काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको फ्युज मसिन इन्कले ‘एआई टु गो’ तालिम आयोजना गर्ने भएको छ । कम्पनीले नेपालका लागि अहिलेसम्मकै नयाँ एआई कार्यक्रमको रुपमा बिहीबार यसको घोषणा गरेको हो ।
एआई सम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ । कम्प्युटर विज्ञान वा यस सम्बन्धी प्राविधिक ज्ञान-सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर एआई सम्बन्धी पृष्ठभूमि नभएका सहभागीहरू यसबाट माध्यमबाट लाभान्वित हुन सक्नेछन् ।
फ्युज मसिनका अनुसार सहभागीहरूलाई एआईका बारेमा आधारभूत ज्ञान सीप सिकाउन र उनीहरूले काम गरिरहेको पेशागत क्षेत्रमा एआई तथा मसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्नसक्ने गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।
तालिम कार्यक्रमअन्तर्गत ८ वटा प्रत्यक्ष अनलाइन सेसन सञ्चालन हुनेछन् । ती सेसनमा अमेरिकाबाट एआई विज्ञ, प्राध्यापक र कम्प्युटर वैज्ञानिकहरू गेस्ट लेक्चररको रुपमा रहनेछन् । आउँदो १८ साउनदेखि सुरु हुने तालिम कार्यक्रम हरेक दिन बेलुका ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।
यसैबीच प्रोग्रामिङ सम्बन्धी प्रयोगात्मक कक्षासमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ । तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीले आफ्नो अनुकूलता अनुसार कम्प्युटर वा मोबाइलबाट पनि जोडिन सक्नेछन् । त्यस्तै तालिम अवधिभर प्रशिक्षणसँग सम्बन्धित विषयमा अतिरिक्त अध्ययन सामग्री डाउनलोड गर्ने सुविधा समेत रहनेछ ।
सहभागी प्रशिक्षार्थीहरूले तालिम कार्यक्रमबाट एआई टु गो (AI2Go) तालिम कार्यशालाको अन्त्यमा मसिन लर्निङ (Machine Learning), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निड (Deep Learning), क्लासिफिकेसन (Classification) रिग्रेसन (Regression), मसिन लर्निङ वर्कफ्लो (Machine Learning Workflow) सम्बन्धी जानकारी प्राप्त गर्नेछन् ।
त्यस्तै, डेटासेट (dataset) र एआई मोडेल (AI model) सिर्जना, कम्प्युटर भिजन (Computer Vision), नेचुरल ल्याड्ग्वेज प्रोसेसिङ (Natural Language Processing) र एमएल मोडेल (ML model) निर्माणका लागि आवश्यक पर्ने पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज (python programming language) सम्बन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने अवसर समेत रहनेछ ।
फ्युज मसिनका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरले एआईप्रतिको बढ्दो सचेतना र डिजिटल रूपान्तरणको युगमा प्रवेश गर्न सबैमा आतुरता रहेको बताए । ‘तर सम्बन्धित ज्ञान र अनुभव भएका सक्षम व्यक्तिहरूको अभाव गम्भीर रुपमा खट्किने गरेको छ,’ उनले भने ।
‘एकातिर हामी एआई टु गो जस्ता गम्भीर प्रकृतिका तालिमको माध्यमबाट एआई सम्बन्धी ज्ञानको पहुँच वृद्धि गर्ने प्रयासमा छौं,’ बुलान्तले अगाडि भने, ‘सँगसँगै नेपालको पेशागत समुदायलाई सीप अभिवृद्धिको माध्यमबाट सशक्तीकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा विशुद्ध एआईमा केन्द्रित नयाँ पेशामा प्रवेश गर्ने अवसरको ढोका पनि खोलिदिएका छौं ।’
देशका हरेक भागमा बस्ने ब्यक्तिहरूका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि नै आफूहरूले ‘नेपालका लागि एआई शिक्षा कार्यक्रम सञ्चालन गरेको फ्युज मसिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर मास्केले बताए ।
‘हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौँ विद्यार्थीहरूलाई निरन्तर एआईको तालिमको अवसर उपलब्ध गराउँदै आएका छौ,’ उनले भने, ‘भने नेपालका अप्राविधिक पेशाकर्मीले देखाएको चासोबाट हामी निकै उत्साहित भएका छौं ।’
‘नेपालमा एआईमाथि सर्वसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरू बढाउँदै लानुपर्छ,’ मास्केले भने, ‘अनि मात्र हामीले नेपालमा एआई शिक्षा र पेशागत अवसरका दुवै क्षेत्रलाई समृद्ध बनाउने दिशामा सफल हुन सक्छौँ ।’
नेपालका विभिन्न शैक्षिक संस्थाको रणनीतिक साझेदारको रुपमा फ्युजमसिनले यस अघि ‘नेपालका लागि एआई शिक्षा’, ‘एआई फाउन्डेसन’, ‘माइक्रो डिग्री’ लगायतका तालिम कायक्रमहरूमा समेत पहलकदमी लिएको थियो । यो नयाँ एआई टु गो तालिम कार्यशाला र यसमा सहभागी हुने प्रकृयाका बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
सन् २०१३ मा स्थापना भएको फ्युजमसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आफ्ना अन्य सेवाहरूको माध्यमबाट उद्यम व्यवसायको क्षेत्रमा लोकप्रिय भइसकेको छ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक समीर मास्के (पीएचडी) प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको यो कम्पनीले एआईको आवश्यकता र महत्व बुझेका तर दक्ष एआई इन्जिनियरको अभावको सामना गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्दै आएको छ ।