काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यममा यतिबेला एउटा भिडिओले चर्चा पाइरहेको छ । जसमा बन्जी जम्प तथा स्विङ गर्ने प्लेटफर्म नै भत्किएर मानिसहरू दुर्घटनामा परेको देखाइएको छ । इन्स्टाग्राम रिल्स, युट्युब शर्ट्स, टिकटक, फेसबुक लगायतका माध्यममा यो भिडिओ शेयर भइरहेको छ ।
विशेषगरी भारतीय मिडिया र सामाजिक सञ्जालमा यसले ठुलो चर्चा पाएको छ । नेपालमा पनि केही सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताले यो भिडिओ शेयर गरिरहेका छन् । भिडिओमा ‘The Cliff’ लेखिएको देखेर पर्वतको कुश्मास्थित ‘द क्लिफ रिसोर्ट’ मा घटना भएको आशंकामा उनीहरूले यो भिडिओ भाइरल बनाएका छन् ।
भिडिओमा दुई व्यक्तिहरू बन्जी जम्प गर्ने प्लेटफर्ममा उभिएको देखिन्छ । उनीहरू बन्जी जम्प गर्नै लाग्दा क्लिफको प्लेटफर्म अचानक भत्किएर उनीहरूसँगै एक क्रु मेम्बर (कर्मचारी) समेत तल खसेको दृश्य देखिन्छ । भिडिओ अत्यन्तै डर त्रास फैलाउने शैलीमा प्रस्तुत गरिएको छ । तर, टेकपाना फ्याक्टचेकको अनुसन्धानमा उक्त भिडिओ वास्तविक दुर्घटना नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर तयार पारिएको र सामाजिक सञ्जाल तथा मिडियामा भ्रामक रूपमा प्रस्तुत गरिएको पुष्टि भएको छ ।
दाबी
इन्स्टाग्राममा योगेश शर्मा (युजर आईडी yogesh.sharma.7374) नामका प्रयोगकर्ताले मे २०, २०२५ मा ‘Bungee jumping broke down in Rishikesh’ (ऋषिकेशमा बन्जी जम्प भत्कियो) भन्दै यो भिडिओ शेयर गरेका छन् । उनले यो भिडिओ भारतको ऋषिकेशमा भएको दुर्घटना भनेर दाबी गरेका छन् । हेर्नुहोस् ओरिजिनल लिक र आर्काइभ लिक
इन्स्टाग्राममा @travelfails युजर आईडीको अकाउन्टमा यही भिडिओ पोस्ट गर्दै अंग्रेजीमा क्याप्सन लेखिएको छ । जसको आशय यस्तो हुन्छ: “भारतमा भएको बन्जी जम्प दुर्घटनाले इन्जिनियरिङ मापदण्ड बिना गरिने साहसिक खेलकुद कति खतरनाक हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ । इन्जिनियरिङ प्रशिक्षणको स्तर कमजोर रहेका देशहरूमा यस्ता साहसिक आकर्षणहरूमा सहभागिता गर्दा जोखिमको सम्भावना झनै बढ्छ । मनोरञ्जन छनोट गर्दा यस्तो पक्षलाई पनि ध्यानमा राख्नु अत्यन्त जरुरी छ ।” यो पोस्टले पनि यसलाई वास्तविक दुर्घटनाका रूपमा प्रस्तुत गरेको छ ।
इन्स्टाग्राम प्रयोगकर्ता योगेश शर्मा र ट्राभल फेल्सले अपलोड गरेको भिडिओलाई पछ्याउँदा इन्स्टाग्राममा उही ओरिजिनल साउन्ड प्रयोग गरी हालसम्म ३० भन्दा बढी रिल्स शेयर भएको पाइयो । अधिकांश भिडिओमा फरक-फरक ठाउँमा बन्जी दुर्घटना भएको दाबी गरिएको देखिन्छ ।
केही समाचार माध्यमले यस घटनालाई भारतस्थित ऋषिकेशकै भन्दै प्रकाशित गरेका छन् । भारतको चर्चित मिडिया जी न्युज (ZEE NEWS) ले हिन्दीमा लेखेको समाचारको आशय यस्तो छ- “सोसल मिडियामा एक डर लाग्दो भिडिओ तीव्र रूपमा भाइरल भइरहेको छ, जहाँ बन्जी जम्पिङ गर्ने क्रममा अचानक प्लेटफर्म भाँचिँदा एक जोडी र त्यहाँ कार्यरत एक कर्मचारी समेत तल खसेका देखिन्छन् । यो घटना ऋषिकेशको भएको बताइएको छ । यो भयानक दृश्य हेरेर धेरैको रौं जुरुक्क उठेको छ । तपाईं पनि हेर्नुहोस् यो भिडिओ........” । हेर्नुहोस् जी न्युजको लेखेको समाचार- ओरिजिनल लिंक र आर्काइभ लिंक
