close

स्यानिटरी प्याडका लागि नेपालमै युवाले बनाए अटोमेटिक भेन्डिङ मसिन, कसरी गर्छ काम ?

अर्पना आले मगर अर्पना आले मगर

असार १३, २०७८ ११:५

स्यानिटरी प्याडका लागि नेपालमै युवाले बनाए अटोमेटिक भेन्डिङ मसिन, कसरी गर्छ काम ?

काठमाडौं ।  बुटवलका क्वाडटेक समूहका युवाहरुले कार्ड रिडेबल स्यानिटरी प्याड भेन्डिङ मसिन बनाएका छन् । महिलाहरुलाई स्यानिटरी प्याडको वितरण तथा उपलब्धतामा सहयोग पुर्‍याउने उद्देश्यका साथ कोरिया नेपाल पोलिटेक्निक इस्टिच्युटका विद्यार्थीहरुको समूह क्वाडटेकले स्यानिटरी प्याड भेन्डिङ मसिन बनाएकाे हाे ।

सार्वजनिक ठाउँहरु लगायत शैक्षिक संस्था र विभिन्न कार्यलयहरुमा जडान गरिने उद्देश्यले यो मसिन तयार गरिएको क्वाडटेकका सदस्य सुजन पौडेलले बताए ।

उनका अनुसार यस मसिनमा आफ्नो परिचय पत्र (आर.एफ.आइ.डि कार्ड) प्रयोग गरी महिलाहरुले स्यानिटरी प्याड लिन सक्नेछन् । ‘शैक्षिक संस्थाहरु तथा कार्यलयहरुमा महिलाहरुले सजिलै आईडी कार्ड प्रयोग गरेर यो मसिन चलाउन सक्नेछन् ।

यसको लागि कार्डकाे विवरण पनि सजिलै सर्भरमा इन्ट्री गर्न र हटाउन सकिन्छ,’ उनले भने, ‘प्रयोगकर्ताले स्टक जाँचको लागि युनिटमा विन्डोबाट सेनेटरी प्याडहरूको उपलब्धता / अनुपलब्धता जाँच गर्न सक्दछ भने मसिनमा प्याडको स्टक सकिन लागेको जानकारी अनलाईनमा पनि हेर्न सकिन्छ ।’

प्रयोगकर्ता अर्थात विभिन्न स्थान तथा संघसंस्थाहरुमा आबद्ध महिला विद्यार्थी, कर्मचारी, कामदार र अन्य कर्मचारीहरूले प्रयोग गरेको आईडी कार्ड  मसिनमा रहेको स्क्यानरमा स्क्यान गरेपछि मसिनले डेटाबेसमा रजिस्टर गरेको कार्ड पहिचान गरेर डीसी मोटरलाई घुमाउँछ, जसले स्प्रङ्मा रहेको प्याडलाई कलेक्सन एरियामा पुर्‍याउँछ ।

‘यसले प्रति महिला कतिवटा प्याड एकचोटीमा निकाल्न पाउने भन्ने सीमा तोक्न पनि सकिन्छ । एकपटकमा एउटा मात्र झिक्न मिल्ने बनाउने अथवा एकभन्दा बढी झिक्न मिल्ने पनि बनाउन सकिन्छ,’ पौडेलले बताए । एक पटकमा यो मसिनमा २५ देखि ३०० वटा सम्म प्याडहरु उपलब्ध गराउन सकिन्छ ।

“बिजुलीको लाइन तथा ब्याट्री बाट चल्ने गरि दुई वटा प्रकारको मसिन उपलब्ध छन्।  विद्युतको सुविधा असहज भएको ठाउँमा सोलारको पनि प्रयोग गर्न सकिन्छ,” उनले भने, “स्यानिटरी प्याड भेन्डिङ मसिनको परिकल्पना तथा विकासको मुख्य उद्देश्य महिनावारीको समयमा महिलाहरूलाई आवश्यक पर्ने  स्यानिटरी प्याडको उपलब्धता वृद्धि गरी महिलाहरूको स्वास्थ्य समस्याहरूको समाधान गर्नु हाे ।”

त्यस्तै अन्य सार्वजनिक स्थलहरुलाई पनि ध्यानमा राख्दै क्वाइन मात्र प्रयोग गर्न मिल्ने अथवा बटन दबाएको भरमा प्याड मसिनबाट निकाल्न मिल्ने भेन्डिङ मसिन बनाएको उनले बताए । ‘सबै सार्बजनिक स्थलहरुमा कार्डको प्रयोग गर्न सकिदैँन । त्यसैले आवश्यकता अनुसार बटन थिचेर अथवा क्वाइन हालेर प्याड निकाल्न मिल्ने व्यवस्था पनि मसिनमा छ,’ पौडेलले जानकारी दिए ।

पछिल्ला केही वर्षहरुमा स्यानिटरी प्याडको उपलब्धताको गम्भिरतालाई बुझेर विभिन्न सरकाले नि:शुल्क प्याड वितरण गरिरहेको कार्यमा सहकार्य गरेर जान सक्ने उनले बताए ।

यद्यपि भेन्डिङ मसिन भने बिदेशबाट आयात गरिरहेकोले स्वदेशमा ने बनेको मसिनले उपभोक्ताहरुलाई सहज हुने क्वाडटेकको भनाइ छ । देशको अझै पनि दुर्गम क्षेत्रहरुमा महिलाहरुमा स्यानिटरी प्याडको जानकारी र उपलब्धता छैन ।

यस्तोमा स्यानिटरी प्याडको प्रवर्द्धनसँगै यसको उपलब्धता सहज बनाउन सके धेरै महिलाकहरु महिनावारीमा हुने विभिन्न संक्रमणबाट जोगिन सक्ने उनले बताए । त्यस्तै स्वदेशी उपकरणले झन धेरै सहयोग पुर्‍याउने कुरामा उनले विश्वास व्यक्त गरे ।

मसिनको मूल्य भने यसको डिजाइन अनुसार फरक पर्ने उनले बताए । उनका अनुसार यो मसिन चाँडै नै बजारमा उपलब्ध हुनेछ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५