काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा बैंकको आईसर्भ डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएकाे छ ।
बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमार्फत आईसर्भभित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘Debit Card Replacement’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
यसका लागि ग्राहकले Debit Card Replacement मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेकाे ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ ।
सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ ।
आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउँनेछ ।
यस अनलाइन सुविधाले ग्राहकलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।