close

वर्ल्ड रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

असार १८, २०७८ १९:१५

वर्ल्ड रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्ती खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । याे सुविधाअन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले रू. २०० बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रबाट नेपालमा रहेका व्यक्तिको खल्ती खातामा चाहेजति रकम पठाउनसक्ने कम्पनीले जनाएको छ ।

प्राप्त गर्ने व्यक्तिले खल्ती आईडी बनाई अकाउन्ट भेरिफाई गराएको हुनुपर्नेछ । खल्तीमा पैसा पठाएपछि केही नगरी पैसा र बोनस स्वतः दुवै खल्तीमा लोड हुनेछ ।

उक्त सम्झौताबारे खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभराज पाण्डे भन्छन्, ‘हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकको आवश्यकता पूर्ति गर्न प्रतिबद्ध छौं । हामीलाई विश्वास छ, वर्ल्ड रेमिटसँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाध रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ ।’

वर्ल्ड रेमिटका दक्षिण एसियाका लागि कन्ट्री डाइरेक्टर रुजान अहमदले खल्तीसँगको यस सम्झौताले ग्राहकलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए । 

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा पठाउन भने वर्ल्ड रेमिटमा एप लगइन गरी ‘सेन्ड मनि’ मा ट्याप गर्ने, गन्तव्यमा ‘नेपाल’ रोजी पठाउन चाहेको कूल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनि ट्रान्सफरभित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पूर्ण विवरण भरी पठाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३