काठमाडौं । नेपाल टेलिकमको फोरजी एलटीई सेवा देशका ७७ वटै जिल्लाका ६५५ स्थानीय तहमा पुगेको छ । अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको आर्थिक सर्वेक्षेण प्रतिवेदन २०७७ मार्फत यस्तो जानकारी दिइएको हो ।
मोबाइल सेवामा अत्याधुनिक प्रविधि र सेवाहरू भित्र्याई नवीनतम दूरसञ्चार सेवा प्रदान गर्न तथा सो मार्फत देशमा डिजिटल डिभाइड कम गर्ने योजनालाई मूर्तरूप दिन नेपाल टेलिकम यो सेवा सुरु गरेको थियो । २०७७ असारसम्म ४३७ स्थानीय तहसम्म विस्तार भएकोमा यो सेवा चालू आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीय तहमा पुगेको हो ।
त्यस्तै कम्पनीले अप्टिकल फाइबरमार्फत् एउटै लाइनबाट टेलिफोन सेवा, उच्च गतिको इन्टरनेट सेवाको साथै अडियो तथा भिडियो सेवासमेत उपलब्ध गराइरहेको छ । जसअनुसार २०७७ असारसम्म २ लाख क्षमताको नेटवर्क जडान गरी ७६ हजार लाइन वितरण भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म २ लाख १२ हजार २ सय क्षमताको नेटवर्क जडान सम्पन्न भएको छ । यससँगै ८० हजार ३ सय १८ थप लाइन वितरण भएको प्रतिवेदनमा उल्लेख छ ।