भिडिओमा ‘The Cliff’ को लोगो देखिएकाले नेपालका केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई पर्वतस्थित ‘द क्लिफ’ मा भएको दुर्घटना हुनसक्ने आशङ्काले विभिन्न माध्यममा शेयर तथा कमेन्ट गरिरहेका छन् ।
अनुसन्धान
भाइरल भिडिओलाई ध्यानपूर्वक हेर्दा ‘द क्लिफ’ नेपालमा सञ्चालित क्यानोन स्विङ (Canyon Swing) को प्लेटफर्मसँग मिल्छ कि भनेर जाँच गरियो । वास्तविक क्यानोन स्विङमा व्यक्तिलाई तल झार्नका लागि प्लेटफर्म त्यसरी नै अगाडि ढल्किने (टिप ओभर) गरी डिजाइन गरिएको हुन्छ । तर त्यो संरचना भत्किने गरी तल झारिँदैन । भिडिओमा मानिसहरू खस्ने तरिका, प्लेटफर्मको गति र केही फ्रेमहरूमा देखिने विवरणहरू (जस्तै, मानिसहरूको आकृतिमा आउने अस्पष्टता, पृष्ठभूमिमा देखिने केही वस्तुको कृत्रिमता) अलि अस्वाभाविक र एआई-निर्मित जस्ता देखिन्छन् । केही फ्रेमहरूमा प्रकाश र छायाँको संयोजन पनि प्राकृतिक देखिँदैन, जुन एआई-निर्मित भिडिओहरूमा देखिने सामान्य कमजोरी हो ।
यस भिडिओको तथ्यजाँचका लागि सबैभन्दा पहिला त भिडिओको विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स इमेजमा गएर हेर्यौँ । यस क्रममा भाइरल भिडिओ सम्बन्धी दर्जनौं रिजल्ट देखापरे ।
यसमध्ये सबैभन्दा पुरानो पोस्ट @quakeskyfall नामको अकाउन्टबाट युट्युब शर्ट्समा मे ३, २०२५ मा 'Bungee Jump Turns Into CHAOS as Platform Crashes' शीर्षकमा ७ सेकेन्डको भिडिओ अपलोड भएको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा एक लाख ४३ हजार लाइक, चार करोड २० लाख बढी भ्युज र एक हजार ४६३ कमेन्टहरू आएका छन् ।
भिडिओको क्याप्सनमा पर्वतको 'द क्लिफ' नाम नतोकिए पनि पृष्ठभूमिमा 'THE CLIFF' को लोगो प्रष्ट देखिन्छ भने अन्य दृश्यहरूले पनि यो पर्वतकै 'द क्लिफ' भएको अड्कल गर्न सकिन्छ । भिडिओमा बन्जी जम्पको तयारी गरिरहेका दुई जना यात्रु र एक जना क्रु मेम्बरसहित प्लेटफर्म तल खसेर दुर्घटना भएको जस्तो देखाइएको छ ।
टेकपाना फ्याक्टचेक अनुसन्धानले यस भाइरल भिडिओको मूल स्रोत युट्युब च्यानल @quakeskyfall नै भएको पत्ता लगायो । उक्त च्यानलले भिडिओ अपलोड गर्दा डिस्क्रिप्सनमा स्पष्ट रूपमा “This is AI edited by me and created by me, no harm was done to no one, everyone is safe.” (अर्थात्: यो मैले एआईद्वारा सम्पादन र सिर्जना गरेको हुँ, कसैलाई कुनै हानि भएको छैन, सबैजना सुरक्षित छन्) भनी डिस्क्लेमर राखेको पाइयो । उक्त च्यानलले यस्तै प्रकृतिका अन्य एआई-निर्मित दुर्घटनाका भिडिओहरू पनि सोही डिस्क्लेमरसहित राख्ने गरेको छ । यसकारण यो भिडिओ एआई-निर्मित भएको सबैभन्दा बलियो प्रमाण हो ।
