close

के साच्चै सार्वजनिक हुँदैछ विण्डोज ११ ? यस्तो हुनेछ परिवर्तन

टेकपाना टेकपाना

जेठ २२, २०७८ १२:४

के साच्चै सार्वजनिक हुँदैछ विण्डोज ११ ? यस्तो हुनेछ परिवर्तन

काठमाडौं । विण्डोज अपरेटिङ सिस्टम विश्वभर निकै लोकप्रिय रहेको छ । तर यसमा म्याक अपरेटिङ सिस्टममा जस्तो हरेक वर्ष कुनै ठूलो परिवर्तन भने देख्न पाइँदैन । हुन त अपडेट आउँछन् र नयाँ फिचर पनि थप हुन्छन् ।

तर युजर इन्टरफेस वा नामको विषयमा भने खासै परिवर्तन भएको देखिँदैन । सन् २०१५ मा विण्डोज १० सार्वजनिक गरिएको थियो । त्यसयता अहिलेसम्म विण्डोज १० नै चलिरहेको छ । अब भने कम्पनीले विण्डोज अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

माइक्रोसफ्टका अनुसार २४ जुनमा नयाँ विण्डोज सार्वजनिक गर्नेछ । यद्यपी यो केवल एउटा संकेतमा आधारित अनुमान मात्र हो । किन कि कम्पनीले यस विषयलाई स्पष्ट रुपमा बाहिर ल्याएको छैन ।

गत साता माइक्रोसफ्टका सीई‌ सत्य नादेलाले बिल्ड कन्फ्रेन्सका दौरान नयाँ विण्डोज आउने संकेत दिएका थिए । त्यसयता अहिले नयाँ पुस्ताको विण्डोजको चर्चा चलिरहेको छ । त्यसअनुसार यस पटक विण्डोज ११ वा कुनै अर्को नामबाट नयाँ युजर इन्टरफेसका साथ विण्डोज सार्वजनिक हुने अपेक्षा गरिएको हो । सत्य नादेलाले हालै मात्र विण्डोजको ठूलो अपडेटको बारेमा चाँडै बताउने समेत बाचा गरेका थिए ।

नयाँ विण्डोजमा के होला खास ?

जहाँसम्म नेक्स्ट जेनेरेसन अर्थात अर्को पुस्ताको विण्डोजको सवाल छ, कम्पनीले नयाँ युजर इन्टरफेसमा केही परिवर्तन ल्याउने अपेक्षा छ । यहाँनिर मह्वपूर्ण कुरा के छ भने कम्पनीले विण्डोजमा जब ठूलो परिवर्तन ल्याउँछ, प्रयोगकर्ताले त्यसलाई खासै रुचाउने गरेका छैनन् ।

त्यसैले यस पटक युजर इन्टरफेस तथा डिजाइनमा पूर्णतः परिवर्तन हुने त्यतिधेरै अपेक्षा छैन । विण्डोज ८ र विण्डोज भिष्टाको उदाहरण हेर्ने हो भने कम्पनीका लागि ती विण्डोज भर्सनका फ्लप अपरेटिङ सिस्टम सावित भएका छन् ।

त्यसैले नै कम्पनीले हरेक वर्ष आफ्नो अपरेटिङ सिस्टममा ठूलो परिवर्तन गर्दैन । यद्यपी यस वर्ष केही उल्लेखनीय फिचर भने प्राप्त हुनसक्छन् । विण्डोजनको नयाँ भर्सनमा एन्ड्रोइडसँग सिंक गराउने एउटा राम्रो फिचर आउन सक्छ ।

हुन त अहिले पनि त्यस किसिमको फिचर विण्डोजमा नभएको होइन । तर त्यो त्यति प्रभावकारी हुन सकेको छैन । डिजाइन र इन्टरफेसको कुरा गर्ने हो भने स्टार्ट मेनुमा कुनै परिवर्तन देख्न पाइने छैन । तर केही बटन तथा आइकन भने परिवर्तन हुनेछन् ।

यस बाहेक विजेट्समा पनि कम्पनीले परिवर्तन ल्याउने तयारी गरेको बुझिएको छ । माइक्रोसफ्ट एप स्टोर अहिले पनि त्यति धेरै प्रयोगमा छैन । त्यस अर्थमा यसमा पनि ठूलो परिवर्तन देख्न सकिन्छ ।

यदि तपाईंलाई विण्डोज १० एक्स याद छ भने त्यो कम्पनीले सार्वजनिक गरेको लाइट भर्सनको अपरेटिङ सिस्टम हो । यसलाई क्रोमको प्रतिस्पर्धीको रुपमा सार्वजनिक गरिएको थियो । संभावित विण्डोज ११ मा विण्डोज १० एक्स का कयौं फिचर देख्न सकिनेछ ।

फाइल एक्सप्लोररमा पनि परिवर्तन महसुस हुनेछ भने विण्डोजका आइकनमा पनि केही फेरबदल आउनेछ । त्यसो त माइक्रोसफ्ट १० एक्सलाई विण्डोजको अन्तिम भर्सन पनि भनिएको थियो । यस्तोमा विण्डोजको नयाँ भर्सन कुन रुपमा प्रस्तुत हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३