close

आपतकालमा तपाईंको ज्यान जोगाउन सक्ने स्मार्टफोनको फिचर, यसरी सेट गर्नुहोस्

टेकपाना टेकपाना

असार २, २०७८ १६:१

आपतकालमा तपाईंको ज्यान जोगाउन सक्ने स्मार्टफोनको फिचर, यसरी सेट गर्नुहोस्

काठमाडाैं । तपाईंको फोनमा रहेका धेरै स्मार्ट फिचरहरुमध्ये इमर्जेन्सी कन्ट्याक्ट र मेडिकल आईडी थाहा पाइराख्न एकदमै जरुरी हुन्छ । सबैजसो स्मार्टफोनमा हुने यी फिचरबारे धेरैलाई थाहा हुँदैन । थाहा भए पनि खासै वास्ता गरेका हुँदैनन् । यदि तपाईं कुनै कारणले दुर्घटनामा पर्नुभयो वा डरलाग्दो गरी अप्ठ्यारोमा पर्नुभयो भने यसले तपाईंको जीवन रक्षा गर्न सक्छ ।

खासगरी आफू असहाय महसुस हुने गरी समस्यामा पर्दा यो फिचर निकै काम आउन सक्छ । यसमा आफ्नो इमर्जेन्सी सम्पर्क नम्बर र मेडिकल जानकारी राख्न बढीमा १० मिनेट जति लाग्छ । झञ्जट नमानी यत्ति काम गर्नुभयो भने तपाईंको फोन नै आपतमा तपाईंको जीवन रक्षा गर्ने साथी बन्न सक्छ । 

आईफोनमा यसरी राख्नुहोस् ‘मेडिकल आईडी’

आईफोनमा भएको मेडिकल आईडी फिचरमा सुरुमा तपाईंलाई इमर्जेन्सी अवस्थामा फेला पार्ने मान्छेले पहुँच पाउँछ । उसले लक भएकाे आईफोनमा बिना पासकाेड पहुँच राख्न सक्छ ।

फाेनमा तपाईंको आईडीमा तपाईंको कुनै पनि स्वास्थ्य अवस्था, औषधिले निम्त्याउने एलर्जी र इमर्जेन्सी सम्पर्क नम्बरहरु राख्न सकिन्छ । यहाँ उल्लेख गरिएको तरिका अपनाएर आईफोनमा तपाईं आफ्नो मेडिकल आईडी बनाउन सक्नुहुन्छ । 

  • सुरुमा ‘Health’ एप खोल्नुहोस् र माथि सिरानीको दायाँ कुनामा रहेको ‘Your profile picture’ मा ट्याब गर्नुहाेस् । 
  • मेडिकल डिटेल भित्र रहेको Medical ID लाई छनौट गर्नुहोस् र इडिट गर्नुहोस् ।
  • इमर्जेन्सीमा सघाउने व्यक्तिले थाहा पाउन जरुरी सूचना त्यसमा भर्दै जानुहोस् ।
  • अनि ‘Show when locked’ लाई टर्न अन राख्नुहोस् ।
  • एक पटक तपाईंले आफ्नो सूचनाहरु भरिसकेपछि ‘Done’ मा ट्याप गर्नुहोस् ।

आफ्नो मेडिकल आईडी हेर्न तथा यो कस्तो देखिन्छ भनेर थाहा पाउन अनि अरु कसैले मेडिकल आईडीमा कसरी पहुँच पाउन सक्छ भन्ने कुरा जान्नका लागि आईफोनलाई अनलक गर्न माथितर्फ स्वाइप गर्नुहोस् ।

एक पटक आफ्नो पासकोड राख्ने कोसिस गर्नुहोस् । त्यहाँ तपाईंले स्क्रिनको तल्लो भागमा इमर्जेन्सी लेखिएको देख्नुहुनेछ । त्यसमा ट्याप गर्नुभयो भने आफ्नो मेडिकल आईडी देख्न सक्नुहुनेछ । 

एन्ड्रोइड फोनमा यसरी राख्नुहाेस् इमर्जेन्सी विवरण

एन्ड्रोइडमा यो प्रक्रिया फोनको ब्राण्ड र अपरेटिङ सिस्टमअनुसार फरक हुन सक्छ । तपाईंले बुझ्नुपर्ने कुरा के हो भने तपाईंको फोन लिने व्यक्तिले फोन अनलक नगरी तपाईंको सन्देश र आपतकालीन जानकारी हेर्न सक्दछ ।

एन्ड्राेइड फाेनमा इमर्जेन्सी विवरण राख्न सबैभन्दा पहिले फाेनमा रहेकाे Setting एप खाेल्नुहाेस् । एन्ड्राेइडका भर्सनअनुसार विभिन्न सेटिङ प्यानलमा याे फिचर हुने भएकाले सजिलाेका लागि स्क्रिनकाे माथि रहेकाे सर्च बारमा Emergency information लेखेर सर्च गर्नुहोस् । त्यसबाट देखिने परिणामले तपाईंलाई सेटिङको उपयुक्त स्थानमा पुर्‍याउनेछ ।

मेडिकल विवरण राख्न ‘इडिट इन्फर्मेसन’ मा इडिट गर्नुहाेस् । तर याे फिचर सबै देशमा उपलब्ध नहुन सक्छ । यसकारण धेरैजसो एन्ड्रोइड डिभाइसमा इमर्जेन्सी कन्ट्याक्ट नम्बरहरू र म्यासेज कन्फिगर गर्ने सुविधा छ ।

यदि साओमीको स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले Setting एप जानुहाेस् । त्यसपछि Passwords & security मा ट्याप गर्नुहाेस् । यसपछि Emergency SOS मा जानुहाेस् । त्यसपछि आउने Emergency Contacts मा ट्याप गर्नुहाेस् । त्यसपछि ‘Edit‘ मा ट्याप गरी कन्ट्याक्ट लिस्टबाट बढीमा तीन वटा नम्बर इमर्जेन्सी कन्ट्याक्ट्स छनाैट गर्नुहाेस् र Cancel वा ‘Send Now’ ट्याप गर्नुहाेस् ।

अरुले तपाईंको फोन हेर्दा कस्तो देखिन्छ भनेर हेर्न वा अरु कसैको फोनमा मेडिकल सूचना हेर्ने अभ्यासको रुपमा पावर बटन दबाएर वा स्क्रिनमा ट्याप गरेर फोन अनलक गर्ने कोसिस गर्नुहोस् । पासवर्ड राख्ने स्थानमा पुगेपछि त्यहाँ रहेको ‘Emergency Call’ अप्सनमा जानुहाेस्  । भित्र गइसकेपछि तपाईंले इमर्जेन्सी विवरण देख्न सक्नुहुनेछ । 

एन्ड्राेइड फाेनमा कम्पनी र अपरेटिङ सिस्टमअनुसार यसकाे प्रक्रिया र फिचर फरक फरक हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१