close

भ्रममा नपर्नुहोस्, ब्राउजरको इन्कग्निटो वा प्राइभेट मोडले सबै खतरा जोगाउन सक्दैन

टेकपाना टेकपाना

बैशाख ६, २०८२ १३:३०

भ्रममा नपर्नुहोस्, ब्राउजरको इन्कग्निटो वा प्राइभेट मोडले सबै खतरा जोगाउन सक्दैन

काठमाडौँ । धेरैले सोचे जस्तो वेब ब्राउजरहरूमा हुने इन्कग्निटो मोड पूर्ण रूपमा सुरक्षित हुँदैन । यसले तपाईँको ब्राउजरको हिस्ट्री र कुकिजलाई मात्र सेभ हुनबाट रोक्छ ।

इन्कग्निटो मोडलाई लिएर प्रयोगकर्ताले बनाइरहेका धारणासँग जोडिएका कयौँ यस्ता गोपनीयता र सुरक्षा जोखिमहरू छन्, जुन तपाईँले जान्नै पर्छ । त्यसैले आज हामी तपाईँलाई इन्कग्निटो मोडले तपाईँलाई बचाउन नसक्ने ६ ओटा मुख्य खतराहरूबारे बताउँदैछौँ ।

१. तपाईँको इन्टरनेट गतिविधि आईएसपीबाट पूर्ण रूपमा गोप्य रहँदैन:

तपाईँले प्राइभेट ब्राउजिङ प्रयोग गरे पनि, तपाईँको तपाईँको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीले तपाईँले कुन वेबसाइटहरू भिजिट गर्नुभयो, कहिले गर्नुभयो र कति समयसम्म त्यहाँ बस्नुभयो भन्ने कुराको निगरानी गर्न सक्छ । किनकि तपाईँको सबै अनलाइन गतिविधि आईएसपीको सर्भर हुँदै गइरहेको हुन्छ । त्यसैले, यदि आईएसपीले चाहेमा तपाईँको ब्राउजिङ गतिविधि सजिलै थाहा पाउन सक्छन् ।

यसबाट बच्नको लागि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नु एउटा सरल र प्रभावकारी विकल्प हो । यसले तपाईँको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट गर्छ र सुरक्षित सर्भरमार्फत रुट गरेर पठाउँछ । जसले गर्दा तपाईँको आईएसपीलाई तपाईँको गतिविधि निगरानी गर्न गाह्रो हुन्छ । यद्यपि, भीपीएनका पनि आफ्नै सीमा र जोखिमहरू छन् भन्ने कुरामा पनि सचेत रहनुपर्छ ।

२. अरूले तपाईँको डाउनलोड गरिएको डेटा हेर्न सक्छन्:

जब तपाईँ प्राइभेट ब्राउजिङ सेसनबाट कुनै फाइल डाउनलोड गर्नुहुन्छ, त्यो तपाईँको मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा अन्य सामान्य डाउनलोड सरह सेभ हुन्छ । यसको मतलब इन्कग्निटो विन्डो बन्द गरेपछि पनि ती फाइलहरू कम्प्युटरमा सबैको पहुँचमा रहन सक्छन् । जबसम्म तपाईँ तिनीहरूलाई आफैँ डिलिट गर्नुहुन्न, उक्त डिभाइस प्रयोग गर्ने जो कोहीले पनि ती फाइलहरू हेर्न, खोल्न वा कपी गर्न सक्छन्, जसले तपाईँको संवेदनशील डेटा जोखिममा पार्न सक्छ ।

राम्रो कुरा के छ भने ब्राउजरले यसरी भएका डाउनलोड हिस्ट्रीमा राख्दैन । तर, यदि तपाईँ सार्वजनिक वा शेयर गरेर प्रयोग गरिने डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भने, काम सकिएपछि ती फाइलहरू आफैँले मेटाउन नभुल्नुहोस् । तपाईँले ठुलो फाइल डाउनलोड गरेर त्यस्ता डिभाइसमा राख्नुपर्ने छ भने, अनधिकृत पहुँच रोक्नको लागि त्यसलाई इन्क्रिप्ट गर्न वा पासवर्डले सुरक्षित गर्न सक्नु हुन्छ ।

३. नेटवर्क एड्मिनिस्ट्रेटरको निगरानीमा हुनसक्छ ब्राउजिङ

अफिस, विद्यालय वा सार्वजनिक वाई-फाईमा प्राइभेट ब्राउजिङ गर्दा आफ्नो गतिविधि लुकेको ठान्नुहुन्छ भने त्यो तपाईँका लागि दुर्भाग्य हुन सक्छ । नेटवर्क एड्मिनिस्ट्रेटरहरू (जसमा आईटी टिम पनि पर्छ) तपाईँले प्राइभेट मोडको ब्राउजिङ प्रयोग गरेर अनलाइनमा के गरिरहनुभएको छ भन्ने कुरा निगरानी गर्न सक्छन् ।

यसबाट बच्न भीपीएन प्रयोग गर्नु एउटा सजिलो उपाय हो । भीपीएनले तपाईँको डिभाइस र इन्टरनेटको बीचमा इन्क्रिप्टेड टनेल सिर्जना गर्छ, जसले तपाईँको गतिविधिलाई ढाकिदिन्छ । तर, त्यस्ता नेटवर्कहरूमा भीपीएन प्रायः ब्लक गरिएको हुन सक्छ । त्यस्तो अवस्थामा, तपाईँ टोर ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईँको ट्राफिकलाई गोपनीयता कायम राख्न धेरै इन्क्रिप्टेड नोडहरू मार्फत रुट गर्छ । विकल्पको रूपमा तपाईँ ब्रेभ (Brave) ब्राउजरको टोरसहितको प्राइभेट मोड प्रयोग गर्न सक्नुहुन्छ ।

