काठमाडौं । अमेरिकाका करिब २०० कम्पनीमाथि भिषण साइबर आक्रमण भएको छ । फ्लोरिडामा रहेको कजेया नामक आईटी कम्पनीमाथि लक्षित गर्दै ह्याकरले उक्त कम्पनीको सफ्टवेयर प्रयोग गर्ने कर्पोरेट नेटवर्कमार्फत आक्रमण गरेको हो ।
कजेयाले आफ्नो वेबसाइटमा राखेको वक्तव्यअनुसार उसले सम्भावित आक्रमणको अनुसन्धान गरिरहेको छ । हण्ट्रेसको भनाइअनुसार रुससँग सम्बद्ध रेभिल (REvil) रेन्समवयर समूह यो प्रकरणमा जिम्मेवार मानिएको छ ।
यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीले आफ्नो वक्तव्यमा यो आक्रमणलाई सम्बोधन गर्न आवश्यक कदम लिने क्रममा रहेको बताएको छ । साइबर चोरी शुक्रबार यस्तो समयमा भयो, जब कम्पनीहरू स्वतन्त्रता दिवसको छुट्टी मनाउन बन्द हुने क्रममा रहेका थिए ।
कजेयाले आफ्नो कर्पोरेट नेटवर्क सर्भर सञ्चालन गर्ने एउटा एप्लिकेसन, डक्सटप कम्प्युटर र नेटवर्क डिभाइस कम्प्रमाइज भएको हुनसक्ने बताएको छ । कम्पनीको भिसा टुल प्रयोग गरिरहेका ग्राहकलाई तत्काल आफ्नो सर्भर डाउन गर्न भनिएको छ ।
कजेयाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सानो संख्याका’ कम्पनीहरु यसबाट प्रभावित भएका छन् । यद्यपि हन्ट्रेस ल्याबले भने आक्रमणबाट प्रभावित हुने कम्पनीको संख्या करिब २०० पुगिसकेको र थप गणना हुने क्रममा रहेको बताएको छ ।
तर कस्ता कम्पनीहरू यसबाट समस्यामा परेका छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन । कजेयाको वेबसाइटमा उल्लेख भएअनुसार विभिन्न दश ओटा मुलुकमा कम्पनीको उपस्थिति रहेको छ र ग्राहक संख्या १० हजारभन्दा बढी छ ।
‘यो भिषण र आपूर्ति श्रृङ्खला माथिको भयानक किसिमको आक्रमण हो,’ हन्ट्रेस ल्याबका बरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जोन हम्मोन्डले रोयटर्सलाई लेखेको इमेलमा भनेका छन् ।
गत महिना जेनेभामा भएको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस किसिमका साइबर आक्रमणमा लगाम लगाउन भनेका थिए । बाइडेनले भनेअनुसार उनले पुटिनलाई ऊर्जादेखि खानेपानीसम्मका १६ प्रकारका संवेदनशील पूर्वाधार क्षेत्रको सूची दिएका उपलब्ध गराएका थिए, जुन साइबर आक्रमणको विषय नभएको उनको जिकिर रहेको थियो ।
रेभिल ह्याकर समूह, जुन सोदिनोकिबी (Sodinokibi) को नामबाट समेत जानिन्छ, छिटो उदाउँदै गरेको र विश्वकै सबैभन्दा नाफा आर्जन गर्ने साइबर अपराधीको समूह मानिन्छ । गत मे महिनामा विश्वकै सबैभन्दा ठूलो मासु आपूर्ति गर्ने कम्पनी जेबीएसमा भएको आक्रमणमा समेत यही समूहलाई जिम्मेवार ठानिएको छ ।
यो समूहले पीडित पक्षले उसको माग पुरा गर्न नसकेको अवस्थामा आफ्नो वेबसाइटमा चोरीबाट प्राप्त कागजातसहितका चेतावनीपूर्ण पोस्टहरु समेत राख्ने गरेको छ । जसलाई ‘ह्याप्पी ब्लग’ को नामले समेत चिनिन्छ । अमेरिकाकै टेक्सासका करिब दुई दर्जन स्थानीय सरकारमाथि सन् २०१९ मा भएको ‘को-अर्डिनेटेड’ आक्रमणमा समेत यो समूहको संलग्नता रहेको थियो ।