close

सम्झौता भङ्गपछि फेरि लडाईं सुरू गर्दै माइक्रोसफ्ट र गुगल

टेकपाना टेकपाना

असार १९, २०७८ १५:५

सम्झौता भङ्गपछि फेरि लडाईं सुरू गर्दै माइक्रोसफ्ट र गुगल

काठमाडौं । सन् २०१५ मा माइक्रोसफ्ट र गुगलबीच भएको सम्झौता भंग भएको छ । वेब सर्च, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतमा प्रतिस्पर्धा गरिरहेका यी कम्पनीले एकअर्कालाई मुद्दा नहाल्ने सम्झौता गरेका थिए ।

२०१५ मा सम्झौतमा हस्ताक्षर हुँदा माइक्रोसफ्ट र गुगलबीच विभिन्न अदालतमा करिब २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । सम्झौतासँगै ती मुद्दा खारेज भए र आर्थिक लेनदेनलगायतका विषयमा सहमति गरी विवादको टुंगो लगाइएको थियो ।

अर्कोतर्फ सम्झौतापछि यी कम्पनीले एकअर्काको विरलै आलोचना गरेका थिए । यतिसम्म कि अमेरिकी सरकारले गुगलविरुद्ध एन्टी-ट्रस्टको मुद्दा चलाउँदासमेत माइक्रोसफ्ट केही बोलेको थिएन ।

तर यो सम्झौता नवीकरण नगर्ने निर्णय लिएसँगै यी कम्पनी फेरि लडाईंमा उत्रने तयारी गरेका छन् । २०२१ काे सुरूदेखि नै गुगलले माइक्राेसफ्टलाई समझदारी उल्लंघन गरेकाे भन्दै आपत्ति जनाएको थियाे । गुगलले अष्ट्रेलियाका मिडियालाई रकम तिर्नुपर्ने नियमलाई माइक्रोसफ्टले समर्थन गरेपछि गुगल थप चिढिएकाे थियो ।

६ वर्षअघि भएकाे सम्झौतापछि यी कम्पनीहरु माइक्रोसफ्टमा एन्ड्रोइड एप प्रयोग गर्न सकिने बाटो खोजिरहेका थिए । तर, त्यसमा ठाेस निर्णय भएन । अन्त्यमा माइक्रोसफ्टले अमेजनसँग उक्त सहकार्य अघि बढायो । अमेजनसँगको सहकार्यमा माइक्रोसफ्ट अघि बढेसँगै अब गुगल र माइक्राेसफ्टले फेरि लडाईंमा उत्रिने तयारी गरेकाे विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३