काठमाडौँ । गुगलले ‘गुगल आई/ओ२०२५’ कन्फ्रेन्सको पूर्वसन्ध्यामा आफ्नो ‘नोटबुक एलएम’ एप एन्ड्रोइड र आईओएसका लागि सार्वजनिक गरेको छ । सन् २०२३ मा सुरू गरिएको यस फिचरमार्फत प्रयोगकर्ताले आफ्ना नोटहरू अपलोड गरी जेमिनाई एआईको सहायतामा स्वचालित रूपमा सारांश तयार गर्न, कागजात तथा सामग्रीबारे प्रश्न सोध्न र ती सामग्रीलाई एआईद्वारा तयार गरिएको पडकास्टमा रूपान्तरण गर्न सक्ने सुविधा पाउँछन् ।
एप एप्पल एपस्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध भइसकेको छ । एपको होमपेजमा प्रयोगकर्ताले हालसालै प्रयोग गरेका र अरूसँग सेयर गरिएका नोटबुकहरू हेर्न सक्नेछन् । साथै नयाँ नोटबुक पनि क्रियट गर्न सकिनेछ । नयाँ नोटबुक बनाउन एपको तल्लो भागमा रहेको ‘Create New’ बटन थिचेर आफूले चाहेको सोर्स (स्रोत) अपलोड गर्न सकिन्छ । स्रोतमा पीडीएफ, वेबसाइट, टेक्स्ट वा युट्युब भिडिओ समेत राख्न सकिन्छ ।
यसबाहेक, प्रयोगकर्ताले अन्य सामग्री ‘share’ गर्न चाहँदा त्यसलाई सिधै ‘नोटबुक एलएम’ मा थप्न सक्ने सुविधा पनि छ । एपमा ‘Audio Overviews’ फिचर पनि उपलब्ध छ, जुन नोटबुक एलएमको सबैभन्दा धेरै प्रयोग हुने सुविधामध्ये एक हो ।
एपको तलपट्टि रहेको ‘Chat’ बटन थिचेर प्रयोगकर्ताले कुनै पनि नोटबुकसँग संवाद गर्न सक्नेछन् । एआई सिर्जित पडकास्ट सुन्न ‘Studio’ सेसनमा गएर ‘Generate’ बटन थिच्नुपर्नेछ । गुगलका अनुसार प्रयोगकर्ताले यी पडकास्टहरू डाउनलोड गरेर अफलाइनमै पनि सुन्न सक्नेछन् ।
नयाँ एपमा ‘Interactive’ मोड पनि उपलब्ध छ । यसबाट प्रयोगकर्ताले एआई पडकास्टमा सहभागी भई त्यसमा छलफल गरिरहेका विषयमा प्रश्न सोध्न सक्नेछन् । एपमा लाइट र डार्क मोड सुविधा छ । तर यो सिस्टम सेटिङ अनुसार स्वतः परिवर्तन हुन्छ । प्रयोगकर्ताले आफैंले मोड परिवर्तन गर्न सक्दैनन् । यद्यपि, एपको इन्टरफेस मोबाइल वेबसाइटसँग मिल्दोजुल्दो भएपनि वेब संस्करणको तुलनामा केही एडभान्स्ड फिचरहरूको अभाव छन् ।