close

आफ्नो स्पेस स्टेसन बनाउन रकेटमार्फत चीनले पठायो ३ जना अन्तरिक्ष यात्री

टेकपाना टेकपाना

असार ३, २०७८ १५:३०

आफ्नो स्पेस स्टेसन बनाउन रकेटमार्फत चीनले पठायो ३ जना अन्तरिक्ष यात्री

काठमाडौं । चीनले बिहीवार अन्तरिक्षमा तीन जना अन्तरिक्ष यात्री पठाएको छ । चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी ती अन्तरिक्षयात्रीलाई पठाएको हो ।

जसमा निय हाइशेङ, लिउ बोमिङ र थङ होङ्बो रहेका छन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियान्हे मोड्युलमा तीन महिना बिताउनेछन् । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि अन्तरिक्ष यात्री पठाएको भने यो नै पहिलो पटक हो ।

बिहीवार चिनियाँ लङ मार्च टूएफ रकेटमाथि रहेको सेन्जाउ-१२ नामक यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङ समयानुसार बिहान ९:२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो ।

यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रुपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना पृथ्वीमा ल्याएको छ । त्यसका लागि मङ्गल ग्रहमा छ पाङ्ग्रे यान उतारेको थियो । यी दुवै काम निकै जटिल र चुनौतीपूर्ण मानिएको छ ।

नियको नेतृत्वमा रहेको मिसनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सञ्चालनमा ल्याउनु रहेको छ। “मेरा धेरै अपेक्षा छन्,” नियले अन्तरिक्ष यात्रामा निस्किनु अघि भने ।

“हामीले अन्तरिक्षमा नयाँ घर बनाउनु छ र नयाँ प्रविधिको श्रङ्खला परीक्षण गर्नु छ। त्यसैले यो मिसन जटिल र चुनौतीपूर्ण छ,’ उनले भने, ‘हामी तीन जना मिलेर उचित रूपमा सञ्चालनमा ल्याउन सकिने र हाम्रा चुनौती पुरा हुने मलाई विश्वास छ । यो लक्ष्य सम्पन्न हुन्छ भन्नेमा म विश्वस्त छु ।”

१६.६ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ रहेको तियन्हे सिलिन्डर गत अप्रिलमै अन्तरिक्षमा पठाइएको थियो । अन्तरिक्ष स्टेसन पूर्ण रुपमा सम्पन्न हुँदा करिब ७० टन भारी हुनेछ र त्यसमा आवास, विज्ञान प्रयोगशाला र ब्रम्हाण्ड नियाल्न ठूलो टेलिस्कोप समेत रहनेछ ।

त्यसका थप अंशहरु आउँदा दुई वर्षमा पठाउने योजना रहेको छ । स्टेसन निर्माणका लागि आवश्यक थप सामग्री नियमित कार्गोमार्फत पठाइनेछ ।

को हुन् तीन अन्तरिक्ष यात्री ?

बुधवार पत्रकार सम्मेलन अगाडिसम्म चिनियाँ अन्तरिक्षयात्रीहरूको नाम प्रकाशित गरिएको थिएन । ५६ वर्षीय निय अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरका अन्तरिक्ष यात्री हुन् ।

उनको यो दोस्रो अन्तरिक्ष यात्रा हो । उनी सन् २०१३ मा अन्तरिक्ष केन्द्रको प्रोटोटाइपका लागि १५ दिनका लागि अन्तरिक्ष यात्रामा गएका थिए ।

उनीसँग अन्तरिक्ष यात्रामा निस्किने अन्य दुई जनामा ५४ वर्षीय लिउ र ४५ वर्षीय थङ छन् । उनीहरु दुवै चिनियाँ वायू सेनाका पूर्व सदस्य हुन् । लिउ सन् २००८ को शेन्झाउ-७ मिसनमार्फत चीनको पहिलो अन्तरिक्ष यात्री बनेका थिए ।

थाङको भने यो पहिलो अनुभव हो । उनी यस अघि अन्तरिक्षमा गएका थिएनन् । तियान्हेमा रहँदा उनीहरुलाई आवश्यक पर्ने खाना, इन्धन र उपकरण गत महिना रोबोट फ्राइटरमार्फत पठाइएको थियो ।

यो फ्राइटर अझै पनी त्यहिँ अडिएर बसेको छ । अन्तरिक्ष यात्रीहरुले त्यहाँ आफ्नो बसोबास तय गरिसकेपछि सकेसम्म चाँडी त्यसमा रहेका सामानहरु खोल्नेछन् । साथमा दुई वटा स्पेससूट छन् । जसलाई तियान्हे बाहिर हिँडडुल गर्न प्रयोगमा ल्याइनेछ ।

चीनको अन्तरिक्ष सपना

पछिल्ला वर्षहरुमा चीनको अन्तरिक्षको लक्ष्य लुकेको छैन । सन् २०१९ मा चीन पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा यान अवतरण गराउने पहिलो देश बन्यो ।

चीनले आफ्नो एकल प्रयासमा अन्तरिक्ष केन्द्र विकास गर्न थालेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको परियोजनामा सहभागी नगराइएकाले उसले आफ्नो छुट्टै स्टेसन निर्माण गर्न लागेको हो ।

अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापानले तयार पारेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा कुनै पनि एसियाली देशलाई सहभागी गराइएको थिएन । तर चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

उदाहरणका लागि केन्द्रमा विभिन्न वैज्ञानिक परीक्षण हुँदैछन् । सेन्जाउ १२ को टोलीले नर्वेको नेतृत्वमा क्यान्सरको अनुसन्धान गर्नेछ । स्टेसनको बाहिरी भागमा भारतले विकास गरेको टेलिस्कोपिक स्पेक्ट्रोग्राफ रहेको छ । जसले गहिरो अन्तरिक्षबाट आएका अर्थात विस्फोटित ताराहरूको अल्ट्राभायोलेट उत्सर्जनको अध्ययन गर्नेछ ।

भविष्यमा चीन बाहेकका देशका नागरिकले पनि यो स्पेस स्टेसनको भ्रमण गर्नेछन् । विगतमा चीनसँग प्रविधि आदानप्रदान गरेको रुसले आफ्ना अन्तरिक्षयात्री पठाउने सम्भावना रहेको उल्लेख छ ।

चिनियाँ अन्तरिक्ष यात्राको दलको परिचय दिन सेन्जाउमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चीनको मानव अन्तरिक्ष उडान एजेन्सीका सहायक निर्देशक जि किमिङले भने, “हामी सहकार्यका लागि स्वागत गर्दछौं । निकट भविष्यमा चिनियाँ स्पेस स्टेसनको काम सम्पन्न भएपछि हामी चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीहरूको उडान र सहकार्य हुने कुरामा हामी विश्वस्त छौं ।”

राष्ट्रपति सी जिनपिङले अन्तरिक्षमा पछाडि परेको आफ्नो देशको अवस्थालाई सुधार गर्न निकै जोड दिएका छन् । राज्य सञ्चालित चिनियाँ मिडियाले नियमित रूपमा “अन्तरिक्ष सपना” लाई “राष्ट्रिय कायाकल्प” को बाटोमा एउटा कदमको रूपमा प्रस्तुत गरेका छन् ।

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१