यो भिडिओ वास्तविक नभई सम्पादित वा एआई-निर्मित हो भनेर युट्युबर स्वयंले प्रष्ट पारेका छन् । यसमा प्रमाणित हुने थप केही आधारहरू पनि छन् । पहिलो त, बन्जी जम्पजस्तो उच्च जोखिमयुक्त गतिविधिमा क्रु मेम्बरले अनिवार्य रूपमा हार्नेस (बेल्ट), सेफ्टी रोप, क्यारबिनर लगायतका सुरक्षा उपकरण प्रयोग गर्छन् । तर भिडिओमा यस्तो कुनै सुरक्षा उपकरण प्रयोग गरिएको देखिँदैन, जसले यसको विश्वसनीयतामाथि शंका उठाउँछ ।
दोस्रो, भिडिओलाई जुम गर्दा ती व्यक्तिहरूको औंला अस्वाभाविक देखिन्छ । र, प्लेटफर्म खस्ने क्रममा मानिसको शरीरका अंगहरू विशेषगरी हात अस्पष्ट भएर फरक स्वरूपमा देखा पर्ने दृश्य देखिन्छ । प्रायः एआईले बनाएको वा सम्पादित भिडिओमा यस्तो विशेषता देखिन्छ । यी दृश्यहरू वास्तविकताभन्दा कृत्रिमता झल्काउने भएकाले यो भिडिओमा देखाइएको घटना त्यसैपनि पत्यारलाग्दो देखिँदैन ।
त्यसैगरी, ‘द क्लिफ नेपाल’ को आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमा यस्तो कुनै दुर्घटनाबारे हालसम्म कुनै जानकारी दिइएको छैन । यदि साँच्चिकै यस्तो घटना भएको भए सञ्चारमाध्यममा मुख्य समाचार बन्नुपर्ने थियो । तर हालसम्म नेपालका कुनै पनि समाचार मिडियाले यस्तो विषयमा कुनै सामग्री प्रकाशित/प्रसारित गरेका छैनन् ।
‘द क्लिफ’ रिसोर्टका सञ्चालक राजु कार्कीले हालसम्म यस्तो दुर्घटना नभएको पुष्टि गरेका छन् । २०१९ अक्टोबरदेखि सञ्चालनमा आएको उक्त सेवामा अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति नभएको उनले उल्लेख गरे । सामाजिक सञ्जालमा यसबारे व्यापक रूपमा चर्चा चलिरहेकाले भ्रामक सामग्रीबाट सचेत रहन उनले सबैलाई आग्रह समेत गरेका छन् ।
भाइरल भइरहेको यस भिडिओ एआई निर्मित हो भनेर भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले समेत फ्याक्टचेक गरेको छ । हेर्नुहोस् इन्डिया टुडेको समाचार ।
दाबी
पर्वतको द क्लिफमा बन्जी जम्पको प्लेटफर्म खसेर भयानक दुर्घटना भयो ।
दाबीकर्ता
सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारमाध्यम (yogesh.sharma.7374, travelfails, जी न्युज लगायत) ।
तथ्य
भाइरल भिडिओ पर्वतको ‘द क्लिफ’ को भएपनि त्यहाँ कुनै दुर्घटनाको भएको छैन । यो भिडिओ एआई प्रविधि प्रयोग गरेर बनाइएको हो । जसको पुष्टि भिडिओ अपलोड गर्ने च्यानल @quakeskyfall ले नै डिस्क्लेमरमार्फत गरेको छ । द क्लिफ नेपालका प्रतिनिधिले पनि हालसम्म त्यस्तो कुनै दुर्घटना नभएको पुष्टि गरेका छन् ।
निष्कर्ष
सामाजिक सञ्जालमा बन्जी जम्पको प्लेटफर्म खसेर दुर्घटना भएको भन्दै भाइरल बनाइएको भिडिओ पूर्ण रूपमा भ्रामक हो । टेकपाना फ्याक्टचेकले यो भिडिओलाई वास्तविक दुर्घटना नभई एआईद्वारा तयार पारिएको पुष्टि गरेको छ । उक्त भिडिओमा भ्रामक शीर्षक र सन्दर्भ प्रयोग गरी सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत त्रास फैलाउने र गलत सूचना प्रवाह गर्ने कार्य भइरहेको छ । भिडिओ तयार पार्ने पक्षले समेत यसलाई एआई-निर्मित भएको स्वीकारेको छ । यद्यपि, अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सत्यतथ्य नबुझी निरन्तर शेयर गरिरहँदा मिथ्या सूचना फैलिएको छ ।