close

लिङ्‍डइनका ७० करोडभन्दा बढी प्रयोगकर्ताको डेटा लिक, बिक्रीका लागि डार्कवेबमा राखियो

टेकपाना टेकपाना

असार १६, २०७८ ९:२६

लिङ्‍डइनका ७० करोडभन्दा बढी प्रयोगकर्ताको डेटा लिक, बिक्रीका लागि डार्कवेबमा राखियो

काठमाडौं । लिङ्क्डइनका ७५ करोड ६० लाखभन्दा धेरै प्रयोगकर्ताको डेटा लिक भएको छ । यो लिङ्क्डइनका कूल प्रयोगकर्तामध्ये ९२ प्रतिशतभन्दा बढी हो । एउटा अज्ञात ह्याकरमार्फत बाहिरिएको नयाँ डेटा सेटमा लिङ्क्डइन प्रयोगकर्ताको निजी विवरण समेत रहेको छ ।

जसमा फोन नम्बर, ठेगाना, जिओलोकेसन र अनुमानित तलवमान समेत रहेको छ । यस अघि गत अप्रिलमा लिङ्क्डइनका ५० करोड प्रयोगकर्ता डेटालिक भएको थियो । जसमा ईमेल एड्रेस, फोन नम्बर, काम गर्ने स्थानको जानकारी, पुरा नाम, अकाउन्ट आईडी, सामाजिक सञ्जालको अकाउन्टको लिङ्क लगायतको विवरण सामेल थियो ।

लिङ्क्डइनका अनुसार यो डेटा ब्रिच नभई नेटवर्क स्क्य्राप गरेर प्राप्त संकलन गरिएको विवरण हो । लिङ्क्डइनले आफ्नो सफाई प्रस्तुत गर्दै भनेको छ, ‘हामी अहिले पनि यो मामिलाको जाँचकै क्रममा रहेका छौं । डेटासेट लिकमा लिङ्क्डइनबाट स्क्र्याप गरिएको जानकारीका साथै अन्य स्रोतबाट समेत प्राप्त गरिएको जानकारी त्यसमा रहेको हाम्रो प्रारम्भिक विश्लेषण छ ।’

लिङ्क्डइनबाट डेटा स्क्र्याप गर्नु कम्पनीको सेवाको सर्त सम्बन्धी नियमको उलंघन हो । ‘हामी हाम्रा प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहेको सुनिश्चित गर्न लगातार काम गरिरहेका छौं,’ कम्पनीले अगाडि भनेको छ । डार्कवेबमा ७५.६ करोड लिङ्क्डइन प्रयोगकर्ताको डेटासेट समेत बिक्रीमा छ ।

जसमा ह्याकरले खरिद गर्न चाहनेका लागि १० लाख प्रयोगकर्ताको नमूना सेट पोस्ट गरेको छ । रिस्टोर प्राइभेसीले सबैभन्दा पहिला यो लिस्टिङ डार्कवेबमा देखेको थियो । साथै उक्त डेटालाई नाइन टु फाइभ गुगलले प्रमाणीकरण समेत गरेको छ । डार्कवेबमा प्रकाशित गरिएको नमूना डेटासेटमा ईमेल, पुरा नाम, फोन नम्बर, ठेगाना, जिओलोकेसन रेकर्ड, प्रयोगकर्ताको प्रोफाइलको यूआरएल, अनुमानित तलवमान, व्यक्तिगत तथा प्रोफेसनल अनुभव एवम् ब्याकग्राउण्ड, लिङ्ग तथा सोसल मिडिया अकाउन्ट र युजरनेम जस्ता जानकारी रहेका छन् ।

नाइन ट फाइभ गुगलले सोझै ह्याकरसम्म पहुँच बनाएको थियो । जसका अनुसार प्रयोगकर्ताले साइटमा अपलोड गरेका जानकारी निकाल्नका लागि लिङ्क्डइन एपीआईको उपयोग गरिएको बताइएको छ । डेटासेटमा पासवर्ड भने सामेल छैन । तर जति पनि जानकारी बाहिरिएको छ, त्यो निकै मूल्यवान हो । यो व्यक्तिगत जानकारी फिशिङका लागि दुरुपयोग हुनसक्ने जोखिम छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५