४. ब्राउजर एक्सटेन्सनहरूले तपाईँको डेटा सङ्कलन गर्न सक्छन्

डिफल्ट रूपमा ब्राउजर एक्सटेन्सनहरू प्राइभेट ब्राउजिङ सेसनमा बन्द हुन्छन् । तर तपाईँले तिनीहरूलाई इनेबल गर्न सक्नुहुन्छ । यदि तपाईँले केही विशेष एक्सटेन्सनलाई प्राइभेट मोडमा चल्ने अनुमति दिनुभएको छ भने, ती एक्सटेन्सनले तपाईँले भिजिट गर्ने साइट र तपाईँका गतिविधिहरूको बारेमा डेटा सङ्कलन गर्न सक्छन् । त्यसैले, यदि तपाईँले आफ्नो गतिविधि गोप्य छ भन्ने सोची रहनु भएको छ भने पनि यस्ता एक्सटेन्सनले पृष्ठभूमिमा ट्र्याक गरिरहेका हुन सक्छन् ।

क्रोममा तपाईँले मुख्य मेनुको छेउमा रहेको एक्सटेन्सन आइकनमा क्लिक गरेर प्राइभेट मोडमा कुन एक्सटेन्सन एक्टिभ छन् भनेर हेर्न सक्नुहुन्छ । कुनै एक्सटेन्सनलाई प्राइभेट मोडमा चल्नबाट रोक्नको लागि एक्सटेन्सन पेजमा जानुहोस् । तपाईँले रोक्न चाहेको एक्सटेन्सनको लागि "Details" मा क्लिक गर्नुहोस्, र इन्कग्निटो मोडमा काम गर्न अनुमति दिने सेटिङ बन्द गर्नुहोस् । तपाईँ अन्य ब्राउजरहरूमा पनि यस किसिमको अनुमति सजिलै व्यवस्थापन गर्न सक्नुहुन्छ ।

५. इन्कग्निटो मोडले तपाईँलाई मालवेयरबाट जोगाउँदैन

धेरैले इन्कग्निटो मोड प्रयोग गर्दा आफू पूर्ण रूपमा अनलाइन खतराहरूबाट सुरक्षित भएको ठान्छन् । तर यो एउटा ठुलो भ्रम हो । इन्कग्निटो मोडले तपाईँलाई दुर्भावनापूर्ण वेबसाइटहरू, जोखिमपूर्ण डाउनलोड वा हानिकारक स्क्रिप्टहरूबाट जोगाउँदैन । यदि तपाईँ खतरनाक सामग्रीसँग ठोक्किनु भयो भने तपाईँको डिभाइस सामान्य ब्राउजिङ सेसनमा जत्तिकै कमजोर हुन्छ ।

त्यसैले प्राइभेट ब्राउजिङ गर्दा पनि सबै सुरक्षा सावधानी अपनाउनु पर्छ । यसका लागि भाइरस टोटल (VirusTotal) जस्ता टुलहरू प्रयोग गरेर शङ्कास्पद फाइल र लिङ्कहरू स्क्यान गर्न सक्नु हुन्छ । आफ्नो एन्टी-मालवेयर सेक्युरिटी इनेबल राख्नुहोस्, र ब्राउजरको बिल्ट-इन सुरक्षा र गोपनीयता सुविधा बन्द नगर्नुहोस् । नियमित ब्राउजिङमा जत्तिकै सावधानी हरबखत अपनाउनुहोस् ।

६. वेबसाइटहरूले तपाईँलाई ट्र्याक र पहिचान गर्न सक्छन्

जब तपाईँ प्राइभेट मोडमा ब्राउज गर्नुहुन्छ, वेबसाइटहरूले तपाईँको आईपी एड्रेस पत्ता लगाउन र तपाईँको विस्तृत प्रोफाइल बनाउन डिभाइस-स्पेसिफिक जानकारी सङ्कलन गर्न सक्छन् । यसको मतलब तपाईँ अझै पनि टार्गेटेड विज्ञापनहरूको शिकार बन्न सक्नुहुन्छ । यदि तपाईँले इन्कग्निटोमा हुँदा गुगल वा फेसबुक जस्ता अकाउन्टमा लग इन गर्नुभयो भने, तपाईँको गतिविधि अझै पनि तपाईँको अकाउन्ट वा प्रोफाइलसँग जोडिन सक्छ ।

यस प्रकारको ट्र्याकिङलाई पूर्ण रूपमा हटाउन गाह्रो भए पनि ब्रेभ जस्ता गोपनीयतामा केन्द्रित ब्राउजरहरू प्रयोग गरेर कम गर्न भने सकिन्छ । साथै, प्राइभेट ब्राउज गर्दा आफ्ना महत्त्वपूर्ण अकाउन्टहरूमा लग इन नगर्नुहोस् । उदाहरणका लागि, यदि तपाईँ एउटा युट्युब भिडियो हेर्न वा फेसबुक वा इन्स्टाग्राम प्रोफाइल हेर्न चाहनुहुन्छ भने, साइन इन नगरी त्यसो गर्दा तपाईँको मुख्य खातामा कुनै असर पर्दैन ।

त्यसैले इन्कग्निटो मोडले तपाईँलाई थुप्रै किसिमका खतराहरूबाट जोगाउन सक्दैन भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । आफ्नो डेटा, गोपनीयता र सुरक्षाको रक्षा गर्न माथि सुझाइएका उपायहरू अपनाउनु होस् । यस किसिमको सावधानीले सबै जोखिमहरूलाई पूर्ण रूपमा हटाउन नसके पनि कम गर्न भने धेरै नै मद्दत पुग्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १३:३०