उनले भने, ‘त्यो अहिले पनि विचाराधीन अवस्थामा नै छ । समितिबाट कस्तो निर्णय आउँछ, त्यसमा पनि यो सबै निर्भर हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१