close

अप्टिकल फाइबर परियोजनामा चरम ढिलासुस्ती, साढे चार वर्षमा १५ प्रतिशत मात्रै काम

टेकपाना टेकपाना

असार ३, २०७८ १८:४६

अप्टिकल फाइबर परियोजनामा चरम ढिलासुस्ती, साढे चार वर्षमा १५ प्रतिशत मात्रै काम

काठमाडौं । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामलाई जोडेर तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने नेपाल सरकारको ग्रामीण दूरसञ्चार परियोजना अन्तर्गतको सूचना महामार्गको काम सुरु भएको साढे चार वर्षभन्दा बढी भइसकेको छ ।

यस अवधिमा सूचना महामार्गमा ६ हजार ३ सय ३१ किलोमिटर अप्टिकल फाइबर बिछ्याइसक्नु पर्ने हो । तर परियोजनाको हालसम्मको प्रगति भने १४.९७ प्रतिशत मात्र सम्पन्न भएको छ ।

यो परियोजना सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने हो । तर, समयसीमा पुरा भएको पनि झन्डै डेढ वर्ष बितिसक्दा पनि यसकाे प्रगति न्यून छ ।

तीन प्याकेजअन्तर्गत पहिलो प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा ठेक्का पाएको कम्पनी नेपाल टेलिकमले सम्झौता गरेको चार वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा उक्त परियोजनाअन्तर्गत हालसम्म ४४.९२ प्रतिशत फाइबर बिच्छाउने काम सम्पन्न भएको छ ।

कूल २१ सय ७९ किलोमिटर फाइबर बिछ्याउनुपर्ने उक्त परियोजनामा हालसम्म जम्मा ९७९ किलोमिटरको काम भएको छ ।

यस्तै दोस्रो प्याकेजअन्तर्गत गण्डकी तथा लुम्बिनी प्रदेशको कार्यप्रगति अझै शुन्य छ । सो क्षेत्रमा सेवाप्रदायकले २१ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने जिम्मा पाएको थियो । ठेक्का पाएको यूटीएलले समयमै आयोजना सम्पन्न गर्न नसकेपछि प्राधिकरणले ठेक्का खारेज गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणको उक्त निर्णयउपर यूटीएलले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि उक्त ठेक्का परियोजना अड्किएर बसेको छ ।

त्यस्तै प्याकेज ३ अन्तर्गतको परियोजनको प्रगति पनि शुन्य नै छ । सुरुमा स्मार्ट टेलिकमले पाएको उक्त परियोजना काम गर्न नसकेको भन्दै अघिल्लो पुस १८ गते स्मार्टसँग ठेक्का रद्द गरी नेपाल टेलिकमलाई जिम्मा दिइएको थियो । झन्डै डेढ वर्ष बितिसक्दा हाल टेलिकम उक्त परियोजनाका लागि सम्झौताको तयारीमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१